भर्खरै :

भक्तपुर नगरपालिकाको दसौँ नगरसभामा उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को बजेट वक्तव्य

  • आगामी आ.व. २०७८।७९ को भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमानसहितको बजेट वक्तव्य दसौँ नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेका छौँ ।
  • सर्वप्रथम विभिन्न जनआन्दोलन र सङ्घर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दर्छौँ ।
  • कोरोनाका कारण जीवन गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली दिँदै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दर्छौँ । सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
  • स्थानीय तह निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हामी जनप्रतिनिधिहरूले नगरवासीमाझ चुनावी घोषणापत्रमार्फत प्रतिबद्धता व्यक्त गरेअनुसार निरन्तर जनताको सेवामा लागिरहेका छौँ । ऐतिहासिक एवम् विश्व सम्पदामा सूचिकृत नगर भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रूपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र सस्ंकृति’ भन्ने नाराका साथ भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्य राखेका छौँ ।
  • विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणबाट नेपाल र नेपाली जनता सामाजिक, आर्थिक, राजनैतिक, मानसिक एवम् स्वास्थ्य क्षेत्रमा प्रभावित भएको एक वर्षभन्दा बढी भइसकेको छ र यसले स्वास्थ्य क्षेत्रमा चुनौती थपेको छ । सङ्क्रमणको तेस्रो लहर आउने विज्ञहरूले सङ्केत दिइसकेका छन् । हामी त्यसविरुद्ध तयारीमा जुटेका छौँ ।
  • कोरोनाबाट जनता प्रभावित हुन थालेपछि सुरुकै समयमा भक्तपुर नगरपालिकाले ७५ शय्याको छुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको थियो । घरमा एकान्तबास बस्न नमिल्ने नगरवासीहरूका लागि उचित वातावरणसहित आइसोलेसन केन्द्रको व्यवस्था र विदेशबाट आएकाहरूको लागि घर वा होटल क्वारेन्टिनको व्यवस्था गरी जनतालाई रोग सङ्क्रमण हुनबाट बचाउने प्रयास भयो ।
  • जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै दैनिक माइकिङ, टोल—टोलमा साबुन पानीले हात धुने व्यवस्था, विशेष टोलीद्वारा फोहर सङ्कलनको व्यवस्था, सङ्क्रमितहरूको घर घरमा स्वास्थ्य सामाग्रीका किट्सहरू तथा आधारभूत औषधि पु¥याउने, आवश्यक स्वास्थ्य परामर्शको लागि चिकित्सकहरूको नाम सार्वजनिक गर्दै जनतालाई सक्दो सहजता प्रदान गर्दै आएका छौँ ।
  • दोस्रो लहरको सुरुका दिनहरूमा अक्सिजन दिनुपर्ने सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि नेपाल सरकारसँग अक्सिजनको व्यवस्था गर्न बारम्बार आग्रह ग¥यौँ । अक्सिजनको सहज आपूर्ति नहुने, अक्सिजनविना बिरामीहरूलाई बचाउन नसकिने, निजी र सरकारी अस्पतालमा आइसीयूको खोजीमै बिरामीको ज्यान गइरहेको स्थितिलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा जनताको सहयोगमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने निष्कर्षमा पुग्यौँ ।
  • अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरणहरू खरिदका लागि जनताबाट प्राप्त सहयोग रकम ६ करोड ११ लाख ४० हजार ९२ रुपैयाँँ र यसअघि चालू आ.व. मा प्रकोप व्यवस्थापन कोषमा प्राप्त सहयोग रकम ४२ लाख ४० हजार रुपैयाँँ गरी असार १० गतेसम्ममा विभिन्न सङ्घ—संस्था र व्यक्तिगतरूपमा जम्मा ६ करोड ५३ लाख ८० हजार ९२ रुपैयाँँ प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको जानकारी गराउन चाहन्छौँ । जनताको रकमबाटै छोटो प्रक्रिया अपनाई चिनियाँ कम्पनीबाट अक्सिजन प्लान्ट खरिद गर्ने कार्यका लागि कोषबाट १ करोड २३ लाख रुपैयाँँ खर्च भएको र अस्पतालमा अन्य स्वास्थ्य सामग्री खरिद गर्न २ करोड रुपैयाँँ निकासा दिएको अवगत गराउँदछौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट ख्वप अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट २०७८ असार १ गते उद्घाटन भई नियमित अक्सिजन उत्पादन भइरहेको छ ।
  • भक्तपुर नगरपालिकाले कोभिडविरुद्ध खोप अभियान सञ्चालन गरिरहेको र सम्पूर्ण नगरवासीहरूलाई खोप लगाउन यस अभियानलाई निरन्तरता दिइरहने छौँ । झन्डै १ लाख जनसङ्ख्या भएको यस नगरपालिकामा कोरोनाविरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा २,२४७ जनाले र दोस्रो मात्रा २,६५३ जनाले प्राप्त गरिसकेका छन् । त्यस्तै अर्को खोप भेरोसेलको पहिलो मात्रा २५,२८२ जनाले र दोस्रो मात्रा १६,५४७ जनाले प्राप्त गरिसकेका छन् ।
  • नेपाल भूकम्पीय जोखिममा परेका देशहरूमध्ये ११ औँ स्थानमा पर्दछ । २०७२ सालको भूकम्पले भक्तपुर नराम्ररी प्रभावित भएको थियो । १२० भन्दा बढी सम्पदामा आंशिक र पूर्ण क्षति भएको थियो भने ८ हजारभन्दा बढी घर आंशिक र पूर्ण क्षति भएको थियो । हामी निर्वाचित भएर नगरपालिकामा बहाली हुँदा पुनःनिर्माणको ठुलो चुनौती हाम्रोसामु थियो । त्यसलाई ध्यानमा राखेर नगरपालिकाले सम्पदा र निजी घर पुनःनिर्माणलाई जोड दिँदै आएको छ । हालसम्ममा २३ वटा मन्दिर, ४० वटा पाटी, ६ वटा द्यःछेँ, ३ वटा प्रवेशद्वार, ८ वटा पोखरी, ७ वटा इनार, ८ वटा सत्तल, ७ वटा ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा गरी कुल १०८ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदा जीर्णोद्धारको क्रममा छन् । भूकम्पबाट क्षतिग्रस्ट निजी घरहरूमध्ये लाभग्राही सूचीमा सूचिकृत झन्डै ४० प्रतिशत घरहरूको पुनःनिर्माण सम्पन्न भइसकेको छ । बाँकी निर्माणाधीन अवस्थामा छन् ।
  • नगरपालिकाको आन्तरिक र बाह्य स्रोतबाट गरी ८० वटा योजना सञ्चालनमा रहेकोमा १८ वटा योजना सम्पन्न भएका छन् भने ६२ वटा योजना चालू अवस्थामा छन् । यही आवमा विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भार्वाचोदेखि च्याम्हासिंहसम्मको भक्तपुरको मूल सडकमा ढुङ्गा छपाइ कार्य, भक्तपुर नपा ४ स्थित चपाल भैरव द्यः छेँ पुनः निर्माण, भक्तपुर ५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनःनिर्माण, भनपा ६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा ७ स्थित गय् भिंद्यो पुल र हनुमानघाटस्थित छिपा ताँको पुनःनिर्माण, सडक बत्तीको व्यवस्थालगायतका कार्यहरू सम्पन्न भएका छन् ।
  • भक्तपुर नगरपालिकाको सीमित स्रोतसँगै बढ्दो जनसङ्ख्या वृद्धिसँगै खानेपानीको आपूर्तिलाई पनि नगरपालिकाले विशेष जोड दिँदै आएको छ । उपलब्ध स्रोतको व्यवस्थित वितरण, नयाँ—नयाँ स्रोतको खोजी गर्दै नगरवासीहरूलाई खानेपानीको सहज आपूर्तिको व्यवस्था मिलाउँदै आएका छौँ । यसैक्रममा काठमाडौँ उपत्यका खानेपानी बोर्ड, केयूकेएल र भक्तपुर नगरपालिकाका पदाधिकारीहरूको संयुक्त बैठकले भक्तपुर नगरभित्र मेलम्चीको खानेपानी शीघ्र वितरण गर्ने निर्णय गरेको छ ।
  • भक्तपुर हस्तकला क्षेत्रमा स्थापना कालको उद्देश्यविपरीत अहिले ठुल्ठुला उद्योगहरू स्थापना गरी वातावरण प्रदूषण तथा ध्वनि प्रदूषणसमेत भइरहेको जनगुनासो सम्मान गर्दै उक्त औद्योगिक क्षेत्र स्थानान्तरणको लागि निरन्तर पहल गरिरहेका छौँ । त्यस क्षेत्रलाई स्थापनाको उद्देश्यअनुसार नै हस्तकलामा आधारित औद्योगिक केन्द्रकै रूपमा विकास गर्न हाम्रो पहल जारी छ ।
    चालू आ.व. २०७७/७८ का लागि नगरपालिकाले विनियोजन गरेको वार्षिक आय र व्ययको सङ्क्षिप्त समीक्षा प्रस्तुत गर्दछु ।

आयतर्फ :

  • यस नगरपालिकाको चालू आ.व.का लागि कुल बजेट १ अर्ब ८२ करोड ४० लाख हुने अनुमान गरिएको थियो । आयतर्फ बाह्य स्रोतबाट जम्मा १ अर्ब ३६ करोड १ लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७८ जेठ मसान्तसम्ममा जम्मा ७२ करोड १२ लाख ८१ हजार आम्दानी भयो । चालू आ.व.को असार मसान्तसम्ममा बाह्य स्रोतबाट १ अर्ब १३ करोड ५१ हजार आम्दानी हुने संशोधित अनुमान छ ।
    आन्तरिक स्रोततर्फ ४६ करोड ३९ लाख रुपैयाँँ आम्दानी हुने अनुमान गरिएकोमा चालू आ.व.मा २०७८ जेठ मसान्तसम्ममा आन्तरिकतर्फ १८ करोड ५९ लाख रुपैयाँँ आम्दानी भयो । कोभिड–१९ रोगको महामारीको कारण नेपाल सरकारले निषेधाज्ञा लागू गरेको कारण पर्यटकहरूको आवागमनमा प्रतिकूल प्रभाव प¥यो । पर्यटन शुल्कवापत १० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिए पनि चालू आ.व.को जेठ मसान्तसम्ममा ५२ लाख ४० हजारमात्र आम्दानी भयो ।
    चालू आ.व.को जेठ मसान्तसम्म नगरपालिकाको बाह्य तथा आन्तरिक स्रोतबाट कुल ९० करोड ७२ लाख आम्दानी भयो भने असार मसान्तसम्ममा १ अर्ब ३२ करोड ५० लाख आम्दानी हुने संशोधित अनुमान छ ।

व्ययतर्फ :
चालू अन्तर्गत :

  • चालू आ.ब. २०७७/७८ का लागि चालूतर्फ १ अर्ब २ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको थियो । नगरवासी ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चालू आ.व.मा २३ करोड बजेट विनियोजन भएकोमा वडा कार्यालयहरूमार्फत दुई किस्तामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जम्मा १४ करोड ५४ लाख ९२ हजार खर्च गरिएको छ ।
  • नगरपालिकाअन्तर्गत विभिन्न विषयगत समितिहरूका लागि चालू आ.व.मा ४ करोड ५४ लाख विनियोजन गरिएकोमा जेठ मसान्तसम्म ९० लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।
  • सशर्तअन्तर्गत ३३ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा कुल १९ करोड ३३ लाख २१ हजार खर्च भयो ।

पुँजीगत अन्तर्गत :

  • चालू आ.व. २०७७/७८ का लागि सम्पदा पुनः निर्माणतर्फ रु. ६ करोड ५ लाख विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ५ वटा आयोजनाहरू सम्पन्न भई रु. ३ करोड ६३ लाख खर्च भयो र १० वटा योजना हाल सञ्चालित छन् ।
    चालू आ.व.मा नगरस्तरीय विकास निर्माणका १० वटा योजनाहरूमा १५ करोड २५ लाख रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्ममा रु. १२ करोड ३७ लाख खर्च भएको छ ।
    चालू आ.व.मा वडास्तरीय योजनाको लागि दशवटै वडामा ५० लाखको दरले ५ करोड रुपैयाँ विनियोजन भएकोमा कोभिड महामारीको कारणले जेठ मसान्तसम्म रु. ३ करोडमात्र खर्च भएको छ ।
    सडक बोर्डअन्तर्गत दशवटै वडामा सडक मर्मतका लागि रु. १ करोड विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७८ लाख ४९ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा सबै योजना सम्पन्न भई शत प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
    यस हिसाबले चालू आ.व.मा पुँजीगततर्फ कुल रु. ७९ करोड ७३ लाख रुपैयाँमध्ये जेठ मसान्तसम्ममा यथार्थ खर्च २७ करोड ८८ लाख भयो । चालू आ.व.को असार मसान्तसम्ममा पुँजीगततर्फ रु. ३८ करोड १० लाख खर्च हुने संशोधित अनुमान छ ।
    भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधि बहाली भएको पाँचौँ आर्थिक वर्ष २०७८।७९ को बजेट पेश गर्दै गर्दा यस आर्थिक वर्षको बजेटमा कोरोना भाइरस (कोभिड – १९) रोगको महामारीको असर परेको छ । प्रतिकूल अवस्थाका कारण हामीले प्रक्षेपण गरेअनुरूप कर उठाउन नसकेको अवस्थामा हरेक क्षेत्रमा मितव्ययिता अपनाई यस आर्थिक वर्षको बजेट निर्माण गरेका छौँ । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ मार्गदर्शनको आधारशिला, चुनावी घोषणापत्र र नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रम र नगर सभासद्हरूबाट व्यक्त सुझावहरूका आधारमा नगरपालिकालाई उपलब्ध सीमित साधन तथा स्रोत र जनताको असीमित आकाङ्क्षा, आवश्यकताहरूलाई तादात्म्यता कायम गरी समाजवादी दर्शनबाट अभिप्रेरित भई बजेट विनियोजन गरेका छौँ ।
    यस सम्मानित नगरसभामा आथिक वर्ष २०७८/७९ को लागि भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमानसहितको बजेट पेश गर्ने अनुमति चाहन्छौँ ।

आयतर्फ :

  • नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी आ.व. २०७८/७९ को लागि रु. १ अर्ब ९३ करोड २० लाख आय अनुमान गरिएको छ ।
    बाह्य स्रोतबाट जम्मा १ अर्ब ४३ करोड ३४ लाख आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख अनुमान गरिएको छ भने सामाजिक सुरक्षा भत्ताबापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
    बाग्मती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा ७ करोड ७२ लाख हुने अनुमान गरिएको छ ।
    सङ्घ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करबापत राजस्व बाँडफाट र अन्यबाट १९ करोड २२ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
    आ.व. २०७८।०७९ का लागि नगरपालिकाबाट सञ्चालित देको – मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैयाँ बैङ्क ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
    त्यस्तै आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर दस्तुरबापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकहरूबाट उठ्ने रकमलगायतबाट कुल ४० करोड १० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण नगरवासीहरूको आर्थिक क्रियाकलापमा प्रतिकूल प्रभाव परेको हुँदा यो आर्थिक वर्षमा आन्तरिकतर्फ आयको स्रोत अनुमान गर्ने सन्दर्भमा नगरवासीहरूको राय सुझाव तथा स्थानीय राजस्व परामर्श समितिको सिफारिस समेतलाई आधार मानी जनतासँग प्रत्यक्ष सरोकार राख्ने शीर्षकहरूमा साविकको नै कायम राखिएको छ । अन्य केही आवश्यक करका शीर्षकहरूको दर तथा दायरामा संशोधन तथा थप प्रस्ताव गरिएको छ । करको दर पुनरावलोकन गर्दा नगरवासीहरूलाई कममात्र आर्थिक भार पर्ने गरी सहुलियत र छुट दिन सकिने कुराहरूलाई ध्यान दिइएको छ । कोभिड महामारीको कारण स्थानीय पर्यटन व्यवसायमा नकारात्मक असर परेकोले आ.व. २०७८।०७९ को सुरु ४ महिनाको व्यवसाय कर छुट दिने व्यवस्था गरेका छौँ ।

व्ययतर्फ :

  • २०७८ असार ९ गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमको आधारमा चालू र पुँजीगत खर्च गरी निम्न शीर्षकहरूमा रु. १ अर्ब ९३ करोड २० लाखको कुल बजेट विनियोजन गरिएको छ ।
  • चालूतर्फ खर्चका लागि ४० करोड ७२ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । सङ्घीय सरकारको तर्फबाट सशर्त चालू खर्चतर्फ विभिन्न शीर्षकमा ३४ करोड ८७ लाख, बाग्मती प्रदेश सरकारको तर्फबाट सशर्त रु. २८ लाख ४० हजार, सामाजिक सुरक्षा भत्तामा ३० करोड र विभिन्न समितिहरूको खर्च ४ करोड ३४ लाख विनियोजन गरिएको छ । यस हिसाबले कुल चालू खर्चका लागि रु. १ अर्ब १० करोड २२ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
  • आ.व. २०७८/७९ का लागि पुँजीगततर्फ रु. ८२ करोड ९७ लाख विनियोजन गरिएको छ ।
  • २५ शय्याको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन निर्माणाधीन छ । यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल’को रूपमा निर्माण गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै, ख्वप अस्पताल र स्वास्थ्य केन्द्रहरू सञ्चालन एवं व्यवस्थापनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
  • अपार जनसहयोगबाट निर्मित अक्सिजन प्लान्टबाट चिकित्सकको सल्लाह र परामर्शमा घरमै अक्सिजन थेरापीमार्फत स्वास्थ्यलाभ गरिरहनुहुने नगरवासीहरूलाई आगामी २०७९ असार मसान्तसम्म अक्सिजन निःशुल्क उपलब्ध गराइनेछ । अन्य नगरपालिका एवं अन्य जिल्लाका जनताको हकमा कार्यविधि बनाई अक्सिजन वितरण गरिनेछ ।
  • सम्पूर्ण नगरवासीहरूलाई कोभिड रोगको सङ्क्रमण न्यूनीकरणका लागि नेपाल सरकारबाट प्रदान गरिने कोरोनाविरुद्धको खोप दिने लक्ष्यसहित आवश्यक व्यवस्था गरिएको छ ।
  • नगरपालिकाद्वारा सञ्चालित देको – मिवा–इटापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको छ । आवास योजनामा जग्गा फिर्ताको क्रममा जनताका गुनासो लिने प्रक्रियाअनुसार गुनासाहरूको सम्बोधन गर्ने प्रक्रिया चलिरहेको छ । शीघ्र त्यसको सम्बोधन गरी अगाडि बढाइनेछ ।
  • भक्तपुर नगरपालिका वडा नं. १ स्थित ऐतिहासिक न्हु पुखु (रानी पोखरी) र जलेश्वर मन्दिरसहितको भाज्या पुखु पुनः निर्माण कार्य आ.व. २०७८।०७९ भित्र सम्पन्न गरी उपयोगमा ल्याइनेछ । यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै, सिद्ध पोखरीको उत्तरतिरको गुह्येश्वरी पाटी पुनः निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिम नगरवासी ज्येष्ठ नागरिकहरूलाई स्वस्थ वातावरणमा हेरचाह र संरक्षण गर्न आ.व. २०७८।०७९ मा भनपा वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन सञ्चालन गरिनेछ । यसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • भनपा २ स्थित सहिद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । भनपा १० स्थित बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न आ.व. २०७८।०७९ का लागि २ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ । भनपा वडा नं. ८ स्थित लिबाली कभर्ड हल निर्माण कार्यका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • नगर प्रवेश गर्ने पुलहरू जीर्णोद्धार एवं पुनः निर्माण कार्यलाई आ.व. २०७८।०७९ मा प्राथमिकतामा राखिएको छ । ब्रह्मायणी पुल, लिबाली र हनुमान्चास्थित लार्के पुल र राम मन्दिर पुल निर्माण तथा पुनः निर्माण कार्य अगाडि बढाइने छ । निर्माणाधीन बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरी २ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै हनुमानघाट पुल जीर्णोद्धार कार्य पनि यसै वर्ष अगाडि बढाइनेछ ।
  • आधुनिक प्रविधिसहित नगरको फोहरमैला व्यवस्थापन कार्यका लागि ३ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • नगरमा खानेपानी फिल्ट्रेसन, ट्याङ्की निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • परम्परागतरूपमा शवदाह हुँदै आएकोमा कम ऊर्जा खपतमा वातावरण प्रदूषणसमेत न्यूनीकरण हुने सुधारिएको शवदाह निर्माणको लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यससँगै विद्युतीय शवदाह गृह निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढाइने छ ।
  • नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
  • क्यान्सर, मुटु, मृगौला तथा मस्तिष्कघातजस्ता कडा तथा दीर्घरोग भएका नगरवासी बिरामीहरूलाई प्रतिव्यक्ति रु. १०,०००।– का दरले सहयोग गर्दै आएका छौँ । चालू आ.व. जेठ महिनाको मसान्तसम्ममा ११३ जनाले रु. ११,३०,०००।– (एघार लाख तीस हजार रुपैयाँँ) सहयोग रकम प्राप्त गरिसकेका छन् । आ.व. २०७८/७९ मा पाँच किसिमको दीर्घरोग क्यान्सर, मुटु, मृगौला तथा मस्तिष्कघात तथा स्पाइनल इन्ज्युरी भएका रोगीहरूलाई प्रतिव्यक्ति रु. १५,००० पु¥याएका छौँ ।
  • इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएकोमा यो वर्ष ती विषय लिई उच्च शिक्षा अध्ययनरत विद्यार्थीले कुल ५ लाख ६८ हजार रुपैयाँँ बराबर छात्रवृत्ति पाएका छन् । आ.व. २०७८/७९ मा पनि यसलाई निरन्तरता दिइनेछ ।
  • नगरवासी किसानहरूद्वारा उत्पादित वस्तुको सुरक्षा र व्यवस्थापनका लागि भनपा ८ लिबालीमा चिस्यान केन्द्र निर्माण गर्न तथा भनपा ५ मा तरकारी बजार निर्माण गर्न २ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • नगरपालिकाका कर्मचारीहरूको स्वास्थ्य उपचारको लागि १० लाख रुपैयाँको उपचार कोषको व्यवस्था गरिएको छ । उक्त कोष सञ्चालनको लागि छुट्टै कार्यविधि तयार गरिनेछ ।
  • नगरपालिकाबाट विगत वर्षदेखि सञ्चालित क्रमागत विकास योजनाहरू सम्पन्न गर्न २ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सङ्घीय तथा बाग्मती प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानका लागि छनोट गरिएका योजनाहरूका लागि ५ करोड ५८ लाख रुपैयाँ समावेश गरिएको छ । सम्पदा पुनः निर्माणअन्तर्गतका क्रमागत योजनाहरू सञ्चालनका लागि रु. ४ करोड ५ लाख विनियोजन गरिएको छ ।
  • यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनालाई प्राथमिकता क्रममा राखिएको छ । नगरपालिकाको आप्mनै स्रोतबाट सञ्चालन हुने र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक एवं विशेष अनुदानका योजना तथा प्रदेश पूर्वाधारका योजना सञ्चालन गर्न १६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • वडास्तरका योजनाहरू सञ्चालन गर्न विगत वर्षझैँ प्रतिवडा रु. ५० लाखको दरले जम्मा ५ करोड रुपैयाँ र सडक बोर्डअन्तर्गतका योजनाहरू सञ्चालन गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
  • चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययनरत नगरवासी विद्यार्थीका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोलाई यो वर्ष पनि निरन्तरता दिँदै यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै भक्तपुरको कला, वास्तुकला, संस्कृति, इतिहास, वातावरण, सरसफाइ, पर्यटनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशीपसँगै अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि अनुदान दिने र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपालभाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको लागि बजेटको व्यवस्था गरिएको छ ।
  • नगरभित्रका सामुदायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरूको कार्य मूल्याङ्कन गरी प्रतिव्यक्ति प्रतिमहिना रु.४०००।– का दरले थप पारिश्रमिक तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजाबापत अनुदान रकम नगरपालिकाको आप्mनै स्रोतबाट व्यहोर्ने बन्दोबस्त गरिएको छ ।
  • पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । यसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • खोला सुधार, पर्ती जग्गा संरक्षण तथा सीमाङ्कन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्यलगायतको लागि ४० लाख विनियोजन गरिएको छ ।
    यस हिसाबले कुल बजेटको चालू खर्चतर्फ ५७.०५ प्रतिशत र पुँजीगत खर्चतर्फ ४२.९४ प्रतिशत विनियोजन गरिएको छ ।
    नगरपालिकाले आ.व. २०७८÷७९ का लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका शीर्षकहरू देहायबमोजिम रहेको सम्मानित नगरसभामा जानकारी गराउँदछौँ ः
  • भक्तपुर नगरपालिकाले शिक्षालाई नगरकै आँखाको रूपमा लिएको छ र यो क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको यहाँहरूमा विदित्तै छ । तसर्थ, यो वर्ष शिक्षा तथा संस्कृति क्षेत्रमा ३१ करोड ५४ लाख रुपैयाँ (१६.३२ प्रतिशत) विनियोजन गरिएको छ ।
  • अहिलेको महामारीको विषम परिस्थितिमा भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि २६ करोड २१ लाख (१३.५६ प्रतिशत) विनियोजन गरिएको छ ।
  • भक्तपुर नगरपालिकाको पहिचान र देशको गहनाको रूपमा रहेको सम्पदाहरूलाई जोगाई नयाँ पुस्तामा हस्तान्तरण गर्नको लागि सम्पदा संरक्षणमा ५ करोड २९ लाख (२.७३ प्रतिशत) विनियोजन गरिएको छ ।
  • नगरमा नवनिर्माण तथा पुनःनिर्माणमा रु. ४० करोड (२०.७०) विनियोजन गरिएको छ ।
  • युनेस्कोले सन् १९९९ मा सरसफाइ र सम्पदा संरक्षण कार्यमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत भक्तपुर नगरपालिकालाई सम्मान गरेको थियो साथै ट्रान्सपरेनसी इन्टरनेसनलले २०५६ सालमा सदाचारको टापुबाट विभूषित गरेको थियो । यस गरिमालाई कायम राख्न भक्तपुर नपाले फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ७ करोड ८२ लाख (४.०४ प्रतिशत) विनियोजन गरिएको छ ।
  • समाजलाई सुदृढ ढङ्गले अगाडि बढाउन महिला, पुरुष एक अर्काका परिपूरक हुन् । त्यस्तै बालबालिका भनेका नगरका भविष्य हुन्, ज्येष्ठ नागरिक भनेका समाजका पथप्रदर्शक हुन् । त्यसैले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ३१ करोड १८ लाख रुपैयाँ (१६.१४ प्रतिशत) विनियोजन गरिएको छ ।
  • नगरका युवाहरू नगरको उज्ज्वल भविष्यका संवाहक हुन् । युवाहरूको वृत्ति विकास एवम् शारीरिक विकास हुनु अत्यन्त जरुरी छ । तसर्थ युवा तथा खेलकुदको क्षेत्रमा ४ करोड ७४ लाख रुपैयाँ (२.४५ प्रतिशत) विनियोजन गरिएको छ ।
  • कृषकहरूको बाहुल्यता भएको हाम्रो नगरमा उन्नत कृषि औजार एवम् बीउबिजनका लागि कृषि क्षेत्रमा २ करोड ९४ लाख रुपैयाँ (१.५२ प्रतिशत) छुट्याएका छौँ ।
  • नगरवासीहरूको भावनाअनुसार नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि रु. ४२ करोड ४६ लाख (२१.९८ प्रतिशत) विनियोजन गरिएको छ ।
    यस नगरपालिकाले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा सङ्घ र प्रदेश सरकारका कार्यक्रमहरूसँग दोहोरो नपर्ने गरी समन्वय गरी पारदर्शी एवम् जवाफदेही ढङ्गबाट कार्यान्वयनको व्यवस्था गर्नेछौँ । यस नगरपालिकामा काम गर्न इच्छुक सङ्घसंस्था तथा विकास साझेदारहरूबाट प्राप्त सहयोग रकमलाई नगरपालिकामार्फत नै एकद्वार प्रणालीबाट कार्यान्वयनको व्यवस्था मिलाइएको छ ।
    आ.व. २०७८।७९ का लागि यस नगरपालिकाको आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८, स्वीकृत योजनाहरू र कर दस्तुरको विस्तृत विवरण अनुसूचीहरूमा समावेश गरिएको छ ।
    अन्त्यमा, आ.व. २०७८।७९ का लागि यस नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा आप्mनो अमूल्य सुझाव दिनुहुने सम्पूर्ण नगरवासी, सङ्घसंस्था तथा कार्यालयहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ र प्रस्तुत बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि यहाँहरूको सदाझैँ निरन्तर सहयोगको अपेक्षा गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *