भर्खरै :

नेताहरूको अन्तद्र्वन्द्वको स्वार्थ – सत्ता र पद

सत्तामा पुगेका सबै राजनीतिक दलहरूको स्थिति अन्योल छ, नेताहरू विवादको घेरामा छन् र अन्तरसङ्घर्ष बढ्दो छ । यी ठुला दलहरूको बेहाल देखेर नेपाली जनता चिन्तित छन् । दलका नेताहरूको अन्तद्र्वन्द्वको स्वार्थ सत्ता हो, पद हो । ठुला दलका नेताहरूले कहिले पनि सिद्धान्त र विचारको राजनीति गरेका छैनन् । यिनीहरूको ध्यान र चासो पार्टी सभापति, प्रधानमन्त्री र एकचोट मन्त्री बन्नेतर्फ देखिन्छ । यसै सवालमा सत्तारूढ दल एमाले, प्रमुख प्रतिपक्ष दल नेका, जसपा आदि दलका नेताहरूको दिनचर्या बितिरहेको छ ।
एमालेमा असन्तुष्ट बनेका माधवकुमार नेपाल अहिले धर्मसङ्कटमा छन् । उनी नेकाका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लागेका छन् । एमालेका अध्यक्ष एवं प्रम केपी ओलीले शेरबहादुर देउवालाई गरेको समर्थन फिर्ता लिन माधव नेपाललाई दबाब दिँदै छन् । अहिलेसम्म माधवकुमार नेपाल देउवालाई गरेको समर्थन फिर्ता लिने पक्षमा छैनन् । पत्रपत्रिकामा ‘एमाले एकता प्रस्तावमा सहमति’, ‘एमाले विवाद सहमति नजिक’ पुगेका समाचारहरू सञ्चारमाध्यममा आइरहेका छन् ।
यसअघिका दिनहरूमा नेता ओलीले नेपाललाई र नेता नेपालले ओलीमाथि गरेको हिलो छ्यापाछ्यापले यी दुई नेताबीच कहिल्यै मिल्लाजस्तो देखिँदैन । एकले अर्का नेतालाई कम्युनिस्टै होइन, कम्युनिस्टको चरित्र नै छैन, कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी भँदुवा र कम्युनिस्ट विरोधी देखेका थिए । सहमति नजिक पुगेको खबर प्रकाशमा आए पनि शक्ति बाँडफाँडमा मिलेको देखिँदैन । प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दा र देउवाको समर्थन फिर्ता सम्बन्धमा मिलेको देखिँदैन । यी सबै घटना परिघटनाबाट यिनीहरूको बेमेल र अन्तरसङ्घर्ष सत्ता र पदमै केन्द्रित देखिन्छ ।
यी नेताहरूको बहस कम्युनिस्टको सिद्धान्त र विचार कसरी कार्यकर्ता र जनताको घर–आँगनमा पु¥याउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ । पार्टीको सिद्धान्त र विचारलाई कसरी व्यवहारमा लाने र देशको अर्थतन्त्रलाई कसरी समाजवादउन्मुख बनाउनेतर्फ नेताहरू जुट्नुपर्छ । सत्तारूढ दलकै कति नेताहरू समाजवादउन्मुखतर्फ जानै नसक्ने तर्क राख्छन् । खालि सरकारमा जाने, मन्त्री बन्ने र राजस्वमा रजाइँ गर्नेतर्फ लागेपछि देशको बजेट समाजवादउन्मुख बनाउन, सिद्धान्त र विचार व्यवहारमा लान उनीहरू किन कसरत गर्छन् ?
माधव नेपाल र केपी ओली मिले पनि एमाले कम्युनिस्ट बन्दैन । एमालेका वरिष्ठ नेताहरू कम्युनिस्ट होइनन् भन्ने कुरा अरूले मात्र भनेका होइनन्, उनीहरूले नै एकले अर्कालाई भनेका छन् । तर, कम्युनिस्टको बखान गरेर, कम्युनिस्टको नाउँमा मत लिएर कम्युनिस्टविरोधी गतिविधि गर्नु एमालेका नेताहरूलाई पटक्कै सुहाउँदैन । एमालेले या त माक्र्सवाद–लेनिनवादअनुसार कम्युनिस्ट गतिविधि गर्नुपर्छ या त एमाले कम्युनिस्ट होइन भनेर दलले घोषणा गरेर अर्कै ढङ्गले राजनीति गर्नुपर्छ । अनि जनतालाई धोका हुँदैन, नत्र एमालेले छलको राजनीति गरिरहेको या जनतालाई धोका दिइरहेको प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *