भर्खरै :

कोभिड–१९ महामारीः विज्ञान बलियो कि राजनीति !

‘तपाईँलाई सञ्चो नभए तपाईँले कसको सल्लाह लिनुपर्छ ?’ तपाईँले यो प्रश्न एक जना पाँच वर्षको बालकलाई सोध्नुभए उसले भन्ने जवाफ हुनेछः चिकित्सक ।
तर, केही पश्चिमा देशहरूमा राजनीतिक नेताहरू विज्ञानलाई ‘राजनीतिकरूपमा सही’ बनाउन दिलोज्यानले लागिरहेका छन् । अनि वैज्ञानिकहरूलाई सत्य बोलेवापत कोपभाजनमा पारिरहेका छन् ।
कोभिड–१९ भाइरस उहानको कुनै प्रयोगशालाबाट चुहिएको भन्ने सिद्धान्तप्रति पटक पटक असहमति जनाउँदै आएका अस्टे«लियाका भाइरोलोजिस्ट डानिएल एन्डरसनले आफ्नो इमानदारिताको मूल्य चुकाउनुप¥यो ।
उनले धेरै अपमानजनक इमेलहरू पाइन् । उदाहरणको लागि एउटा इमेलमा लेखिएको छ–‘चमेरो खाऊ अनि मर ।’ उनीमाथि ‘हतियार बनाइएको कोभिडबारे परियोजना चलाइरहेकी महिला’ को बिल्ला पनि लाग्यो । उनीमाथिको आक्रमण यस्तो चर्को थियो कि अन्ततः उनले प्रहरीलाई गुहारिन् ।
चमेरोबाट जन्मिने भाइरसबारे एन्डरसनसँग विस्तृत अनुभव छ । उहानको इन्स्टिच्युट अफ भाइरोलोजीको उच्च सुरक्षायुक्त जैविक सुरक्षा चौथौ तह (बीएसएल–४) मा काम गर्ने उनी एकमात्र विदेशी वैज्ञानिक हुन् । एन्डरसनको भनाइमा भाइरसको प्राकृतिक उत्पत्ति हुन्छ । “मैले बितेका दुई वर्षमा पटक पटक त्यही (उहान) को प्रयोगशालामा काम गरेकी छु । त्यहाँ काम गर्दा पालना गर्नुपर्ने कडा नियम र त्यहाँका कडा व्यवस्था मैले अनुभव गरेकी छु । उहान इन्स्टिच्युट अफ भाइरोलोजीका काम गर्नेहरू सक्षम र मिहिनेती छन् । अनि त्यहाँका वैज्ञानिकहरू पनि एकसेएक अनुभव प्राप्त गरेका उत्कृष्ट जनशक्ति हुन् ।”, हालै सिड्नी मर्निङ हेराल्डमा दिएको अन्तर्वार्तामा उनले भनिन् ।
यस्तो समय भोग्ने एन्डरसन एक्ली वैज्ञानिक भने होइनन् ।
विकासक्रमका जैविक वैज्ञानिक तथा सिड्नी विश्वविद्यालयका प्राध्यापक एड्वार्ड होम्सले पनि ‘षड्यन्त्र सिद्धान्तका पक्षपातीहरूबाट अनलाइनमाध्यमबाट भइरहेका अपमानपूर्ण व्यवहार र मार्ने धम्कीको सामना गरिरहेको गत अक्टोबरमा सिड्नी मर्निङ हेराल्डमा समाचार लेखिएको थियो ।
“कोभिड–१९ भाइरस उहानको प्रयोगशालामा कसैले बनाएको वा त्यहाँबाट चुहिएको भन्ने षड्यन्त्र सिद्धान्तको आलोचना गर्दै नेचर मेडिसिन नामको पत्रिकामा एउटा लेखमा सहलेखन गरेपछि प्राध्यापक होम्स लगातार अनलाइन हमलाको शिकार बनेका छन्”, समाचारमा लेखिएको छ । उनलाई चीनको पैसा खाएको र ‘आम हत्यारा’ को आरोप लगाइयो । प्रयोगशालाबाट भाइरस चुहिएको सिद्धान्तलाई समर्थन नगर्दा उनीमाथि यस्तो आरोप लागेको थियो ।
संरा अमेरिकाको एलर्जी एवम् सङ्क्रामक रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक र अमेरिकी राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकार अमेरिकी प्रतिरक्षा क्षमताविज्ञ एन्थोनी फाउसी पनि यस्तो कोपभाजनमा परेका थिए । भाइरस उहानको प्रयोगशालाबाट होइन, कुनै जङ्गली जनावरबाट उत्पत्ति भएको हुन सक्ने उनको विचारलाई लिएर उनको चर्को आलोचनामात्र भएन बरु राजीनामाको माग पनि भयो ।
संरा अमेरिकी हाउस रिपब्लिकन कन्फरेन्सका अध्यक्ष इलिस स्टेनफानिकले ‘फाउसीलाई हटाऊ’ शीर्षकमा हालै चन्दा सङ्कलनको लागि इमेल पठाएका थ्एि । सिनेटरहरू रान्ड पाउल र जोश हाउलीले डा.फाउसीको राजीनामा मागेका थिए ।
एउटा टेलिफोन अन्तर्वार्तामा एक जना अस्टे«लियाली वैज्ञानिकले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा कोरोना भाइरसको उत्पत्तिको खोजमा विज्ञान र सत्त्र्न्दा अघि राजनीति सक्रिय भएकोमा सहमति जनाए । यदि एक जना वैज्ञानिकले चीनविरुद्धको ‘राजनीतिक रूपमा सही’ बदनाम अभियानलाई पछ्याउनुको सट्टा सत्य बोल्न खोजे उसलाई चिनियाँ कम्युनिस्ट पार्टीको कठपुतलीको बिल्ला लगाउने गरिएको छ ।
त्यही कारण संसारभरका वैज्ञानिकहरू निकै ठुलो दबाबमा छन् । अनि केही वैज्ञानिकहरू त चुप लाग्नु उचित होला भनी मौन बस्न थालेका छन् । जसले जनमत बनाउन राजनीतिक मुद्दा र पूर्वाग्रही समाचारलाई अझ बलियो बनाएको छ ।
राजनीतिक लक्ष्य पूरा गर्न विज्ञानलाई तोडमोड गर्नुले जनस्वास्थ्य सङ्कटलाई अझ गहिरो बनाउने छ । विशेषतः कोभिड–१९ को कारण संसारभरमा ४० लाख मानिसले ज्यान गुमाइसकेको गम्भीर अवस्थामा यो कुरा सत्य हो । महामारीलाई राजनीतिक लाभको खेल बनाए अझ धेरै मानिसको जीवन जाने खतरा छ ।
कोभिड–१९ कुनै राजनीतिक मुद्दा होइन । तसर्थ, त्यसको प्रतिरोधमा राजनीति आउनुहुन्न । सत्य बोल्ने वैज्ञानिकहरूलाई कोपभाजनमा पार्नु बर्बर काम हो । जसले मानिसलाई फेरि पनि अन्योल र अज्ञानताको युगमा धकेल्ने जोखिम हुन्छ ।
अनुसन्धान स्वभावतः कष्टप्रद र लामो समय खर्चिने प्रक्रिया हो । कोभिड–१९ को उत्पत्तिको अनुसन्धानले अझ धेरै वर्ष लिन सक्छ । वैज्ञानिकहरूले सार्स महामारीको उत्पत्ति पहिल्याउन थालेको अनुसन्धान १३ वर्ष बितिसकेको छ । अझै टुङ्गो लाग्न सकेको छैन । संसारभर एचआईभी फैलिएर लाखौँ मानिसको निधन भइसकेको बीस वर्षपछि अनुसन्धानकर्ताहरूले मानिसमा हुने एड्सको निम्ति प्रमुख जिम्मेवार एचआइभी–१ भाइरसको उत्पत्ति जङ्गली चिम्पान्जीबाट भएको पत्ता लगाइयो । तर, अझै पनि नसुल्झिएका प्रश्न बाँकी नै छन् । इबोलाको उत्पत्ति कहाँबाट भयो भन्ने कुराको अझै टुङ्गो लागेको छैन । यो रोग भने संसारमा सन् १९७० को दसकदेखि नै फैलिन थालेको हो ।
सरुवा रोग सम्बन्धित जेलिएका प्रश्नको समाधान गर्न वैज्ञानिकहरूलाई उत्तम र मैत्रीपूर्ण वातावरण दिइनुपर्छ । राजनीतिलाई होइन, विज्ञानलाई यो शताब्दीकै सबभन्दा ठुलो महामारीविरुद्ध मानिसको लडाइँमा काम गर्न दिऔँ ।
स्रोत : सिन्ह्वा
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *