(मङ्गलबारबाट सुरु भएको भक्तपुर नगरपालिकाको दसौँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०७८/७९ को नीति तथा कार्यक्रमको पूर्ण पाठ प्रस्तुत छ–सम्पादक)
नगर सभासद्हरू,
कोरोना भाइरसको कारण आज सारा विश्व आक्रान्त छ । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएपछि सरकारले पहिलोपटक २०७६ चैत ११ गतेबाट लकडाउन ग¥यो । देशभरिका उद्योग, व्यवसाय बन्द हुनुका साथै आर्थिक क्रियाकलापहरू बन्द भयो । त्यतिबेला ‘भक्तपुर महोत्सव’ गर्ने अन्तिम तयारीमा थियौँ । नेपाल भ्रमण वर्षसँगै ‘भक्तपुर महोत्सव’ पनि स्थगित ग¥यौँ ।
पूर्वतयारी भएन भने महामारीमा जनतालाई धेरै दुःख हुने शिक्षा पहिलो चरणको कोभिडले हामीलाई दियो । दोस्रो लहरको कोभिडको चर्चासँगै त्यसको नियन्त्रण र रोकथाम गर्न जनचेतनामूलक गतिविधिसँगै भनपा वडा नं. ९ ब्रह्मायणीमा २५ शय्याको एचडीयू र ५० साधारण शय्याको आइसोलेसन (एक्लाएक्लै बस्ने) गरी ७५ शय्या क्षमताको ख्वप अस्पताल कोभिड युनिट तयारी अवस्थामा राख्यौं । २०७८ साल वैशाख १७ गतेबाट उक्त युनिट सञ्चालन ग¥यौँ । आवश्यक चिकित्सक, स्वास्थ्यकर्मीहरू, र कर्मचारीहरूको व्यवस्था गरी सङ्क्रमितहरूको सेवा गर्दै आएका छौँ । ख्वप अस्पताल कोभिड युनिटमा असार ५ गतेसम्म २१८ जना सङ्क्रमितहरूले स्वास्थ्य उपचार सेवा पाइसकेका छन् । तीमध्ये भक्तपुर नपाका १८२ जना, मध्यपुरका २ जना, चाँगुनारायण नपाका ६ जना र सूर्यविनायक नपाका १५ जना रहेका छन् । काठमाडौँ, ललितपुर, धादिङ, काभ्रे, खोटाङ, रामेछाप, पर्वत, कालीकोटलगायत जिल्लाका १३ जना सङ्क्रमितहरूले सेवा पाइसकेका छन् । हाल कोभिड युनिटमा २३ जना सङ्क्रमितहरूले सेवा लिइरहेका छन् ।
हालसम्म भक्तपुर नगरपालिकामा कूल ३,८३२ जना सङ्क्रमित र ६८ जनाले ज्यान गुमाइसकेका छन् । झन्डै १ लाख जनसङ्ख्या भएको यस नगरपालिकामा कोरोनाविरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा २,२४७ जना र दोस्रो मात्रा २,५२१ जनाले प्राप्त गरिसकेका छन् । त्यस्तै अर्को खोप भेरोसेलको पहिलो मात्रा २५,२८२ जना र दोस्रो मात्रा १६,९४७ जनाले प्राप्त गरिसकेका छन् ।
यस वर्ष भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा सबभन्दा बढी जनरल ओपीडीमा ५४,९१२ जना, इमर्जेन्सी सेवामा १०,३८९ जना, दाँतका बिरामी ९,७८७ जना र अन्य विभिन्न सेवामा गरी २०७७ साउन १ गतेदेखि २०७८ जेठ मसान्तसम्ममा कुल १ लाख १ हजार ४ सय ४७ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित सामुदायिक आँखा केन्द्रबाट आ.व. २०७७/७८ को बितेको ११ महिनामा १५,३६८ जना आँखाका रोगीहरूको परीक्षण भएको छ । उक्त केन्द्रमा आँखाको जाँच, चस्मा जाँच, मोतिबिन्दुको शल्यक्रिया, आँखाको सामान्य शल्यक्रिया, जलबिन्दुलगायतको जाँच हुन्छ । उक्त केन्द्र नगर प्रमुखको अध्यक्षतामा गठित व्यवस्थापन समितिको निर्देशनमा सञ्चालित छ ।
२०७७ माघ २४ गतेदेखि २०७८ जेठ मसान्तसम्म नागरिक आरोग्य सेवा केन्द्रबाट ३१२ जना बिरामीहरूले सेवा प्राप्त गरिसकेका छन् । तीमध्ये अधिकांश ग्यास्ट्रिक, बाथ रोग, स्त्री रोग, रक्तचाप आदि रोगका बिरामीहरू रहेका छन् ।
भक्तपुर नपा वडा नं. ९ मा सञ्चालित श्वास प्रश्वास पुनःस्थापना केन्द्रले १२६ जना दम खोकीका बिरामीहरूलाई सेवा प्रदान गरिसकेको छ । कोरोना भाइरसको महामारीको कारण हाल उक्त सेवा बन्द गरिएकोमा स्थिति सहज भएपछि पुनः सञ्चालनमा ल्याइनेछ । चालु श्वास प्रश्वास केन्द्रलाई सेन्टर फर एक्सीलेन्सीको रूपमा स्तरोन्नति गरिनेछ ।
कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न अक्सिजन पहिलो र अनिवार्य आवश्यकता हो । औषधि नभए बिरामीहरू केही दिन बाँच्न सक्छन् तर अक्सिजनविना एक क्षण पनि बाँच्न सक्दैनन् । अक्सिजनको यही महत्वलाई बुझेर भक्तपुर नगरपालिका अक्सिजन प्लान्ट राख्ने तयारीमा जुट्यो । जनस्वास्थ्य केन्द्र च्याम्हासिंहलाई बीमाबापत दिनुपर्ने साढे पाँच करोडभन्दा बढी रकम सरकारले दिएको थिएन । स्रोतको अभावको कारण अक्सिजन प्लान्ट नगरपालिकाले राख्न सक्ने अवस्था थिएन । सरकारसित पटक–पटक रकम माग गर्दा पनि प्राप्त नभएपछि साथीहरूबीच सल्लाह गरी जनतासँग सहयोगको लागि आग्रह गर्ने निष्कर्षमा पुग्यौँ । हामीले जनताकै विश्वासमा काम गरिरहेको हुँदा जनताले त्यस काममा सहयोग गर्नेमा हामी आशावादी थियौँ । गत आ.व. २०७६/७७ मा पनि हामीले आइसोलेसन सञ्चालन गर्न जनतासँग सहयोग माग गरेका थियौँ । त्यस आ.व.मा ६० लाख ७३ हजार रूपैयाँ सहयोग प्राप्त भएको थियो ।
अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरणहरू खरिद गर्न सहयोगको लागि आग्रह गरिएकोमा असार ५ गतेसम्ममा विभिन्न सङ्घ–संस्था र व्यक्तिगतरूपमा जम्मा ६ करोड ४ लाख ६५ हजार २ सय ७४ रूपैयाँ प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको जानकारी गराउन चाहन्छौँ । जनताको रकमबाटै छोटो प्रक्रिया अपनाई चिनियाँ कम्पनीबाट अक्सिजन प्लान्ट खरिद गरी ख्वप अस्पतालमा जडान गरी नेमकिपाका अध्यक्षज्यूबाट असार १ गते उद्घाटन भई नियमित अक्सिजन उत्पादन भइरहेको छ । उक्त अक्सिजन प्लान्ट जनताको र्आिर्थक सहयोगमा निर्माण भएको हुँदा विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीहरूको लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गर्ने घोषणा गर्दछौँ । अन्यको हकमा कार्यविधिअनुसार सामान्य शुल्क लिई वितरणको व्यवस्था मिलाएका छौँ ।
नगर सभासद्ज्यूहरू,
- हामी भक्तपुर नगरपालिकालाई सांस्कृतिक नगर, ज्ञान विज्ञानको केन्द्र र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने सोचका साथ अगाडि बढ्दै छौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई मार्गनिर्देशनको रूपमा लिएर काम गर्दै छौँ । समय–समयमा अध्यक्ष बिजुक्छेबाट भक्तपुर र भक्तपुरका जनताको उन्नत्ति र विकासको लागि आवश्यक सल्लाह र सुझावहरू प्राप्त भइरहेका छन् ।
- भक्तपुर नगरपालिकामा लामो समयदेखि नेमकिपाका जनप्रतिनिधिहरूले काम गर्दै आउनुभएको छ । ‘राजनीति भनेको देश र जनताको इमानदारीपूर्वक सेवा हो’ भन्ने भावनाबाट दीक्षित नेमकिपाका जनप्रतिनिधिहरूकै कारण भक्तपुर आजको स्थितिमा आइपुगेको हो । नेमकिपाप्रति जनताको आस्था र विश्वास छ, साथ र समर्थन छ भन्ने कुराको ज्वलन्त उदाहरण स्वास्थ्य सामग्री खरिदको लागि नगरपालिकाको आग्रहमा नगरवासीहरूबाट प्राप्त आर्थिक सहयोगले पनि देखाएको छ ।
- विदेशीको अनुदान वा ऋण सहयोगले विकास र समृद्धि हुन्छ भन्ने कुरामा हामी विश्वास गर्दैनौँ । हामी जनताको विश्वासमा, जनताकै सहयोग लिएर जनताकै निम्ति काम गर्छौं । यो नै नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूको विशेषता हो । नेमकिपाका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतलाई प्राथमिकता दिँदै भक्तपुरलाई एक नमुना नगरपालिकाको रूपमा विकास गर्दै छौँ । महामारीको बेला जनताले देखाएको ऐक्यबद्धता, साथ र सहयोग जनप्रतिनिधिहरूको कामको जनताद्वारा अनुमोदनको रूपमा पनि हामीले लिएका छौँ । जनताको विश्वासलाई हामीले खेर जान दिने छैनौँ । थप जिम्मेवार भएर जनताको सेवामा समर्पित भएर लाग्न हामीलाई हौसला मिलेको छ ।
नगर सभासद्ज्यूहरू,
देशमा स्थानीय तहको निर्वाचन भएको ४ वर्ष तथा प्रदेश र सङ्घको निर्वाचन भएको साढे तीन वर्ष बितिसक्दा पनि सङ्घ र केन्द्र सरकारमा बस्नेहरूमा एकात्मक सरकारको सोच हटेको छैन । केन्द्र सरकारको नेतृत्वमा बस्ने पदाधिकारीहरू स्थानीय तहलाई संविधान र कानुनले प्रदान गरेका अधिकारहरूसमेत विभिन्न नाउँमा कुण्ठित गर्ने प्रयास गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू हुनुअघि केन्द्रको मातहतमा सञ्चालित सबै जिल्लास्तरीय कार्यालयहरू स्थानीय तहको मातहतमा आउनुपर्नेमा सङ्घीय सरकारले छुट्टै एकाइ बनाएर पुरानो संरचनालाई जीवन्त बनाउन खोजेको मात्र होइन, झ्न–झन् बलियो बनाउँदै लगेको छ ।
संविधानले मावि तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिएको भए पनि कक्षा ९ देखि माथि सङ्घ सरकारले हेर्दै आएको छ । शिक्षकलाई तलब खुवाउने स्थानीय तहले तर शिक्षकमाथिको नियन्त्रण सङ्घ सरकारले गर्नु संविधान, कानुन र व्यवहारिक कुनै पनि दृष्टिले उपयुक्त होइन ।
योजना छनोट र कार्यान्वयनमा समेत स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएको छ । सशर्त बजेटको नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा समेत केन्द्र र प्रदेश सरकारले अङ्कुश लगाउँदै छन् । चाकडीको भरमा विकास योजना छनोट गर्ने परम्पराले निरन्तरता पाएको छ । सङ्घीयताको मर्मअनुसार देशलाई अगाडि बढाउने हो भने स्थानीय तहलाई देशको कुल बजेटको ५० प्रतिशतभन्दा बढी रकम विनियोजन गर्नुपर्छ र सशर्त बजेटको आकार घटाउँदै वित्तीय समानीकरण निःशर्त अनुदान शीर्षकमा बजेट बढाउँदै लानु आवश्यक छ । स्थानीय आवश्यकता र प्राथमिकता सिंहदरबारमा बस्नेहरूलाई थाहा हुँदैन । आजसम्मको देशको स्थितिले यही कुरा स्पष्ट पारेको छ । स्थानीय तहले कर्मचारी राख्ने अधिकार केन्द्र र प्रदेशबाट खोसिएको छ । प्रमुख प्रशासकीय अधिकृत सङ्घले नियुक्त गर्ने, अन्य सबै कर्मचारीहरूको नियुक्ति र सरुवा बढुवा प्रदेश लोकसेवाले गर्ने र ती कर्मचारीहरूमार्फत स्थानीय तहले काम गर्नुपर्ने व्यवस्थाले कसरी सुशासन कायम हुन्छ ? स्थानीय तहले कर्मचारी राख्न नपाउने वर्तमान कानुनी व्यवस्था अर्थहीन, अव्यवहारिक र तत्कालीन स्थानीय स्वायत्त शासन ऐन २०५५ भन्दा पनि प्रतिगामी छ । यसमा हामीले आपत्ति जनाउँदै आएका छौँ ।
विकेन्द्रीकरणको नारा लगाउँदै तत्कालीन सरकारहरूले सबै स्थानीय तहहरूलाई आफ्नो मातहतमा चलाएजस्तै आजका शासकहरूले पनि सङ्घीयताको नारा दिएर सबै अधिकार सङ्घ सरकारमा केन्द्रित गर्न खोज्नु पञ्चायतकै पुनरावृत्ति हो । सङ्घीयताको नारा दिएर सरकारमा पुगेका माओवादीहरूसमेत आफ्नै नेतृत्वको सरकारले स्थानीय तहको अधिकार खोस्दा पनि एक शब्द नबोल्नु विडम्बनापूर्ण छ ।
नगर सभासद्ज्यूहरू,
अब यहाँहरूसमक्ष आ.व. २०७८।७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौंं ।
क) स्वास्थ्य :
- १) भनपा वडा नं. ९ च्याम्हासिंहमा निर्माणाधीन ख्वप अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरी आधुनिक स्वास्थ्य उपकरणसहित यसै वर्षदेखि उक्त अस्पताल पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ । हालका लागि ब्रह्मायणीमा सञ्चालित ख्वप अस्पताल कोभिड–युनिट रहेकै भवनमा ख्वप अस्पताल सञ्चालन गरिनेछ । जनताबाट प्राप्त आर्थिक सहयोगबाट अक्सिजन प्लान्ट निर्माण सम्पन्न भइसकेको छ भने नयाँ नयाँ आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गरी ख्वप अस्पताललाई एउटा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न ‘जनताको अस्पताल’को रूपमा विकास गरिनेछ । नगरवासीहरूको जीवन रक्षाको लागि कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारमा सर्वोच्च प्राथमिकतामा राखिनेछ ।
- २) कोभिड रोकथाम र नियन्त्रणका लागि कोभिड युनिटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू तथा प्रयोगशाला र स्वाब परीक्षण, एम्बुलेन्स तथा शव वाहन सेवा प्रदान गर्ने कर्मचारीहरूलाई अस्पताल सञ्चालक समितिको निर्णयअनुसार प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ ।
- ३) कोभिड रोकथाम र नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरवासीहरूको लागि खोपको व्यवस्था मिलाइनेछ ।
- ४) कोरोना भाइरसको तेस्रो भेरियन्ट आउन सक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै एकाइको बन्दोबस्त गरी कोभिड युनिटलाई निरन्तर तयारी अवस्थामा राखिनेछ । जोखिममा पर्नसक्ने १८ वर्षमुनिका बालबालिकाहरूका लागि समेत आइसीयू र भेन्टिलेटरको व्यवस्था गरिनेछ ।
- ५) घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी बनाई विद्यालय र कलेजसम्म सेवा विस्तार गर्दै लगिनेछ । त्यसको लागि आवश्यक सङ्ख्यामा स्वास्थ्यकर्मीहरूको बन्दोबस्त गरिनेछ । जनताको स्वास्थ्य सेवालाई प्रभावकारी ढङ्गले सेवा विस्तार गर्न वडा–वडामा स्वास्थ्य केन्द्रहरूको विस्तार गर्दै लगिनेछ ।
- ६) नगरवासीहरूलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन समय–समयमा क्यान्सर, पाठेघर, आँखा, दाँत परीक्षणलगायत विभिन्न विषयहरूको नियमित स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । यसबाट भक्तपुरका जनताको स्वास्थ्य स्थितिबारे यथार्थ चित्र प्रस्तुत हुने अपेक्षा छ ।
- ७) भक्तपुर नगरपालिका क्षेत्रमा वैकल्पिक उपचार विधिअनुसार उपचार गरिने आयुर्वेदिक स्वास्थ्य उपचार केन्द्र (नागरिक आरोग्य केन्द्र) २०७७ माघ २४ गतेदेखि सञ्चालनमा छ । भनपा वडा नं. ६ मा सञ्चालित उक्त केन्द्रलाई विस्तार गरी वडा वडामा आयुर्वेदिक उपचार शिविरहरूको व्यवस्था गरिँदै लगिनेछ । साथै आयुर्वेदिक उपचारको अध्ययन अनुसन्धानलाई अगाडि बढाइनेछ ।
- ८) भनपा वडा नं. ९ च्याम्हासिंहमा सञ्चालनमा रहेको सामुदायिक आँखा केन्द्रलाई जनताको सहज पहुँच र स्तरीय सेवा प्रदान गर्ने गरी आवश्यक चिकित्सकहरूसमेतको बन्दोबस्त गरी तिलगङ्गा आँखा प्रतिष्ठानसँग समन्वय गरी ख्वप अस्पताल भवनबाटै सेवा प्रदान गर्ने व्यवस्था गरिनेछ ।
- ९) नसर्ने कडा रोगहरू क्यान्सर, मृगौला, मुटु, मस्तिष्कघाट, स्पाइनल इन्जुरीजस्ता रोग लागेका बिरामीहरू दिन प्रतिदिन बढ्दै गएको हुँदा बिरामी परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले नगरपालिकाले दिइँदै आएको आर्थिक सहयोगमा वृद्धि गरिनेछ ।
- १०) भक्तपुर नगरपालिकाभित्र सञ्चालित अस्पताल, स्वास्थ्य क्लिनिक तथा औषधि पसलहरूको गुणस्तरीयतामा कमी हुन नदिन समय–समयमा चिकित्सहरूसहितको टोलीले अनुगमनको व्यवस्था मिलाइनेछ ।
- ११) जनतालाई पायक पर्ने नगरको एउटा वडामा अक्युपञ्चर थेरापी सेवा सुरु गरिनेछ ।
- १२) नगरमा देखापरेका सङ्क्रामक रोगहरूको विषयमा सघन स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ ।
- १३) अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूका लागि घरदैलोमा चिकित्सा सेवा उपलब्ध गराइनेछ ।
ख) शिक्षा :
- १४) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिक्षण संस्थाहरूमा कृषि विज्ञान, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, फार्मेसी एवं मेकानिकल इन्जिनियरिङ, बिएस्सी नर्सिङजस्ता नयाँ–नयाँ विषयहरू अध्यापन स्वीकृतिको लागि प्रक्रिया अगाडि बढाइनेछ ।
- १५) कोभिडको कारण भौतिक उपस्थितिमा विद्यालयहरूमा कक्षा सञ्चालन सम्भव नभएकोले नपाकै निर्देशनमा अनलाइन कक्षाहरू सञ्चालन हुँदै आएको छ । कतिपय विद्यार्थीहरू इन्टरनेटको पहुँचबाट टाढा रहेको देखिएको हुँदा नगरका मुख्य मुख्य क्षेत्रहरूमा क्रमशः निःशुल्क वाइफाइको व्यवस्था गर्दै लगिनेछ । साथै नगरका सबै विद्यालयहरूमा इन्टरनेट सेवाको पहुँच पु¥याइनेछ ।
१६) उच्च शिक्षा हासिल गर्ने गरिब परिवारका विद्यार्थीहरूलाई दिइँदै आएको रु ५ लाखसम्म शैक्षिक ऋण र भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नगरवासी विद्यार्थीहरूलाई दिइँदै आएको पूर्ण छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
१७) नगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा कार्यरत इसीडी शिक्षकहरूलाई दिइँदै आएको प्रोत्साहन रकमलाई निरन्तरता दिइनेछ । सङ्घ सरकारले घोषणा गरेबमोजिम ती शिक्षकहरूको तलब समायोजनको लागि आवश्यक व्यवस्था गरिनेछ ।
१८) आधारभूत विद्यालयहरूको शैक्षिकस्तर उठाउन सबै विद्यालयहरूमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै आधारभूत विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न विज्ञहरूको टोली गठन गरी आवश्यक व्यवस्था मिलाइनेछ ।
१९) विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको समय–समयमा स्वास्थ्य परीक्षण गर्न चिकित्सकहरूको व्यवस्था गरिनेछ र आधारभूत औषधिहरू निःशुल्क वितरणको व्यवस्था मिलाइनेछ ।
२०) ख्वप विश्वविद्यालयको स्थापनाको लागि निरन्तर प्रयास जारी राखिनेछ । त्यसको आवश्यक व्यवस्थाको लागि विज्ञहरूको समिति गठन गरी प्रक्रिया अगाडि बढाइनेछ ।
२१) नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा इन्जिनियरिङ, वातावरण विज्ञान, वाणिज्यशास्त्र, समाजशास्त्र, गणितलगायतको विषय राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको गोष्ठीको आयोजना गरिनेछ । विद्यालय र कलेजका विद्याथीहरूको प्रतिस्पर्धी भावनालाई विकास गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समय–समयमा विज्ञान प्रदर्शनी, इन्जिनियरिङ प्रदर्शनी गर्नुका साथै इन्जिनियरिङ कलेजहरूको तर्पmबाट राष्ट्रियस्तरको रोबोट प्रतियोगिताको आयोजना गरिनेछ ।
२२) भक्तपुरको इतिहास, भूगोल, वास्तुकला, कला–संस्कृति, भाषा, सरसफाइ, खानेपानीलगायत अध्ययन अनुसन्धान गर्ने शोधकर्ताहरूको लागि प्रोत्साहनस्वरूप दिइँदै आएको रकमलाई निरन्तरता दिइनेछ ।
२३) नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्ययनको साथै अनुसन्धानलाई जोड दिइनेछ । कलेजहरूलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने प्रयत्न गरिनेछ र त्यसको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
२४) आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरिनेछ । यसले विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावनाको विकास हुनुका साथै शैक्षिकस्तरमा सुधार आउने विश्वास गरिएको छ ।
२५) जनज्योति पुस्तकालयलाई अझ स्तरीय बनाउन आवश्यक भौतिक सुधारहरू गर्नुका साथै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि आवश्यक पुस्तकहरूसहित इ–लाइब्रेरीको व्यवस्था गरिनेछ । वडा वडामा सञ्चालित पुस्तकालयहरूका लागि आवश्यक पुस्तक तथा दैनिक पत्रपत्रिकाहरूको व्यवस्था गरी नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास गर्ने नीति लिइनेछ ।
२६) नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रहरूमा कार्यरत शिक्षिका तथा आया दिदीहरूलाई समय सापेक्ष तालिम दिइनेछ । त्यहाँ भर्ना भएका शिशुहरू स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ ।
२७) स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, राजनीति, महत्वपूर्ण व्यक्तित्वहरू र विभिन्न राजनैतिक घटनाक्रमहरूबारे विद्यालयस्तरदेखि नै जानकारी दिने उद्देश्यले लागू गरिएको स्थानीय पाठ्यक्रम कक्षा १–८ सम्मका विद्यार्थीहरूलाई अनिवार्य गरिएको छ । ती विषय शिक्षकहरूको अध्यापनको लागि सहज बनाउन समय–समयमा तालिम, सन्दर्भ पुस्तक प्रकाशन, डकुमेन्ट्री निर्माण गरी विद्यालयहरूमा वितरण गरिनेछ । त्यसबारे विज्ञ शिक्षकहरूद्वारा अनुगमनको व्यवस्था मिलाइनेछ । विद्यालय तहमा नेपालभाषा लिपिसम्बन्धी कक्षा सञ्चालनको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ । नैतिक शिक्षा र पुरातात्विक शिक्षाको पाठ्यक्रम बनाई अध्यापन गर्ने कार्य प्रारम्भ गरिनेछ । - नगरभित्र सञ्चालित विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरूको लागि पुनर्ताजगी तालिम प्रदान गरिनेछ । त्यसको लागि अनुगमनको व्यवस्था मिलाइनेछ ।
- शैक्षिक गुणस्तर विकासको लागि सङ्घ, प्रदेश सरकारहरूसित समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ ।
ग) संस्कृति र सम्पदा पुनःनिर्माण :
- आप्mनो जीवनको महत्वपूर्ण समय संस्कृति संरक्षणमा लगाउनु भई भक्तपुरलाई सांस्कृतिक नगरको रूपमा पहिचान कायम राख्न योगदान गर्नुहुने नगरवासी सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ । उहाँहरूको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रमलगायत नपाद्वारा प्रकाशित हुने प्रकाशनहरूमा जीवनी प्रकाशित गरिनेछ ।
- विद्यालयस्तरमा कला–संस्कृति र सम्पदाको महत्वबारे जनचेतना जगाउन स्थानीय पाठ्यक्रम निर्माण, लेख रचनाहरूको नियमित प्रकाशन र विद्यार्थीहरूबीच प्रतियोगिताहरू सञ्चालन गरिनेछ ।
- भक्तपुर नगरको मूल सडक भार्वाचोदेखि च्याम्हासिंहसम्म ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । उक्त सडक आन्तरिक र बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण भएकोले सडकको सुन्दरतालाई बढाउन विभिन्न प्रजातिका मौसमी पूmलहरूसहित गमलाहरूबाट सजाइनेछ । त्यसको संरक्षणको जिम्मा सम्बन्धित घरधनी वा पसलधनीले नै लिने व्यवस्था मिलाइनेछ ।
- ब्रह्मायणी, महेश्वरी, हनुमानघाट, चुपिंघाट, मङ्गलतीर्थ, धाँलाखुशी, नपलीघाट, कासनघाटलगायतका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका घाटहरूको सुधार गर्दै क्रमशः व्यवस्थित गर्दै लगिनेछ ।
- नगरका मुख्य सडकमा भारी सवारी साधन चलाउँदा आन्तरिक र बाह्य पर्यटकहरूले गुनासो गरिरहेकोलाई मध्यनजर गरी नगरको प्राचीन र सांस्कृतिक महत्वमा समेत कमी आउन नदिन यसै वर्षदेखि वैकल्पिक व्यवस्थासहित क्रमशः भारी सवारी साधन प्रवेश निषेधलाई कार्यान्वयन गर्दै लगिनेछ । पुरानो नगर क्षेत्रको मूल सडकलाई पैदल मार्गको रूपमा विकास गरिनेछ ।
- भनपा वडा नं. ५ स्थित जगन्नाथ क्षेत्र ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्र हो । यसबारे नयाँ नयाँ तथ्यहरू पत्ता लगाउन विज्ञहरूको टोली गठन गरी आवश्यक अध्ययन अनुसन्धान सुरु गरिनेछ । साथै ९९ चोक उत्खननबारे पनि अध्ययनको थालनी गरिनेछ ।
- नगरका विभिन्न स्थानमा रहेका पोखरीहरूमा आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बढाउन नौकाविहार सञ्चालनसँगै सन्ध्याकालीन मनोरञ्जनको निम्ति बत्तीको व्यवस्था गरिनेछ ।
- सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धारको सम्पूर्ण विवरणसहितको अभिलेख तयार गरी पुस्तक प्रकाशनलाई निरन्तरता दिइनेछ । साथै, महत्वपूर्ण सम्पदाहरूको सङ्क्षिप्त विवरणसहित त्यसको ऐतिहासिक महत्वबारे प्रस्ट पार्न डकुमेन्ट्रीहरूको निर्माण गरी विद्यालय, कलेजहरूको पाठ्यसामग्रीको रूपमा प्रयोगमा ल्याउन अध्यापनमा जोड दिइनेछ ।
- टोल–टोलमा गाइने दाफा, भजनका थ्या सापूmहरू बिग्रेर नासेर गएको पाइएको हुँदा त्यस्ता थ्या सापूmहरू नयाँ बनाउन दाफा भजनहरूलाई आर्थिक सहयोग गर्ने र त्यसको अभिलेख तयार गर्न आवश्यक व्यवस्था गरिनेछ । पुराना ऐतिहासिक दस्तावेजहरूको डिजिटल रेकर्ड राख्ने व्यवस्था मिलाइनेछ ।
- भक्तपुरका विभिन्न टोल गल्लीहरूको प्राचीन नाम लोप हुन नदिन स्थानीय टोलवासीहरूसँग छलफल गरी पुरानै नामसहित बोर्डहरू राख्ने कार्य सुरु गरिनेछ । साथै, विभिन्न सम्पदाहरूको बारेमा सङ्क्षिप्त परिचयसहितका बोर्डहरू तयार गरी सम्पदाहरूमा राख्ने बन्दोबस्त गरिनेछ ।
घ) निर्माण, पुनःनिर्माण
- ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका भनपा वडा नं. १ स्थित रानीपोखरी र भाज्या पोखरी जीर्णोद्धार कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरी सर्वसाधारण जनताले उपभोग गर्न पाउने व्यवस्था मिलाइनेछ ।
- नगरका विभिन्न ठाउँहरूमा बालोद्यानको निर्माण गर्ने क्रमलाई निरन्तरता दिइनेछ ।
- कमलविनायक, लिबालिबी आवास योजनालगायतका ठाउँहरूमा बाँकी सडक कालोपत्रे गर्ने कामलाई निरन्तरता दिइनेछ ।
- जथाभावी गाडी पार्किङ्गको कारण पैदल यात्रुहरूलाई अप्ठेरो पर्नुका साथै नगरको सौन्दर्यमा समेत ह«ास आएको हुँदा सफा र सुन्दर नगर बनाउन आवश्यकताअनुसार नगरका ठाउँ–ठाउँमा व्यवस्थित गाडी पार्किङ्ग निर्माण गरिनेछ ।
- भनपा वडा नं. ४ स्थित नरसिंह मन्दिरको पुनःनिर्माण कार्यलाई निरन्तरता दिइनेछ र दरबार क्षेत्रस्थित लाँपां देग (हरिशङ्करको मन्दिर) को विस्तृत अध्ययन प्रतिवेदन तयार भइरहेको हुँदा त्यसको प्रतिवेदन प्राप्त हुनासाथ सम्बन्धित निकायहरूसित समन्वय गरी पुनःनिर्माण कार्यलाई अगाडि बढाइनेछ ।
- दरबारक्षेत्रस्थित कला सङ्ग्रहालय रहेको न्हय्कं झ्या दरबार, २०७२ अघि नगरपालिकाको कार्यालय रहेको थंथु दरबार, नक्सा शाखा रहेको भवनजस्ता महत्वपूर्ण भवनहरू २०७२ सालको भूकम्पछि क्षति भएकोमा प्राविधिक कारणले ती सम्पदाहरू पुनः निर्माणअघि बढ्न सकेको छैन । नगरपालिकाले पुरातत्व विभाग, संस्कृति मन्त्रालयसित समन्वय गरी त्यसको पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाइनेछ ।
- नगर प्रवेश गर्ने पुलहरू जीर्ण भएको हुँदा क्रमशः त्यसको पुनःनिर्माण गर्दै लगिनेछ ।
- विद्युत्, टेलिफोन, केबुल नेटवर्क तथा इन्टरनेट सेवाका तार र पोलहरू जथाभावी राखिँदा नगरको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको हुँदा नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा तार भूमिगत गर्ने कार्य अगाडि बढाइनेछ ।
ङ) युवा तथा खेलकुद
- अन्तर नगर खेलकुद प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइनेछ । साथै अनुकूल समयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रिय बनाउन अन्तरविद्यालय खेलकुद प्रतियोगिता गरिनेछ ।
- खेलकुदलाई नागरिकको अभिन्न अङ्गको रूपमा विकास गर्न नियमित खेलकुद प्रशिक्षणलाई निरन्तता दिँदै थप खेलहरूको प्रशिक्षण सुरु गरिनेछ ।
- वडा–वडामा रहेका खेलकुद समितिहरूलाई सक्रिय बनाइनेछ । त्यसको लागि आवश्यक खेलकुद सामग्रीको व्यवस्था गरिनेछ ।
- खेलकुद प्रशिक्षक तालिम, आत्मरक्षासम्बन्धी तालिमहरू सञ्चालन गरिनेछ । त्यस्ता तालिमहरू विद्यालय कलेजहरूमा समेत सञ्चालन गरी व्यापक बनाइनेछ ।
- नागरिकहरूको सर्वाङ्गीण विकासको लागि वडा–वडामा स्थापित व्यायामशालाहरूको विस्तार गरी विद्यालय र कलेजहरूमा समेत राख्ने नीति लिइनेछ ।
- विद्यालयहरूमा खेलकुद प्रशिक्षण बढाउँदै लाने नीतिअनुसार आवश्यक सङ्ख्यामा पूर्णकालीन खेलकुद प्रशिक्षकहरू नियुक्त गरी खेलकुद गतिविधिलाई अगाडि बढाइनेछ ।
- विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिई पुरस्कृत भएका खेलाडीहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ । यस्ता सम्मान कार्यक्रमहरूले खेलाडीहरूको मनोबल बढ्ने विश्वास गरिएको छ ।
- भनपा वडा नं. ८ र वडा नं. १० मा निर्माणाधीन खेलकुद कभर्ड हलहरू यो वर्ष सम्पन्न गरिनेछ र सहिद स्मृति खेल मैदानलाई डिजाइनअनुसार आधुनिक कभर्ड हल निर्माण गरिनेछ ।
च) कृषि
- कृषि उत्पादनलाई व्यवस्थित गर्न कृषकहरूलाई पायक पर्ने क्षेत्रमा चिस्यान केन्द्र स्थापनाको लागि प्रक्रिया अगाडि बढाइनेछ ।
- नगरवासी कृषकहरूको उत्पादनहरू बिक्री वितरणको लागि उपयुक्त ठाउँमा तरकारी बजारको व्यवस्था गरिनेछ ।
- भुस्याहा कुकुरहरूको टोकाइले धेरै नगरवासीहरू पीडित भइरहेकोले सोको नियन्त्रण गर्न भेटेरेनरी शाखालाई सक्रिय बनाइनेछ । साथै, छाडा चौपाया नियन्त्रण र व्यवस्थापनको लागि आवश्यक व्यवस्था गरिनेछ ।
- कृषि चुन, उन्नत जातको बीउ वितरणलाई अझ व्यवस्थित गर्दै किसानहरूलाई माटो परीक्षण र कृषिसँग सम्बन्धित विभिन्न तालिमहरू दिइनेछ ।
- किसानहरूलाई कम्पोष्ट मल, गड्यौला मल बनाउने र त्यसको प्रयोग, कौसीखेतीलगायतको तालिम दिनुका साथै कृषि उत्पादन बढाउने र उत्पादित तरकारीहरू बजारसम्म पु¥याउन सहजीकरण गरिनेछ ।
- नगरस्तरीय कृषि ल्याव सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
छ) वातावरण र सरसफाइ
- नगरभित्र प्लाष्टिकको झोलाबाट भइरहेको वातावरण प्रदूषण नियन्त्रण गर्न कागज वा कपडाको झोला प्रयोगमा जोड दिइनेछ । त्यसको लागि नगरभित्र सञ्चालित सहकारी संस्थाहरूसित समन्वय गरी उपयुक्त व्यवस्था मिलाइनेछ ।
- नगरका सडकहरूको दायाँ बायाँ, खोलाका किनारहरू, पर्ती जग्गा, खुला क्षेत्र, पीठ वरिपरि रुखहरू रोपेर वातावरण सुन्दर बनाई स्वच्छ, सफा र हरियालीयुक्त नगरको रूपमा विकास गरिनेछ ।
- नगर सफाइको लागि हरेक महिनाको १ गते र १५ गते जनप्रतिनिधि, कर्मचारी र स्थानीय टीम, क्लवसहितले नियमित सरसफाइ अभियान चलाइआएकोमा कोभिडको महामारीसँगै यो क्रम रोकिएको छ । समयअनुकूल भएमा आगामी साउन १ गतेबाट उक्त अभियानलाई निरन्तरता दिइनेछ ।
- कुहिने र नकुहिने फोहर अलग अलग सङ्कलन गर्दै आएकोमा आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुहरूलाई कम्पोस्ट मल बनाई सस्तोमा किसानहरूलाई बिक्री वितरण गरी आयआर्जन गर्ने स्रोतको रूपमा विकास गरिनेछ ।
- ‘आफ्नो ठाउँ आफै सफा गरौँ !’ भन्ने भावना विकास गर्न विभिन्न चेतनामूलक गतिविधिहरू गरिनेछ । सडक, चोक र गल्लीहरूमा जथाभावी फोहर गर्नेहरूको लागि कडा कानुनी व्यवस्था गरिनेछ ।
- एक विद्यालय एक सम्पदा सफाइ कार्यक्रमलाई निरन्तरता दिई नगरका सम्पदा क्षेत्रहरूलाई निरन्तर सफा राख्न विद्यार्थी र शिक्षकहरूबीच अभियानकै रूपमा अगाडि बढाइनेछ ।
- नगरको उपयुक्त स्थानमा फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माण गरिनेछ ।
ज) खानेपानी
- खानेपानी भक्तपुरवासीहरूको निम्ति स्थायी समस्या बनिरहेको छ । पुर्खौँदेखि नगरकोटबाट वितरण भइरहेको पानीको वितरण प्रणाली तथा गुणस्तरमा सुधार गर्ने प्रयास गर्दै छौँ । यससँगै ठाउँ–ठाउँमा डीप बोरिङ गरी पानीको समस्या समाधान गर्दै आएका छौँ । सुख्खा मौसमको बेला दैनिक ट्याङ्करबाट समेत पानी वितरण गर्दै आएका छौँ । भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लि. बीच भएको सम्झौताअनुसार यो आर्थिक वर्षमा भक्तपुर नगरभित्र मेलम्चीको खानेपानी वितरणको लागि सम्बन्धित कार्यालयहरूसित समन्वय गरी आवश्यक व्यवस्था गरिनेछ ।
- हाम्रो परम्परागत खानेपानीका स्रोतहरू ढुङ्गेधारा, पोखरी, इनारहरूको संरक्षणलाई जोड दिइनेछ ।
- नगर क्षेत्रमा नयाँ पाइप लाइन विस्तार गरिनेछ । पुरानो पाइप लाइनलाई पनि आवश्यक मर्मत सम्भार गरी खानेपानी वितरण प्रणालीमा सुधार ल्याउन पहल गरिनेछ र विस्तारित नगर क्षेत्रमा पनि खानेपानी वितरणको व्यवस्था मिलाइनेछ ।
झ) पर्यटन :
- भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न विभिन्न स्थानहरूमा पर्यटकीय प्रवद्र्धनात्मक गतिविधिहरू वर्षैभरि सञ्चालनको व्यवस्था गरिनेछ ।
- आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण दिनहरूमा सन्ध्याकालीन सम्पदा तथा सांस्कृतिक सम्पदा पदयात्राको आयोजना गरिनेछ ।
- नगरका विभिन्न ठाउँहरूमा फेमिली स्टे र होम स्टेको विकास गरिनेछ । त्यसको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
- नगरका गल्ली र चोक तथा महत्वपूर्ण स्थलहरूमा क्रमशः सीसी क्यामेराको व्यवस्था गरिनेछ । साथै सम्पदास्थलहरूमा सन्ध्याकालीन बत्तीको व्यवस्था गरिने छ ।
- नगरका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका सम्पदा र सांस्कृतिक गतिविधिहरूको भिडियो र डकुमेन्ट्री बनाई प्रचार–प्रसारको व्यवस्था मिलाइनेछ ।
- भक्तपुरमा रहेका सांस्कृतिक गतिविधिहरू नियमित प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि सांस्कृतिक केन्द्र निर्माण गरिनेछ ।
- नगरपालिकाले चिनियाँ र जापानी भाषा प्रशिक्षण दिँदै आएकोमा यस वर्षदेखि अन्य विदेशी भाषाको पनि तालिमको व्यवस्था गरिनेछ ।
- विदेशी पर्यटकहरूको सेवामा लागेका स्थानीय पथप्रदर्शकहरूलाई समय–समयमा पुनर्ताजगी तालिमको सञ्चालन गरिनेछ ।
- भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेका प्रदूषण फाल्ने ठूला उद्योगहरूलाई सो क्षेत्रबाट स्थानान्तरण गरी स्थानीय सीपमा आधारित हस्तकला उद्योगको रूपमा विकास गर्न पहल गरिनेछ ।
- स्थानीय सीपमा आधारित हस्तकला तथा खाद्य परिकारहरूको प्रचार प्रसारका गतिविधिहरू सञ्चालन गरिनेछ ।
कोभिड महामारीको कारण स्थानीय पर्यटन व्यवसायमा नकारात्मक असर परेको अवस्थालाई मध्यनजर गरी आ.व. २०७८।७९ को सुरु ४ महिनाको व्यवसाय कर छुट दिइनेछ ।
ञ) सहकारी :
- सहकारी संस्थाका पदाधिकारी एवं कर्मचारीहरूलाई समय सापेक्ष तालिमको व्यवस्था गरिनेछ ।
- नगरको सरसफाइलाई ध्यानमा राखी ‘एक सहकारी एक क्षेत्र सरसफाइ’ को नीतिलाई प्रभावकारीरूपमा लागू गरिनेछ ।
- नगरपालिका र सहकारी संस्थाबीच समन्वय गरी जनताको हितमा साझेदारी कार्यक्रमलाई अगाडि बढाइनेछ । नगरभित्र क्रियाशील सहकारी संस्थाहरूको नियमित अनुगमनलाई निरन्तरता दिइनेछ ।
- सहकारीहरूलाई लेनदेनमा मात्रै सीमित नगरी सहकारीमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी प्रवद्र्धन गर्न जोड दिइनेछ । त्यसको लागि नगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ ।
ट) युवा तथा महिला लक्षित तालिम :
- युवाहरूलाई सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर बनाउने नीति लिइनेछ । काष्ठकला, प्रस्तरकला, मूर्तिकला, चित्रकला, सिलाइ, रेडियो–टेलिभिजन प्रस्तोता, फोटोग्राफी, भिडियोग्राफी, पथप्रदर्शकहरूको तालिम दिइनेछ । मोटरसाइकल, मोबाइल मर्मत, रेडियो–टेलिभिजन मर्मत, रेफ्रिजेरेटर, प्लम्बिङ र बिजुली बत्तीको मर्मतलगायतका तालिम दिइनेछ ।
ठ) आवास योजना :
- भक्तपुर नगरपालिका वडा नं. २ र ६ मा सञ्चालित देको मिवा इटापाके आवास योजनाका बाँकी कामहरू सम्पन्न गरी क्रमशः जनताको जग्गा फिर्ता गरिनेछ । जनताबाट प्राप्त राय, सुझाव र गुनासाहरूलाई अधिकतम सम्बोधनको प्रयास गरिनेछ ।
ड) अन्य :
- उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर नगरपालिकाले गर्दै आएको बजार अनुगमनलाई निरन्तरता दिइनेछ । अनुगमनको क्रममा कानुनविपरीत वस्तुहरू बेचबिखन गरेको पाइएमा कडा कारबाही गरिनेछ ।
- सडकमा जथाभावी दोपाया, चौपाया छाडी फोहर गरेमा वा घरपालुवा कुकुरले सडक चोकमा फोहर गरेको पाइएमा कडा कारबाही गरिनेछ । कुकुर धनीले सम्बन्धित वडामा दर्ता गर्नुपर्ने व्यवस्था गरिनेछ ।
- नगरको विभिन्न ठाउँमा छरिएर रहेका र विभिन्न व्यक्तिहरूबाट अतिक्रमण गरिएका पर्ती तथा सरकारी जग्गाहरूको संरक्षण गरी अभिलेख तयार गरिनेछ र त्यसको उपयोग गरी नगरपालिकाको आय आर्जनको स्रोत बनाइनेछ ।
- भनपा वडा नं. ६ महाकालीस्थित खँचा पोखरी क्षेत्रमा आ.व. २०७८।०७९ बाट नै ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणको लागि आदर निकेतनको व्यवस्था गरिनेछ ।
- नगरवासीहरूलाई नगरभित्र उत्पादित स्थानीय सामानहरूको उपयोग गरी स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।
- भक्तपुर नगरपालिकाले नियमितरूपमा ‘ख्वप सः’ (भक्तपुर आवाज) रेडियो कार्यक्रम सञ्चालन गर्दै आएकोमा रेडियो रेकर्डिङ्ग स्टुडियो निर्माण गरिनेछ र टेलिभिजन प्रशारणको व्यवस्थासमेत मिलाइनेछ । त्यसको लागि आवश्यक जनशक्तिको व्यवस्था गरिनेछ ।
- परम्परागत शैलीमा शव दाह गर्दै आएकोमा नगरका महत्वपूर्ण स्थानहरूमा सुधारिएको शवदाह गृह निर्माण गरिनेछ । साथै, विद्युतीय शवदाह गृह निर्माणको प्रक्रिया थालनी गरिनेछ ।
- नगरका घरहरूको व्यवस्थित अभिलेख राखी घर नम्बरिङ गरिनेछ । साथै सडकहरूको नामकरणसमेत गरिनेछ ।
- नगरवासी करदाताहरूलाई घरबाटै कर तिर्न सकिने गरी मोबाइल एपको निर्माण गरिनेछ ।
- साना तथा घरेलु उद्योगहरूलाई प्रोत्साहित गर्न स्थानीय उत्पादनहरू जुजु धौ, भादगाउँले टोपी, टाइच्यून चिउरा, हाकुपटासीको प्रवद्र्धनलाई जोड दिइनेछ ।
- भक्तपुर नगरपालिकाको पुरानो नगर क्षेत्रभित्र मौलिक शैलीमा घर बनाउने घरधनीहरूलाई घरको मोहडाको लागि लाग्ने इँटा, काठ र झिङ्गटीको खर्चमध्ये ३५ प्रतिशत अनुदान दिने नीतिलाई निरन्तरता दिइनेछ ।
निगरपालिकाभित्र काम गर्ने कर्मचारीहरूमध्ये राम्रो काम गर्ने कर्मचारीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कृत र अनुशासन बाहिर गएर काम गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने नीति लिइनेछ । - कर्मचारीहरू आर्थिक कारण उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कर्मचारीहरूको लागि स्वास्थ्य उपचार कोषको व्यवस्था गरिनेछ ।
- भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा कार्यरत कर्मचारीहरूको नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिनेछ ।
- कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि समय–समयमा तालिमको व्यवस्था गरिनेछ । साथै कर्मचारीहरूलाई विपद्को बेला खटाउन सक्ने गरी विपद् व्यवस्थापनको तालिमको व्यवस्था गरिनेछ ।
अन्त्यमा, कोरोना रोकथाम र नियन्त्रणको लागि भनपाको आग्रहमा अक्सिजन प्लान्ट एवं स्वास्थ्य सामग्री खरिदमा आर्थिक, भौतिक सहयोग गर्ने सम्पूर्ण दाता सङ्घसंस्था र महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्री भनपालाई हस्तान्तरण गर्नुभएकोमा पार्टी अध्यक्षज्यूलगायत पार्टीलाई धन्यवाद दिन चाहन्छौँ ।
भक्तपुर नगरपालिकासित भगिनी सम्बन्ध कायम रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबाट स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएकोमा त्यहाँका मेयरलगायतका पदाधिकारीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
कोरोना रोगका कारण जीवन गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली दिँदै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौँ । साथै सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । धन्यवाद !
– समाप्त
Leave a Reply