आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
बुटवल । कोभिसिल्ड खोपको दोस्रो मात्रा नपाएर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू छटपटाइरहेका बेला लुम्बिनी प्रदेशका शासक दलहरू भने मुख्यमन्त्री अल्पमतमा परेको र बहुमत कायम रहेको भन्ने जुहारीमा मस्त छन् ।
अविश्वासको प्रस्ताव छलेर वैशाख १९ गते एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्री नियुक्त भएका शङ्कर पोखरेलमाथि सोही दिनदेखि नै अल्पमतमा रहेर पनि असंवैधानिकरूपमा मुख्यमन्त्री बनेको विपक्षी दलहरूको आरोप छ । प्रदेशसभामा ८१ सदस्य हुँदा एकल बहुमत दाबी गरेको एमालेका दुई सांसदले राजीनामा दिइसकेका छन् भने एक जना नेकपाबाट निर्वाचित सांसदले माओवादी रोजिसकेकी छिन् । अदालतबाट पुनः बहाली भएका जसपाका चार सांसदले समर्थन कायम राखेको अवस्थामा मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन गर्दै संसदीय गणितमा बहुमत गुमेमा एक मिनेट पनि पदमा नरहने धक्कु लगाएका थिए । तर, शुक्रबार पोखरेल सरकारको जसपाका चार मन्त्रीमध्ये एक सुमन शर्मा रायमाझीले राजीनामा दिएको खबर बाहिरिएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको र बहुमतमै रहेको दोहोरी चलेको हो ।
मुख्यमन्त्री पदकै निम्ति लुम्बिनी प्रदेशका शासक दलहरू हानथाप गरिरहेका बेला यहाँका ज्येष्ठ नागरिकहरू भने दोस्रो मात्राको खोप नपाएर चिन्तित छन् । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूले कोरोनाविरुद्ध भारतीय कोभिसिल्ड खोप लगाएको चार महिना नाघिसकेको छ । दुई महिनामा दोस्रो मात्राको खोप लगाउनुपर्नेमा अहिलेसम्म ज्येष्ठ नागरिकहरूले लगाउने उक्त खोपको अत्तोपत्तो छैन । भैरहवाका प्रसिद्ध गजलकार तथा ज्येष्ठ नागरिक बुँद राना विज्ञहरूबाट जवाफको अपेक्षा राख्दै प्रश्न गर्छन्, “दुई महिनाभित्र लगाइसक्नुपर्ने दोस्रो खोप, चार महिना बित्न लाग्दा पनि खोपको अत्तोपत्तो छैन । ६५ वर्ष नाघेका वृद्धवृद्धाको ज्यानसँग खेलबाड भयो कि भएन ?”
जनताको स्वास्थ्यजस्तो गम्भीर विषयमा प्रदेश सरकार, प्रदेशसभामा रहेका दलहरू र सङ्घीय सरकारसमेत जिम्मेवार देखिँदैनन् । नेपालबाट पैसा लिएर भारतले खोप नपठाए पनि सरकार र शासक दलहरूले भारतीय दादागिरीको विरोध र खोपको वैकल्पिक व्यवस्था गर्न
सकेका छैनन् । ज्येष्ठ नागरिकहरू मानसिक तनावमा छन् । वरिष्ठ गजलकार बुँद रानाको अर्को आक्रोशपूर्ण प्रश्न छ, “तेह्र लाख ज्येष्ठ नागरिकको ज्यानसँग खेलबाड गर्न संविधानको कुन धाराले छुट दिन्छ ? छुट छैन भने यस्तो अपराध गर्नेहरूलाई सजाय दिनुपर्ने होइन र ?” प्रसिद्ध गजलकार बुँद रानालगायत ज्येष्ठ नागरिकहरूको चिन्ता, भय र आक्रोश सामाजिक सञ्जाललगायत मञ्चहरूमा अभिव्यक्त हुँदा पनि शासक दलहरू स्वास्थ्य समस्या समाधान गर्न ध्यान नदिई प्रधानमन्त्री र मुख्यमन्त्रीको कुर्सीको लागि झगडामा लिप्त हुनु देश र जनताको लागि सुखद लक्षण होइन ।
Leave a Reply