ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
क्यारिबियाली टापु देश हाइटीमा भएको राष्ट्रपतिको हत्या उक्त देशमा पुनः अमेरिकी सेना बोलाउने चाल हुनसक्ने विश्लेषण ल्याटिन अमेरिकाका जनपक्षीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
हाइटीका राष्ट्रपति जोभनेल मोइजको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित निजी निवासमा जुलाई ७ को बिहानको १ बजे हतियारधारीहरूको राइफलको गोलीबाट भएको थियो । ५३ वर्षका मोइज सन् २०१७ देखि अमेरिकाको सबैभन्दा गरिबमध्येको देश हाइटीका राष्ट्रपति थिए ।
राष्ट्रपति मोइजको हत्या भएको दुई दिनपछि नै त्यहाँका कार्यवाहक प्रधानमन्त्री क्लाउडे जोसेफको नेतृत्वमा रहेको सरकारले संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घसित आफ्नो देशको बन्दरगाह र विमानस्थललगायत रणनीतिक महत्वका स्थलहरूको रक्षा गर्न सैनिक सहायताका लागि अनुरोध पत्र पठाएको हो । क्लाउडेले देशमा मार्शल ल लागू गर्दै देश आफ्नो सरकारको नियन्त्रणमा रहेको घोषणा गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घले उक्त अनुरोधको तत्काल कुनै प्रतिक्रिया र जवाफ दिएको छैन भने संरा अमेरिकाले सङ्कटग्रस्त क्यारिबियाली देशमा तत्काल सैनिक नपठाएपनि एफबीआईका विशेषज्ञ एजेन्टहरू र सैनिक सल्लाहकारहरू पठाउने बताइसकेको छ । अमेरिकी राज्य विभाग र रक्षा मन्त्रालय–पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहायता’ पठाउने निश्चित भएको जनाएको छ ।
जनवरी १, १८०४ मा स्वाधीन राष्ट्र घोषणा भएको हाइटीलाई १९१५ देखि १९३४ सम्म अमेरिकी जलसेनाले नियन्त्रणमा लिएको थियो भने १९९४ मा वामपन्थी राष्ट्रपति जीन बट्र्रान्ट एरिस्टाइडको सरकारविरूद्धको सैनिक विद्रोहलाई सहायता गर्न २० हजार अमेरिकी सेना हाइटीमा उतारिएको थियो र १० वर्षसम्म त्यहाँ रहेको थियो ।
हुन त बुधबार भएको हत्याको जिम्मेवार र कारण अझै प्रस्ट भइसकेको छैन । आरोपित हमलाकारीहरू उनको निवासमा कसरी प्रवेश गरे भन्ने कैयौँ प्रश्न उठेका छन् । मोइजका सुरक्षागार्डहरूलाई आगामी हप्ता यसबारेमा अदालतमा प्रश्न गरिँदै छ ।
हाइटीको प्रहरीले अधिकांश भाडाका हमलाकारी कोलम्बियाका नागरिक रहेको र दुई जना संयुक्त अमेरिकी नागरिकता भएका व्यक्ति रहेको जनाएको छ । आक्रमणकारीका रूपमा आरोपितमध्ये १७ जनालाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट पक्राउ गरिएको थियो भने तीनजना सन्दिग्ध हमलाकारीको प्रहरीसँगको भिडन्तमा मारिएको र आठ जना अझै फरार रहेको बताइएको छ ।
आक्रमणमा संलग्नमध्ये १७ जना पूर्व कोलम्बियाली सैनिक भएको खुलासा भएको छ । कोलम्बियाको सरकारले हाइटीलाई उसको अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताएको छ । तर, कोलम्बियाका दक्षिणपन्थी राष्ट्रपति इभान डयुकले हाइटीका राष्ट्रवादी राष्ट्रपति मोइजको हत्या गर्न हत्यारा दस्ता उपलब्ध गराएको चर्चा ल्याटिन अमेरिकी सञ्चारमाध्यमहरूमा व्यापक छ ।
सञ्चारमाध्यमहरूले दोहोरो नागरिकता भएका एक जना व्यक्ति पक्राउ परेको र उनी फ्लोरिडाका भएको उल्लेख गरेका छन् । तर, अमेरिकी विदेश मन्त्रालयले आफ्ना कुनै पनि नागरिक थुनामा रहेको भन्ने प्रमाणित गर्न नसक्ने जनाएको छ । पक्राउ परेका ती व्यक्ति हाइटीस्थित क्यानडाको दूतावासको पूर्वसुरक्षाकर्मी भएको बताइएको छ ।
यसैबीच हत्या गरिएका हाइटीका राष्ट्रपति जोभनेल मोइजकी श्रीमती मार्टीन मोइजले भाडाका सैनिकहरू प्रयोग गरेर राजनीतिक शत्रुहरूले उनको ज्यान लिएको बताएकी छन् । तिनले हत्या कसको हातबाट भयो भन्दा पनि हत्याको योजना गरेका र हत्यारा दस्ता परिचालन गरेका वास्तविक हत्याराहरूलाई कानुनी कारबाही हुनुपर्ने बताइन् ।
उनले आफ्ना श्रीमान्ले अघि बढाएको संवैधानिक सुधार र जीवनस्तर उकास्ने प्रयासलाई रोक्न त्यस्तो गरिएको बताइन् । सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै तिनले हाइटीका मानिसहरूलाई लडिरहन आग्रह गर्दै आफूसाथमा उभिने प्रतिबद्धता जनाएकी छन् । मोइजले राष्ट्रपतीय निर्वाचन र देशको नयाँ संविधान लेख्ने विषयलाई लिएर सेप्टेम्बर महिनामा जनमतसङ्ग्र्रह आह्वान गरेका थिए । त्यसलाई लिएर प्रधानमन्त्री क्लाउडेले असहमति राख्दा मोइजले क्लाउडेलाई हटाएर डा. एरियल हेनरीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए । डा. हेनरीले पदको शपथग्रहण गर्न पाएका छैनन् ।
बुधबार सबेरै बन्दुकधारीहरूले राष्ट्रपतिको कार्यालयमा आक्रमण गर्दा प्रथम महिला मोइज पनि घाइते भएकी थिइन् । अहिले उपचारको क्रममा अमेरिकाको मायामी सहरस्थित एक अस्पतालमा छिन् ।
Leave a Reply