भर्खरै :

‘ख्वपको पहिचान — भाग २’ पुस्तक सार्वजनिक

भक्तपुर, २८ असार । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री ‘ख्वपको पहिचान — भाग २’ पुस्तक सोमबार एक समारोहबीच अनलाइन माध्यमबाट सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले पुस्तकमा समाविष्ट लेखमाथि समीक्षात्मक टिप्पणी गर्दै देशको सन्तुलित विकास योजना लागू गर्न र बसाइँसराइलाई निरूत्साहित गर्न नेपाल सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
पुस्तकमा समेटिएका विभिन्न व्यक्तित्वहरूको जीवनी अध्ययनले मानिस आफ्नो परिवारको लागि मात्र काम गर्ने नभई समाज र देशको निम्ति निःस्वार्थ भावनाले काम गर्नुपर्ने प्रेरणा दिने उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई समाज, देश र जनताको लागि बाँच्ने प्रेरणा दिने बताउनुभयो ।
भक्तपुरको पहिचानलाई विश्वसामु चिनाउन पुस्तकले मद्दत पु¥याएको चर्चा गर्दै सचिव सुवालले पुस्तकका लेखहरूले विषयवस्तुमा भौतिकवादी व्याख्यालाई जोड दिनुपर्ने बताउनुभयो ।
देशको समसामयिक राजनीतिबारे आफ्नो धारणा राख्दै सचिव सुवालले संसद् पुनःस्थापनासँगै देशको राजनीतिमा अन्योल यथावत रहेको र आगामी दिनमा सांसद खरिद–बिक्रीको जोखिम रहेको भन्दै नयाँ बन्ने सरकारले देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको प्रस्ट पार्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा आयोजित शिखर सम्मेलनको सन्देशहरूबारे प्रस्ट पार्दै सांसद सुवालले चिकपा स्थापनाको सय वर्षमा चीनले विज्ञान, प्रविधि, उद्योग, शिक्षा, स्वास्थ्य र अर्थतन्त्रको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले प्रकाशनमा ल्याएको ‘ख्वपको पहिचान’ भक्तपुरको विषयमा जान्न चाहने सबैको निम्ति उपयोगी पुस्तकको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले काठमाडौँ उपत्यकालाई आधुनिक सहर बनाउने नाममा दसौँ हजार रोपनीको जग्गामा नयाँ सहर बनाउने कार्य विकासको नाममा सम्पदा विनास गर्ने कार्य भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले काठमाडौँ उपत्यकालाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नु उपयुक्त हुनेमा जोड दिनुभयो ।
भक्तपुर नपाले सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धनमा निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै आइरहेको बताउँदै उहाँले विदेशी सहयोगविना भक्तपुरका सम्पदा संरक्षणमा जनताको आर्थिक र भौतिक सहयोगमार्फत काम अगाडि बढाउँदै आएको जानकारी गराउनुभयो ।
वागीश्वरी माविका पूर्वसहायक प्रअ तथा पुस्तकका भाषा सम्पादक ज्ञानसागर प्रजापतिले समग्रमा स्थानीय पाठ्यक्रम भाग २ मा सङ्ग्रहित २४ वटा लेखहरूबारे आफ्नो समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै ‘ख्वपको पहिचान’ले शिक्षकहरूलाई सिर्जनशील बनाउन मद्दत पु¥याउने बताउनुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाले करिब एक वर्षको अन्तरालमा ‘सन्दर्भ सामग्री भाग २’ प्रकाशन गर्नु सकारात्मक रहेको बताउँदै स्थानीय पाठ्यक्रमको पठनपाठन अन्य विषयहरूभन्दा नितान्त फरक भएको बताउनुभयो ।
पुस्तकमा छापिएका विभिन्न व्यक्तित्वका जीवनी तथा अन्य लेखहरूले भक्तपुरको समग्र इतिहासको उत्खनन र अभिलेखीकरण गरेको बताउँदै संयोजक बिजुक्छेँले विश्व मानव सभ्यतामा भक्तपुरको इतिहास, कला र सभ्यताका विभिन्न आयामबारे थप अध्ययन–अनुसन्धानमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
स्थानीय पाठ्यक्रम कार्यदलका सदस्य प्रा. सिद्धिरत्न शाक्यले शिक्षकहरूको मागअनुरूप यो सन्दर्भ सामग्री तयार भएको बताउँदै पुस्तकको पाठनपाठनबाट पहिलेभन्दा अबको शिक्षा स्तरीय हुने विश्वास लिएको बताउनुभयो ।
सन्दर्भ सामग्री र पाठ्यपुस्तकबीचको भिन्नताबारे प्रस्ट पार्दै उहाँले नपाले प्रकाशनमा ल्याएको ‘ख्वपको पहिचान’ शिक्षक तथा विद्यार्थीलाई मात्र नभई भक्तपुरबारे अनुसन्धान गर्न चाहने सबैको लागि महत्वपूर्ण पुस्तकको रूपमा रहेको चर्चा गर्नुभयो । कुनै कुनै विद्यालयले स्थानीय पाठ्यक्रमलाई अरू विषयसरह महत्वमा राखेको नपाइएको, शिक्षकको नियुक्तिमा निश्चितता नभएको बताउँदै उहाँले विद्यार्थीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय ज्ञान सँगसँगै स्थानीय संस्कृति, संस्कार, भाषा, ज्ञानको पहिचान गरी विकास गर्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले केन्द्रीकृत पाठ्यक्रमले विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे वञ्चित बनाएको बताउँदै स्थानीय पाठ्यक्रमको महत्वमाथि प्रस्ट पार्नुभयो ।
नेपालका धेरै स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम लागू गर्दा भक्तपुर नपाको स्थानीय पाठ्यक्रमलाई रोल मोडल (नमुना) को रूपमा लिनु भक्तपुरको लागि गौरवको विषय भएको उहाँले बताउनुभयो ।
विद्यार्थीहरूमा विद्यालय क्षेत्रदेखि सम्पदा, कला—संस्कृति र आफ्नो पहिचानप्रति गर्व गर्ने भावना विकास गर्न ख्वपको पहिचानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रअ कर्माचार्यले स्थानीय पाठ्यक्रमको मर्मअनुसार विद्यार्थीलाई पठनपाठन गर्ने काममा शिक्षकहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पुस्तकमा समेटिएका विषयवस्तुमाथि रचनात्मक सुझावको आवश्यकता रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *