भर्खरै :

विश्वका मुलुक एकातिर अमेरिका अर्कोतिर

नेपालीमा एउटा उखान छ, चराको धोती हुँदैन, नकच्चरोको लाज हुँदैन । संरा अमेरिका लाजै नहुने देश बनेको छ । संसारकै सबभन्दा शक्तिशाली ठान्ने अमेरिकी राष्ट्र नायकको अभिमानी या अहङ्कारी नै आफ्नो परिचय बनेको छ । इज्जत, नैतिकता, चरित्रको कुनै ख्याल नगर्ने अमेरिकी प्रशासकहरू कम्युनिस्ट र समाजवादी देश भनेपछि देखिसहँदैनन् । दशकौँदेखि क्युवामा भइरहेको आर्थिक नाकाबन्दी अन्त्य गर्न संसारका १८४ देशले समर्थन गर्दा पनि अमेरिकी राष्ट्रपति बाइडेनले एकतर्फी निर्णय फिर्ता लिने सुर कसेका छैनन् । नाकाबन्दी फिर्ता नलिने दुई देश अमेरिका र इजरायलबाहेक अर्को छैन । यो हठ या अडान बेमनासिव सिद्ध भइसकेपछि पनि अमेरिकी राष्ट्रपति बाइडेन किन संसारसामु नामर्द, बदनामी र नालायक बन्दै छन् ?
क्युवामाथिको नाकाबन्दी संसारका सबैजसो देशले फिर्ता लिन आग्रह गरिरहँदा पनि अमेरिका किन बहिरो बन्दै छ ? संसारका मुलुक या राष्ट्रप्रमुखहरूले गरेको आग्रह स्वीकार्न बाइडेन किन पछि हटिरहेका हुन् ? समाजवादी या कम्युनिस्टको सरकार भनेर दशकौँदेखि क्युवामाथि आर्थिक नाकाबन्दी गर्नु के अत्याचार होइन ? संसारका मुलुकहरू एक ठाउँमा छन् । इजरायल र अमेरिकामात्रै अर्काे ठाउँ या कित्तामा कसरी बस्न सकेका हुन् ? यसले स्पष्ट हुन्छ, अमेरिका संसारमा एक्लो हुँदै छ । संसारको विधि र अनुशासनमा नबस्ने अलोकतान्त्रिक देशका अलोकप्रिय नायक बन्दै छन्, राष्ट्रपति बाइडेन । प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने, संसारका राष्ट्रप्रमुखहरूको अनुरोध र इच्छालाई सम्मान गर्ने राष्ट्रप्रमुख भइदिएका भए अमेरिकी प्रशासक यति क्रूर र निर्दयी हुँदैनथे ।
संसारका सबैजसो मुलुकले क्युवामाथिको नाकाबन्दी फिर्ता लिन आग्रह गरेपछि नैतिकताको आधारमा राष्ट्र प्रमुख बाइडेनले विलम्ब नगरी नाकाबन्दी फिर्ता लिनुपथ्र्यो । अमेरिकी मन्त्रिमण्डलको बैठक बसेर विलम्ब नगरी नाकाबन्दी फिर्ता लिएर विश्वका मुलुकहरूको निर्णय स्वीकार्नुपथ्र्यो । शक्तिशाली र सम्पन्न भएको आधारमा अमेरिका यति विश्वसामु बदनाम हुने या इज्जत जाने काम गर्नुहुँदैनथ्यो । यस मामिलामा संरा सङ्घले पनि अन्यायको विरोधमा बोल्नुपथ्र्यो र विश्वका मुलुकहरूको साथमा सहयोग गर्न जुट्नुपथ्र्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *