सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
एउटा स्थानीय तहले के के गर्नसक्छ र के के गर्नुपर्छ ? नेपालको संविधानलाई आधार बनाएर यी प्रश्नबारे धेरै थरी विचार र कार्यक्रममाथि छलफल गर्न सकिन्छ । स्थानीय तह सञ्चालनको सन्दर्भमा भक्तपुर नगरपालिकालाई नमुनाको रूपमा देशका विभिन्न सञ्चारमाध्यमले चर्चा गर्ने गरेका छन् । त्यसैकारण देशैभरिका स्थानीय तहका प्रतिनिधिहरू भक्तपुर नपाले गरिरहेका गतिविधिबारे जानकारी लिन भक्तपुर आइरहेका हुन्छन् । निःसन्देह सबै स्थानीय तहका आ–आफ्ना विशिष्टता हुन्छन् । कुनै पनि स्थानीय तहले अर्को स्थानीय तहको अन्धानुकरण गर्नु गलत हो, बरु आपसमा सिक्ने–सिकाउने प्रक्रिया भने आवश्यक छ ।
भक्तपुर नगरपालिकाले २०५० सालबाटै थालेका केही सिक्न लायक कदममध्ये एउटा कदम हो– शिशु स्याहार केन्द्रहरूको स्थापना । विद्यालय जाने उमेर नपुगेका शिशुलाई दिवा स्याहारको निम्ति नगरपालिकाले स्थापना गरेका ६ वटा शिशु स्याहार केन्द्र अहिले पनि सुचारु छन् । शिशु स्याहार केन्द्रमा साना नानीबाबुको स्याहार गर्ने व्यवस्थाले आमाहरू उत्पादनमूलक काममा लाग्न सक्ने भएका छन् । यसले परिवारको आर्थिक अवस्थामा टेवा पुग्ने र आमाहरूसँग भएको योग्यताको पनि उपयोग भइरहेको छ ।
साना नानीबाबुहरूलाई तालिम प्राप्त शिक्षिकाहरूबाट केन्द्रमा विभिन्न रचनात्मक गतिविधिमा संलग्न गर्दा बालबालिकाको बौद्धिक र शारीरिक क्षमता पनि वृद्धि हुने गर्छ । हिजोआज प्रायः घर परिवारमा एकै जना नानीबाबु हुने गर्छ । एक्लै हुर्केको शिशुलाई सामाजिक बन्न निकै कठिन हुने गर्छ । शिशु स्याहार केन्द्रले सानै उमेरदेखि नै बालबालिकालाई सामाजिक बन्न मद्दत गर्छ, सामाजिक भावना सिकाउँछ ।
विगतमा साँघुरा स्थानमा सञ्चालनमा रहेका शिशु स्याहार केन्द्र आजभोलि फराकिलो र घाम–हावा छिर्ने स्थानमा सञ्चालन गरिएको छ । दशकौँ लामो अनुभवले शिक्षिकाहरू पनि शिशुहरूसँग रम्न र हुर्काउन अनुभवी बनेका छन् । निःसन्देह समयअनुसार सान्दर्भिक तालिम र पुनर्ताजगी कार्यक्रमले उनीहरू अझ बढी सिपालु हुन मद्दत गर्नेछ । तर, फूलजस्ता स–साना नानीबाबुहरूलाई आफ्नो ममतामा डुबाएर हुर्काउने ती शिक्षिकाहरू आदरयोग्य छन् । उनीहरूका काम सम्मानयोग्य छ । समाजको भविष्यलाई हुर्काउने गहन जिम्मेवारी बोकेका आमाहरूलाई अझ बढी रचनात्मक र उत्साहित गर्नुपर्छ । भक्तपुर नपाले आइतबार शिशु स्याहारका शिक्षिकाहरूलाई मादल बजाउने तालिम सुरु गरेको छ । यो सामान्य कार्यक्रमजस्तो देखिए तापनि यसले समाजलाई कुनै न कुनै हिसाबले सुन्दर बनाउन योगदान गर्नेछ । शिशु स्याहार केन्द्रलाई अझ आकर्षण र बालमैत्री बनाउन शैक्षिक सामग्रीको अझ धेरै उपलब्धता आवश्यक छ । बालमनोविज्ञहरूसँग बारम्बार परामर्श गरेर शिशु स्याहारलाई बालबालिकाको निम्ति आकर्षक थलो बनाउन जरुरी छ ।
बालबालिका नै समाजको भविष्य हो । आजका बालबालिकाका दिनहरू सुन्दर बनाउन सके भोलिको समाज अझ सुन्दर हुनेछ । समाजवादी देश प्रजग कोरियामा भविष्यका कर्णाधार बालबालिकाको लागि ‘बालबालिकाको दरबार’ नै रहेको सञ्चारमाध्यममा चर्चा हुने गर्छ । प्रजग कोरियाली बालबालिकाले सङ्गीत, नृत्य, कलामा देखाउने प्रतिभा संसारलाई नै चकित बनाउने खालको छ । हामीले राम्रै कुराबाट सिक्न जरुरी छ । भक्तपुर नपाले सञ्चालन गरिरहेका शिशु स्याहार केन्द्रहरूमा पक्कै पनि सुधार्नपर्ने पक्ष धेरै होलान् । सुधार नियमित प्रक्रिया हो । तर, समाजलाई सुन्दर बनाउने मूल ध्येयबाट सञ्चालनमा रहेका ती केन्द्रहरूलाई अझ व्यवस्थित बनाउँदै लानुपर्छ । भक्तपुर नपाबाट अन्य स्थानीय तहले सिक्न सक्ने धेरै कुरामध्ये शिशु स्याहार केन्द्रहरूको सञ्चालन पनि हो । देशैभरिका स्थानीय तहले शिशु स्याहार केन्द्रहरू सञ्चालन गरे देशको भविष्य निर्माणले ठुलो फड्को मार्नेछ ।
Leave a Reply