भर्खरै :

स्वास्थ्य नियमको पालना नगरे तेस्रो लहर आउने भारतीय विज्ञहरूको चेतावनी

भारतको हैदराबादको ऐतिहासिक चरमिनारमा पर्यटकको भीड । तस्वीरः सिन्ह्वा
नयाँ दिल्ली, २३ जून । भारतमा कोभिड–१९ को चालु दोस्रो लहर ओरालो लाग्दै गर्दा स्वास्थ्यविज्ञहरूले सावधानीका स्वास्थ्यका नियमको कडाइका साथ पालना नभए अर्को लहर आउन सक्ने चेतावनी दिएका छन् । सङ्क्रमण रोकथामको लागि लागु गरिएका निषेधका नियममा सहजता र धिमा खोप अभियानबीच उनीहरूले यस्तो सम्भावना औँल्याएका हुन् ।
बुधबार बिहान प्राप्त तथ्याङ्कअनुसार बितेका चौबीस घण्टामा भारतमा ५० हजार ८४८ जना मानिसमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । हालसम्म भारतमा कुल ३ करोड २८ हजार ७०९ जना मानिसमा कोभिड–१९ को सङ्क्रमण भएको छ । उनीहरूमध्ये ३ लाख ९० हजार ६६० जनाको निधन भइसकेको छ ।
भारतमा कोभिड–१९ बाट निको हुनेको दर पनि ९६.५६ प्रतिशतमा बढेको छ ।
दैनिकरूपमा घट्दो सङ्क्रमणले भारतभरिका स्थानीय सरकारहरूलाई केही समय आराम दिलाएको छ । तर, विज्ञहरूले भने महामारीको अर्को लहर आउने खतरा रहेको बताएका छन् ।
भारतमा महामारीको घातक दोस्रो लहर छोटो अवधिमै फैलियो । अधिकांश सहरका अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिभराउ थिए । बिरामीको चापको कारण चिकित्सकहरूलाई अक्सिजन र अन्य आधारभूत स्वास्थ्य सामग्री व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।
विज्ञहरूले भारत सरकारले बेवास्ता गरेकै कारण त्यस्तो विकराल अवस्था निम्तिएको आरोप लगाएका छन् । सरकारले सावधानीका उपायमा हेलचक्र्याइँ गरेको र हिन्दूहरूको धार्मिक कुम्भ मेलालगायत विभिन्न राज्यमा चुनाव हुन दिएकैले महामारीले विकराल रूप लिएको उनीहरूको भनाइ छ ।
सजगताको लागि आह्वान
भारतको राजधानी दिल्लीमा निषेधाज्ञा खुकुलो बनाएसँगै त्यहाँका मेट्रो स्टेसन र विशाल बजारहरूमा हजारौं हजार मानिसको भीड देखियो । त्यो अवस्था देखेपछि जनस्वास्थ्यका विज्ञहरूले कोभिड–१९ को सम्भावित पुनरावृत्तिबारे सचेत बनाएका छन् ।
गत साता, दिल्लीको उच्च अदालतले कोभिड–१९ सम्बन्धी सावधानीका नियमहरूको उल्लङ्घनले महामारीको तेस्रो लहर चाँडै आउन सक्ने भनी चेतावनी दिएको छ । अदालतले सरकारलाई नियम पालना नगर्नेलाई कडा कारबाही गर्न र कोभिड–१९ रोक्न स्वास्थ्य नियमको पालनाबारे पसले र व्यापारीलाई सजग बनाउन आदेश जारी गरेको छ ।
उच्च अदालतले कोभिड–१९ का नियमको पालनामा खेलाँची गरे ‘हामी ठुलो सङ्कटमा पर्ने’ चेतावनी दिएको छ ।
राजधानीमा व्यापार व्यवसाय सुरु हुन थालेपछि चिकित्सकहरूले सर्वसाधारण सजग नबने र सावधानीका नियम पालना नगरे दिल्लीका जनताले ‘दोस्रो लहरभन्दा खराब अवस्था झेल्नुपर्ने हुनसक्ने’ बताएका छन् ।
भारतको प्रमुख अस्पतालमध्ये गनिने अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस)का निर्देशक रामदिप गुलेरियाले गत साता महामारीको तेस्रो लहरले आगामी ६ देखि आठ सातामा भारत प्रभावित हुनसक्ने बताए ।
“तेस्रो लहर आगामी ६ देखि आठ साता अथवा अलि पछि आउन सक्छ । कोभिड–१९ प्रतिरोधको लागि हामीले कस्तो व्यवहार ग¥यौँ भन्ने कुरामा सबै कुरा निर्भर हुनेछ”, उनले भने ।
“पहिलो र दोस्रो लहरको बीचमा के भएको थियो भन्ने कुराबाट हामीले सिकेको देखिएन । फेरि पनि मानिसको भीडभाड बढ्न थालेको छ । मानिसहरू भेला हुन थालेका छन् । राष्ट्रिय स्तरमै सङ्क्रमितको सङ्ख्या बढ्न केही समय लाग्न सक्छ”, गुलेरियाले भने ।
“५ प्रतिशतभन्दा माथि सङ्क्रमण दर भएको देशको कुनै पनि भूभागमा लघु लकडाउन लागु गर्नुपर्छ । हामी सबैले खोप नलगाएसम्म हामी सबै जोखिममा हुनेछौँ”, उनले भने ।
विश्व स्वास्थ्य सङ्गठनका पूर्व क्षेत्रीय अधिकारी जयप्रकाश नारायणले पनि पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन् ।
“दुःखको कुरा हामी अलि परिपक्व अवस्थामै विजयोत्सव मनाउन हतारिन्छौँ । लडाइँ जित्नुअघि नै विजयोत्सव मनाउने हतार गर्नुहुन्न । दोस्रो लहर फैलिँदा भारतमा सबै कुरा तयारी अवस्थामा थिएन । त्यही भएर हामीले उपयुक्त ढङ्गले सामना गर्न सकेनौँ । फलतः धेरै मानिसको जीवन गयो । घातक भाइरसको कारण परिवारहरूले वियोग भोग्नुप¥यो”, स्थानीय एउटा पत्रिकामा प्रकाशित लेखमा नारायणले चिन्ता व्यक्त गरेका छन् ।
धिमा खोप
अहिले, आफ्नो ठुलो जनसङ्ख्यालाई खोप दिनु भारत सरकारसामु ठुलो चुनौती बनेको छ ।
भारत सरकारको उच्च नीतिगत परामर्शदातृ संस्था नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ इन्डिया (एनआइटीआइ) आयोगका सदस्य भीके पलले कोभिड–१९ विरुद्धको खोपले सङ्क्रमणबाट कम्तीमा ९४ प्रतिशत जोगाउने र अस्पताल भर्ना हुनेको दर ७५–८० प्रतिशतले घटाउने सम्भावना भएको बताए ।
भारतमा जनवरी १६ बाट देशव्यापीरूपमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भएको थियो । हालसम्म झन्डै ५ करोड मानिसले खोप लगाइसकेका छन् । भारतमा ९४ करोड वयस्क जनसङ्ख्या छन् । त्यस हिसाबमा भारतमा हालसम्म ५ प्रतिशत वयस्कले मात्र खोप लगाएको देखियो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ करोड ४० लाखमात्र खोप लगाइएको छ । भारतको ठुलो जनसङ्ख्याले हालसम्म एक मात्रा खोपमात्र लगाएका छन् ।
भारत सरकारले यो वर्षको अन्त्यसम्ममा खोप लगाउने उमेरका सबै नागरिकलाई खोप लगाउने योजना बनाएको छ । त्यो लक्ष्य हासिल गर्न हरेक दिन १ करोड मात्रा खोप लगाइनुपर्ने विज्ञहरूले बताएका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *