भर्खरै :

बजेट पारित गरेर भक्तपुर नपाको दसौँ नगरसभा सम्पन्न

भक्तपुर, १७ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दसौँ नगरसभा बिहीबार सम्पन्न भयो । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आ.व. २०७८÷७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि रु. १ अर्ब ९३ करोड २० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा कोभिड १९ ले असर पारेको विषम परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको थियो । बैठकले ख्वप अस्पतालमार्फत जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने जनताको सहयोगमा स्थापित अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन भक्तपुरका जनतालाई १ वर्षसम्म निःशुल्क र नगर बाहिरका लागि न्युनत्तम शुल्क लिएर वितरण गर्ने निर्णय गरेको छ ।
सभामार्फत नगर प्रमुख प्रजापतिले चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चीनका जनता र कम्युनिस्टहरूप्रति शुभकामना व्यक्त गर्नुभयो ।
संसारका राजनीतिक दलहरूको निम्ति समाजवादी देश चीन सफल उदाहरण बनिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले पश्चिमा राजनीतिक पार्टीको तुलनामा चिकपाको सदस्यताको ढाँचा, साङ्गठनिक संरचना, सञ्चालन विधि फरक भएको र संसारका सबै देशहरूसँग आपसी सम्बन्ध कायम र विकासमा सँगसँगै अगाडि बढ्न चीन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक पार्टी विचार र सिद्धान्तले ठुलो हुन्छ । नेपाल मजदुर किसान पार्टी आफ्नो सिद्धान्त र विचारमा अडिग भएकै कारण आज नेपाली जनताले मन पराएको पार्टीको रूपमा स्थापित छ ।”
आ.व. २०७८÷७९ को बजेटबारे सभासद्हरूद्वारा व्यक्त जिज्ञासामाथि प्रस्ट पार्दै नगर उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको बजेट विनियोजन नगरको आवश्यकताअनुरूप भएको बताउनुभयो । यसअघि बजेटसम्बन्धी छलफलमा सभासद्हरूले बजेटमा सुधार गर्न विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
सभाको विशेष समयमा सभासद्हरू इन्द्रबहादुर प्याठले बाल सेवक विद्यालय पायक पर्ने ठाउँमा स्थानान्तरण गर्नुपर्ने, गंगालक्ष्मी बमनुले सल्लाघारी क्षेत्रको दायाँबायाँमा वृक्षरोपण गर्नुपर्ने र ऐतिहासिक सम्पदाहरूको नामकरण पुरानै गर्नुपर्ने, पञ्चमाया दुवालले लिबाली आवास क्षेत्रको सबै सडकमा पीच कार्य सकाउनुपर्ने, शिवप्रसाद बालाले खानेपानी आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने र नयाँ पुल बनाउँदा पुराना पुललाई सम्पदाको रूपमा संरक्षण गर्नुपर्ने, कृष्णगोपाल चौगुठीले भनपा वडा नं. ३ स्थित तेखापुखु फल्चा पुनःनिर्माणको बजेट छुट्याउनुपर्ने र ज्ञानकुमार मगजुले नगरका वडाहरूको आकारअनुरूप बजेट विनियोजन हुनुपर्ने, वडा नंं. १० स्थित दिपङ्कर मन्दिर परिसरमा ढुङ्गा छपाइको लागि बजेट व्यवस्था गर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *