काठमाडौँ, २२ असार । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको आयोजनामा चिकपा र संसारका राजनीतिक पार्टीहरूबीच अनलाइन शिखर सम्मेलन भयो ।
मङ्गलबार साँझ ६ः१५ बजेबाट सुरु भएको शिखर सम्मेलनमा १६० देशका पाँच सत्र्न्दा बढी राजनीतिक पार्टी र राजनीतिक सङ्गठनका १० हजारभन्दा बढी प्रतिनिधिहरूले अनलाइनमार्फत सहभागिता जनाएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले मुख्य विषय प्रस्तुत गर्नुभएको सो सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) पनि सहभागी हुनुहुन्थ्यो ।
आफ्नो सम्बोधनमा महासचिव सी चिनफिङले सम्मेलनमार्फत विश्वका जनताको समृद्धिका लागि संसारका सबै राजनीतिक दलहरूबीच सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणविरुद्धको सङ्घर्षको क्रममा विश्व मानवतावाद नै सर्वोपरि रहेको पुष्टि भएको उहाँले बताउनुभयो ।
विश्वका विभिन्न देशमा विकास भएका मानव सभ्यताका मूल्यमान्यताको सम्मान गर्दै उहाँले विश्व शान्ति, विकास र स्वतन्त्रताका लागि आपसी समझदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय सम्मेलनबाट चीनमा गरिबी निवारणको लागि अभियान सञ्चालन भएको र सन् २०२१ सम्ममा चीनलाई मध्यमस्तरको देशमा विकास गर्न सफल भएको उल्लेख गर्दै राष्ट्रपति सीले विश्वका अति कम विकसित देशका जनताको जीवनस्तर उकास्न सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा प्रमुख वक्ताको रूपमा चिकपाका महासचिव सी चिनफिङ
उहाँले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा हरेक देशको राजनीतिक स्थायित्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र सबै राजनीतिक दलहरूले विश्व शान्ति र विकासका लागि जिम्मेवारीबोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रपति सीले विकसित देशहरूले बिनाभेदभाव अति कम विकसित तथा विकासशील देशहरूमा खोपको सहज उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा समाजवादी देश क्युवाका राष्ट्रपति मिगुयलले चिनियाँ कम्युनिस्ट पार्टी र क्युवाली कम्युनिस्ट पार्टीबीच लामो समयदेखि नै आपसी समानता, भ्रातृत्व, समाजवादप्रतिको ऐक्यबद्धता र आपसी राजनैतिक विश्वासको आधारमा द्विपक्षीय सम्बन्ध विकास भएको बताउनुभयो ।
न्याय, समानता, सार्वभौमसत्ता मानवीय जिम्मेवारीबोध नै दुई देशबीच मित्रताको आधार भएको चर्चा गर्दै राष्ट्रपति मिगुयलले जोसे पार्टी, माक्र्सवाद र लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मानी क्युवामा समाजवादको झन्डा फहराइरहेको प्रस्ट पार्नुभयो ।
६० वर्षभन्दा लामो समयदेखि क्युवामा संरा अमेरिकाले अमानवीय तथा अपराधिक आर्थिक नाकाबन्दी लगाएको विरुद्ध विश्वका न्यायप्रेमी जनताले ऐक्यबद्धता जनाएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
नाकाबन्दीको प्रतिकूल परिस्थितिमा समेत क्युवाली सरकारले विश्व महामारीको रूपमा फैलिएको कोभिड – १९ विरुद्ध अग्रमोर्चामा रही चिकित्सा लडाइँ लडिरहेको उल्लेख गर्दै राष्ट्रपति मिगुयलले भन्नुभयो, “हामी आफ्नै स्रोत साधनको उपयोग गर्दै चिकित्सा क्षेत्रमा लामो अनुसन्धानपश्चात् कोभिडविरुद्ध ५ वटा खोप आविष्कार ग¥र्यौँ । सम्पूर्ण क्युवाली जनतालाई कोभिडविरुद्ध आफ्नै खोप लगाइसक्यौँ र हाम्रो २५ सत्र्न्दा बढी चिकित्साकर्मीहरू विभिन्न देशमा कोभिड सङ्क्रमितहरूको उपचारमा अहोरात्र खटे ।”
राष्ट्रपति मिगुयलले समाजवादी देश क्युवा एक चीन नीतिप्रति निरन्तर ऐक्यबद्धता प्रकट गर्दै आएको र जनवादी गणतन्त्र चीनले पनि क्युवामाथि संरा अमेरिकी आर्थिक नाकाबन्दीविरुद्ध ऐक्यबद्धता प्रकट गर्दै आएको स्मरण गर्नुभयो ।
दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका अध्यक्ष सिरिल रामाफोसाले चीन, अफ्रिकी जनताका असल तथा उदार मित्र भएको उल्लेख गर्दै अफ्रिकाको आर्थिक विकास र शान्ति स्थापनाका लागि चीनले निरन्तर सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
रुसका दिमित्री मेदभेदेभले चीन र रुसबीचको ऐतिहासिक मित्रताबारे चर्चा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले सूचना प्रविधिमा गरेको विकासको प्रशंसा गर्नुभयो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीन र पाकिस्तानबीच ७० वर्ष लामो गौरवपूर्ण मित्रता रहेको चर्चा गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र क्रान्तिकारी चिनियाँ जनताको वीरतापूर्ण सङ्घर्षले विश्वबाट उपनिवेशवादको हार भएको स्पष्ट पार्नुभयो । उहाँले महान नेता माओ त्से तुङको नेतृत्वमा चिनियाँ जनताले आत्मसम्मान र पूर्ण नागरिक अधिकार हासिल गरेको बताउनुभयो ।
भियतनामका प्रधानमन्त्री न्युगेन फु ट्रोङले कोभिड महामारीको प्रतिकूल समयमा रोगविरुद्धको प्रतिरक्षा प्रणाली बलियो बनाउनु नै रोगको सबभन्दा ठुलो औषधि भएको बताउनुभयो । उहाँले वायु प्रदूषण, आतङ्कवाद र महामारीविरुद्ध संसारका सबै न्यायप्रेमी जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
शिखर सम्मेलनमा अर्जेन्टिनाका राष्ट्रपति अलबर्टो फर्नान्देजले अर्जेन्टिनाली कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष र चिनियाँ कम्युनिस्ट पार्टीसँगको मित्रताको ४९ औँ वर्षगाँठ मनाइरहँदा अर्जेन्टिनामा ग्यास पाइपलाइन निर्माणमा चिनियाँ सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

सम्मेलनमा नेमकिपाका तर्फबाट सहभागीहरू
कजाखस्तान, फिलिपिन्स, प्यालेस्टाइन, सर्विया, कम्बोडिया, मोजाम्बिक, नामिबिया, कङ्गोका राष्ट्रप्रमुख तथा पार्टी प्रमुखहरूले एकधु्रवीय विश्वविरुद्ध विश्व शान्ति र भ्रातृत्वका लागि चीनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्दै बहुध्रुवीय समाज निर्माणमा चिनियाँ कम्युनिस्ट पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले जनवादी गणतन्त्र चीनसँग श्रीलङ्काले कूटनीतिक सम्बन्ध स्थापना गरेको ६४ वर्ष भएको स्मरण गर्दै श्रीलङ्काको पूर्वाधार विकास एवम् कोभिड महामारीको समयमा खोप उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिबीको रेखामुनि रहेको १७ करोड ७० लाख चिनियाँ जनताको जीवनस्तर माथि उकास्न सफल भएकोमा प्रशंसा गर्नुभयो । उहाँले चीनले प्रस्ताव गरेको एक क्षेत्र एक मार्ग अगुवाइले विभिन्न देशको आर्थिक सामाजिक विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
‘जनताको हित गर्न राजनीतिक पार्टीहरूको जिम्मेवारी’ मूल नारासहित भएको शिखर सम्मेलनमा मोरोक्को, दक्षिण सुडान, समाजवादी अन्तर्राष्ट्रिय संस्था, स्पेन, चीनले अगाडि सारेको एक क्षेत्र एक मार्ग अगुवाइले एसिया, युरोप र ल्याटिन अमेरिकाका देशहरूको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
शिखर सम्मेलनमा नेपालको तर्फबाट नेपाल मजदुर किसान पार्टीसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), जनता समाजवादी पार्टी र राप्रपाका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए ।
शिखर सम्मेलनमा प्रस्तुत प्रस्तावलाई सहभागी ५०२ राजनीतिक दलहरूले सहमति प्रदान गरेको घोषणा गरियो ।
Leave a Reply