भर्खरै :

तेस्रोसत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन् : बिजुक्छेँ

भक्तपुर, १२ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भागबन्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताउनुभएको छ ।
मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे शनिबार आफ्नो विचार सार्वजनिक गर्दै उहाँले सत्ताको लागि भागबन्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध गर्नुको कुनै तुक नहुने बताउनुभएको हो । नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सत्ताका लागि राजनीतिक अस्थिरतालाई कायम राख्दै चुनावी बाटोसमेत रोक्न खोजेको उहाँको तर्क थियो ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष केपी ओलीसँग मिल्नै नसक्ने भए नयाँ पार्टी बनाउन सुझावसमेत दिँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सत्ताको लागि भागबन्डामा लाग्नेले सरकारको विरोध गर्ने नैतिक अधिकार हुँदैन, सधैँ सरकारको विरोध गरेर अस्थिरता राख्नु हुँदैन, माधव नेपालले ओलीसँग नमिलेको हो भने अलग्गै पार्टी बनाउन कसले रोकेको छ ?”
देशलाई सधैँ राजनीतिक अस्थिरतामा राख्नुभन्दा चुनावमा जानु नै उत्तम विकल्प भएको भन्दै उहाँले संसारका विभिन्न देशमा पनि कोभिड–१९ का बीच निर्वाचन भइरहेको भनाइ राख्नुभयो । आफ्नै दलको नेतृत्वमा सरकार गठन गरेर चुनाव गराउने स्वार्थमा अहिले दलहरू लागेको टिप्पणी गर्दै बिजुक्छेँले भन्नुभयो, “राजनीतिक अस्थिरताको अन्त्य गर्ने उत्तम विकल्प चुनावमात्रै हो, चुनाव यहाँमात्र सम्भव छैन भन्नु ठीक होइन, आफैँ सरकारमा बसेर चुनाव गराउने स्वार्थकै कारण अहिले दलहरूबीच झगडा भइरहेको छ, शासकहरू स्वच्छ मतिले बोलिरहेका छैनन् ।”
सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्तिलाई बदर गर्नुको अर्थ पनि अब निर्वाचन हुन्छ भन्ने नै हो भन्दै उहाँले चुनावबाटै निकास खोज्नुपर्ने औँल्याउनुभयो । बिजुक्छेँले भन्नुभयो, “कम्युनिस्टहरूले पुँजीपति वर्गलाई कहिल्यै शासनमा ल्याउँदैनन् । तर, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले नेपाली काङ्ग्रेस या शेरबहादुर देउवालाई अहिले आएर प्रगतिशील देख्नुको पछाडि केही रहस्य हुनुपर्छ ।”
उहाँले संसद् र राजतन्त्र पुनस्र्थापना नहुने दाबी गर्दै भन्नुभयो, “वेस्ट मिनिस्टर सिस्टम असफलसिद्घ हुँदै छ, घुमाइफिराइ चीनको राजनीतिक व्यवस्थामा जानुको विकल्प छैन ।” बिजुक्छेँले थप्नुभयो, “शासक दलहरू भारतबाट प्रभावित भएका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ, आफूले भने जस्तो नगरे भारतले पुरानो खाता पल्टाउला भन्ने सबैमा डर छ, अहिले भारतको दुवै हातमा लड्डु छ, देशमा अहिले विदेशी प्रभाव छ भने त्यो दक्षिणको मात्रै प्रभाव छ ।”
विगतमा देउवा नेतृत्वकै सरकारले माओवादीका नेताको टाउकोको मूल्य तोकेको स्मरण गराउँदै उहाँले आफ्नो टाउकोको मूल्य तोक्नेलाई नै अहिले प्रधानमन्त्री बनाउन खोज्नुको रहस्य के हो ? प्रश्न गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *