भर्खरै :

समाजवादकै कारण चीनको विकास सम्भव

भक्तपुर, १९ असार । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा शुक्रबार नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिले अनलाइन प्रवचन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको शताब्दीको लक्ष्य गरिबी उन्मूलन, अपमानबाट सदाको निम्ति मुक्ति, ३०० वस्तुमा संसारकै बढी उत्पादन, संरा अमेरिकाभन्दा १० लाख बढी बर्सेनि १ करोड ८० लाख कार उत्पादन र संसारकै दोस्रो ठूलो अर्थतन्त्रलगायत उपलब्धि हासिल गरेको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको दोस्रो शताव्दीमा आधुनिक महान् समाजवादी देश बनाउने लक्ष्य प्राप्त गर्ने तय गरेको बताउँदै सचिव सुवालले समाजवादले मात्र चीनको विकास र रक्षा हुनेमा चिनियाँ जनता विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले चीनको अभिन्न अङ्ग थाइवानलाई पुनःएकीकरण गर्ने दायित्व बनाएको उल्लेख गर्दै संरा अमेरिकाले चीनविरुद्ध हमला गरे चीनको शक्तिशाली प्रतिरोधको सामना गर्नुपर्ने र पराजय भोग्नुपर्ने अवस्था आउने बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चीनका राष्ट्रपति सि चिन फिङलाई शुभकामना सन्देश पठाउनुभएको उल्लेख गर्दै चीनको विकास र प्रगतिबाट सिक्नु जरुरी रहेको बताउनुभयो ।
पार्टीका कार्यकर्ताहरूले आफ्नो सांस्कृतिक स्तर उठाएर जनसेवामा समर्पित हुन पार्टी प्रकाशनहरू अध्ययन गरी अन्तरक्रिया, गोष्ठी, प्रवचन तथा छलफल कार्यक्रमहरू सञ्चालन गरिरहनु जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक समाज नेपालका सुजन माकले चीनले १०० वर्षको समारोह गर्दै गर्दा समाजवादी चीनका असल मित्र पश्चिमाहरूद्वारा चीनप्रतिको दुराशयलाई उदाङ्ग्याउने एडगर स्नो, जर्ज हातेम, हान्स मूलर, इजरायल इष्टिनलगायतलाई सम्झना गरेको उल्लेख गर्नुभयो ।
पुँजीवादको उदयसँगै केही सीमित व्यक्तिहरूसँग सम्पत्ति थुप्रिँदै गई सन्सारमा धनी र गरिबबीचको खाडल पनि बढ्दै गएको उल्लेख गर्दै उहाँले ‘विदेशी मित्रहरूको अनुभव र चिकपाको सफलता’ बारे प्रस्तुति गर्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका सहसंयोजक केशवप्रसाद तिमिल्सेनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा घनश्याम खड्काले पनि चीनको प्रगतिबारे विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *