भर्खरै :

कोभिडको सङ्क्रमण बढेपछि बङ्गलादेशमा लकडाउन

ढाका, २६ जुन (सिन्ह्वा) । कोरोना सङ्क्रमणको दर नघटेपछि बङ्गलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरू बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।
बङ्गलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगामी सोमबारबाट सुरू हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो ।
बङ्गलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । यातायात मन्त्रीसमेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी हालै दिनुभएको थियो ।
उहाँका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरू बन्द रहनेछन् । तर औद्योगिक क्षेत्रहरू भने आलोपालो गरी चल्नेछन् । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालय तथा अदालतहरू बन्द रहनेछन् । तर, उद्योग तथा मिलहरू आलोपालो सञ्चालन हुने अधिकारीहरूले जनाएका छन् ।
बङ्गलादेशमा पछिल्लो चौबीस घण्टामा ५ हजार ८३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । यही अवधिमा १०८ जनाको सङ्क्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय सङ्क्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ । अहिलेसम्म बङ्गलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *