भर्खरै :

पराजय – ८

“नडराऊ !” उसको विचार बुझेझैँ गरी भार्याले भनी । “तिमीजस्तो राम्रो, भर्खरको मान्छे र यति लजालु… तिमी असाध्यै लजालु छौ,” उसले कोमल स्वरमा दोहो¥याई र चारैतिर नियालेर उसको निधारमा म्वाइ खाई । यस चुम्बनमा आमाको ममता मिसिएको थियो । “शाल्दिबाकहाँको कुरा अर्कै हो, तर लेभिनसनकहाँ सबै ठीकठाक छ…” आफ्ना शब्दहरू पूरा नगरी उसले कानमा साउती मारी । “शाल्दिबाका मान्छेहरू किसान हुन्, तर हाम्रो चाहिँ खनिकहरूको हो । राम्रा मान्छे छन् । उनीहरूसँग सजिलै घुलमिल हुन सकिन्छ । भ्यायौ भने मलाई भेट्न आइरहनू ।”
“अनि मोरोजकालाई के होला ?”
“त्यो केटीलाई के होला, त्यो फोटोकी केटीलाई ?” उसले प्रश्नको जवाफमा प्रश्न सोधी र खित्खिताउँदै हाँसी । फ्रोलोभले यतैतिर हेर्न थालेकोले ऊ एकाएक मेतचिकबाट अलग भई ।
“ए, मैले त उसलाई भुलिसकेको थिएँ । मैले त्यो फोटो च्यातेँ,” उसले फ्याट्टै भन्यो, “के तिमीले भुइँमा टुक्राहरू देखिनौ ?”
“भैगो, मोरोजकाको चिन्ता नलेऊ । उसलाई अब बानी परिसक्यो । ऊ आफै पनि अरू आइमाईसँग लहसिन्छ । मन सानो नबनाऊ । त्यही हो, जतिचोटि हुनसक्छ, आइरहनू र आफ्नो हकको लागि डटेर लड्नू । घुँडा नटेक्नू । तिमी हाम्रा जवानहरूसँग डराउनु हुँदैन । उनीहरू हेर्दामात्र डरलाग्दा देखिन्छन् । तिमीले आफ्नो औँला दियौ भने उनीहरूले टोक्ने नै छन् । तर, उनीहरूमा डरलाग्दो केही पनि छैन । हेर्दामात्र डरलाग्दा देखिने हुन् । तिमीले पनि आफ्नो दाह्रा देखाउनुपर्छ । यत्ति हो ।”
“के तिमीले आफ्नो दाह्रा देखाउँछ्यौ ?”
“म आइमाई हुँ । मैले त्यसो गर्नुपर्दैन । मेरो काम माया गर्ने हो । तर, लोग्नेमान्छेसँग अर्को उपाय छैन । मलाई त तिमी चाहिएजति बलियो साबित नहौला भन्ने पिरमात्र पर्छ,” उसले सोचमग्न हुँदै भनी अनि फेरि उसैतिर झुक्दै सुस्तरी भनी, “त्यसैले होला म तिमीलाई माया गर्छु, थाहा छैन… ।”
“कुरा सत्य हो, म कत्ति पनि शुरो छैन,” मेतचिकले गम खायो । दुवै हातको सिरानीमा टाउको अडाएर उसले एकटक आकाशतिर आँखा गाडिरहेको थियो, “तर मैले जेनतेन निर्वाह गरूँला त ? मैले कसैगरी… गर्नैपर्छ… । अरूले गुजारा गरेकै छन् त… ।” उसको विचारमा अब उदासी थिएन । तिनमा सन्ताप वा एक्लोपन थिएन । उसले प्रत्येक वस्तुलाई तटस्थ आँखाले हेर्नसक्थ्यो किनभने ऊ तङ्ग्रिँदै थियो । उसका घाउहरू छिटोछिटो भरिँदै थिए । उसको शरीर पहिलेभन्दा अझ बलियो र भरिलो हुँदै थियो । यो पूरै तागत मानौँ उसले कमिला र रक्सीको जस्तो गन्ध आइरहेको धर्ती र भार्याबाट हासिल गर्दै थियो । उही भार्या जसका आँखा धमिला थिए र कुरा सीधै प्रेमिल मनबाट फुटिरहेका थिए । ऊ यसमा विश्वास गर्न चाहन्थ्यो ।
“अँ, म किन निराश हुने ?” मेतचिक सोचमग्न भयो । निराश हुनुपर्ने कुनै कारण छैन, उसलाई यस्तै महसुस भयो । “म उनीहरूसँग काँधमा काँध मिलाउन सक्ने बन्नुपर्छ, घुँडा टेक्ने होइन । उसले एकदम सही भनी । यहाँका लोग्नेमान्छेहरू भिन्दै स्वभावका छन् । म उनीहरूजस्तै बन्नुपर्छ । म त्यस्तो बनेरै छोड्नेछु !” यसै विश्वासका साथ उसले अठोट लियो । यस्तो अठोट यसअघि उसले लिएको थिएन । र, भार्याका शब्दहरू र उसको मधुर मायाप्रति ऊभित्र यस्तो भावना जाग्यो जुन झन्डै आफ्नी आमाप्रति छोराको कृतज्ञतासमान थियो । “म सहर फर्किने बेला सबथोक फेरिएको हुनेछ । त्यतिखेर म एकदम फरक मान्छे बन्नेछु ।”
उसका विचारहरूले उसलाई धेरै टाढा, भविष्यको चम्किलो मैदानमा उडाइदिए । मानौँ ती विचारहरू भुवासरि हावाका रेशाहरूले बनेका थिए र ताइगाका वनजङ्गलले घेरिएका मैदानहरूमाथि उड्दै नरम, गुलाबी बादलसरि विलीन हुन्थे । उसले आफ्नो कल्पनामा एउटा चित्र को¥यो– ऊ भार्यासँगै एउटा खुला झ्यालसितको मच्चिँदो रेलको डिब्बामा बसेर सहर फर्किरहेको छ । झ्यालबाहिर नरम र गुलाबी बादलहरू टाढा धमिला पहाडी लस्करमाथि उड्दै छन् । उनीहरू दुवै एकअर्काको बगलमा, एकअर्कासँग टाँसिएर झ्यालनिर बसेका छन् । भार्याले उसको कानमा मीठा शब्दहरू सुसेलीरहेकी छे र ऊ भार्याको शिर र दिनको उज्यालोजस्तो उसका सुनौला केशराशी सुम्सुमाइरहेको छ… । उसको स्वप्नलोककी भार्या र खानी नम्बर एककी मुलायम कुमसितकी गाडा तान्ने युवतीबीच कुनै समानता थिएन किनभने उसका सारा विचार दिवास्वप्नमात्र थिए ।
केही दिनपछि कम्पनीबाट अर्को चिठी आयो । त्यो मोरोजकाले ल्याएको थियो । उसको आगमनले गहिरो सन्त्रास फैलियो । ऊ चिच्याउँदै र कुर्लिँदै, आफ्नो घोडालाई चुट्दै र अर्थ न बर्थका आवाज निकाल्दै ताइगाबाट तीरजस्तै बाहिर निस्केको थियो । यो सबै उसले आफ्नो जोसलाई मत्थर पार्न र ‘यत्तिकै मजा लिन’ गरेको थियो ।
“बौलाइस् कि क्या हो ?” पिकाले मुर्मिरिँदै आफ्नो मन्त्रपाठ गरेजस्तो स्वरमा सोध्यो, “यहाँ एउटा मान्छेले सास छोड्दै छ…” उसले फ्रोलोभतिर हेर्दै मुन्टो हल्लायो, “अनि तँ चिच्याउँदै छस्… ।”
“ओहो, सेराफिम बा !” मोरोजकाले उसलाई अभिवादन ग¥यो । “मेरी घुम्रिएको कपालसितकी मैँया कस्ती छ ?”
“म तेरो बा होइन र मेरो नाम फियोदोर हो !” पिकाले क्रुद्ध भएर भन्यो । केही दिनयता ऊ निकै चिढिन थालेको थियो । रिसले मुर्मुरिने बेला ऊ औधी हाँसउठ्दो र टिठलाग्दो देखिन्थ्यो ।
“ठीक छ फिदोसेइ, आफ्नो टाउको नदुखाऊ, नत्र तिम्रो फर्सीमुन्टे कपाल झर्लान्… । मेरी श्रीमतीलाई म बबुरोको सलाम ¤” मोरोजका बडो शिष्टतापूर्वक भार्यासामु झुक्यो र आफ्नो टोपी खोलेर पिकाको टाउकोमा लगाइदियो । “सबै मिलेको छ फिदोसेइ, टोपी खुब सुहाउँदो रहेछ । खेतमा चराचुरुङ्गी तर्साउने बुख्याँचाजस्तै लत्रेको छ पाइन्ट । आफ्नो पाइन्ट अलि माथि सार । नत्र, अरूले तिमी मनकारी मान्छे होइनौ भन्ठान्लान् !”
“ए, के हामी छिट्टै भाग्दै छौँ ?” स्ताशिन्स्कीले खाम च्यात्दै सोध्यो । “उत्तरको लागि अलिबेरमा ब्यारेकमा आउनू,” उसले खारचेन्कोबाट चिठी लुकाउँदै भन्यो । खारचेन्कोले ज्यानै जोखिममा पर्ने गरी घाँटी तन्काई–तन्काई डाक्टरको काँधमाथिबाट चियो गर्दै थियो ।
भार्या आफ्नो फरियाको फेरोमा औँला खेलाउँदै मोरोजकाको सामुन्ने उभिएकी थिई । आफ्नो लोग्नेसँग भेट्दा पहिलोचोटि उसले विचित्र छटपटी अनुभव गर्दै थिई ।
“तिमी यति लामो समयसम्म किन हरायौ ?” उसले अन्तमा बनावटी उपेक्षा गर्दै भनी ।
“तिमीलाई मेरो सम्झनाले औडाहा हुन्थ्यो, हैन ?” उसले भार्यासँगको आफ्नो अगम्य दूरीको सुइँको पाएर उपहासको स्वरमा भन्यो, “केही भएन, अब तिमीले सारा कमी पूरा गर्ने मौका पाइहाल्यौ नि, ताइगामा त जाऔँ ।” अलिबेर चुप लागेपछि उसले अर्थपूर्ण शब्दमा भन्यो, “मिलेर दुःख झेल्न ।”
“तिमी त खालि एउटै कुरा सोच्छौ,” भार्याले मोरोजकातिर नहेरिकनै मेतचिकको बारेमा सोच्दै जवाफ दिई ।
“तिमीले नि ?” मोरोजकाले आफ्नो कोर्रा खेलाउँदै उसको उत्तर पर्खिन थाल्यो ।
“मेरो लागि यो नयाँ कुरा हो र । हामी चिनजानै नभएका त होइनौँ ।”
“त्यसो भए जाने ?” उसले आफू उभिएको ठाउँबाट नहल्लिकन सतर्क हुँदै सोध्यो ।
भार्याले आफ्नो फरिया तल छोडी र आफ्नो चुल्ठो पछिल्तिर फाल्दै सरासर गोरेटो हुँदै अघि बढी । मेतचिकलाई फर्केर हेर्ने इच्छा दबाउँदै ऊ लरबरे चालले हिँडिरही । मेतचिकले आफूलाई आफ्ना दुःखी र टिठलाग्दा आँखाले हेरिरहेको छ भन्ने उसलाई थाहा थियो । मोरोजकासित गएर भार्याले खालि एउटा कठीन कर्तव्य पालन गर्दै छे भन्ने कुरा मेतचिकले कहिल्यै चाल पाउनेछैन भन्ने पनि उसलाई थाहा थियो ।
मोरोजकाले एकाएक आफूलाई अँगालोमा बेर्ने त होइन भन्ने उसलाई डर थियो । तर, ऊ ऊनिर आएन । उनीहरू धेरै बेरसम्म यसरी नै हिँडिरहे । दुईमध्ये एउटाले पनि मौनता तोडेन । उसले सहन सकिन । ऊ अडी । अनि आश्चर्य र जिज्ञासा भावले मोरोजकातिर फर्की । ऊ वर आई, तैपनि उसले भार्यालाई पाखुरामा बेरेन ।
“तैँले गलत गर्दै छेस् कुजात ¤” उसले एकाएक धोद्रो स्वरमा अड्कीअड्की भन्यो, “कसैलाई मन दिइस् कि क्या हो ?”
“तिमीलाई के खाँचो ?” भार्याले आफ्नो टाउको उठाई र हिम्मतका साथ उसका आँखामा हेर्न थाली ।
मोरोजकालाई आफ्नो अनुपस्थितिमा भार्याले अरू छोरा मान्छेहरूसँग चक्कर चलाउँछे भन्ने कुरा सुरुबाटै थाहा थियो । बिहेभन्दा पहिले पनि उसले त्यसै गर्थी । वास्तवमा मोरोजकाले बिहेको पहिलो दिन नै यस कुराको चाल पाएको थियो । भुइँमा लम्पसार परेका मान्छेहरूको जमघटबाट टन्केको टाउको उठाउँदै बिहान उठ्दा उसले आफ्नी धर्मपत्नीलाई खानी नम्बर चारको कोइला फुटाउने गेरासिमका पाखुरामा टाँसिएर सुतिरहेको देखेको थियो । तर, त्यस बेला र पछि पनि उसले यो कुरा टारिरह्यो । उसले कहिल्यै पारिवारिक जीवन भोगेको थिएन र कुनै पनि कुरालाई उसले विवाहित पुरुषका आँखाले हेर्दैनथ्यो । तर, आफ्नी पत्नीले मेतचिकजस्तो व्यक्तिलाई प्रेमी बनाउन सक्छे भन्ने सोचेर उसको मन चसक्क हुन्थ्यो ।
“को हो त्यो, भन्छिस् कि ?” उसले भार्याका तीखा आँखाको प्रहारलाई लापरवाह र व्यङ्ग्यपूर्ण मुस्कानका साथ झेलेर नम्र भएको स्वाङ पार्दै भन्यो । आफूलाई चसक्क बिझाएको कुरा ऊ देखाउन चाहन्नथ्यो । “त्यहीँ आमाको दुधे छोरो त हैन ?”
“त्यहीँ हो भने ?”
“ल ल, ठीक छ, सफासुग्घर छ,” मोरोजकाले स्वीकार ग¥यो । “तिमीलाई अलि स्वादिलो लाग्ला । त्यसको सिँगान पुछ्न रुमालहरू बनाइराख्नू ।”
“प¥यो भने मैले उसको लागि रुमालहरू पनि बनाउनेछु, नाक पुछिदिनेछु – सुन्यौ तिमीले ? म आफैले उसको नाक सफा गर्नेछु !” उसले आफ्नो अनुहार अघि ल्याई र रन्किँदै कराई, “तिमी सुरा र बलिया छौ भनी मलाई देखाउने कोसिस नगर ¤ तिमी बलियो भएर के फाइदा ? तीन वर्षमा एकचोटि पनि तिमीले मेरो काख भर्न सकेनौ । तिमी त खालि मच्चिनमात्र सक्छौ ! खुब शुरवीर बन्नुपर्ने !”
“एउटा सग्लो पल्टनले तिम्रो काख भर्ने कोसिस गरिरहेको बेला मैले कसरी तिम्रो काख भर्ने ? चिच्याउन बन्द गर,” उसले आफ्नो कुरा रोक्दै भन्यो, “नत्र… !”
“नत्र के ?” भार्याले ललकार्दै भनी, “तिमी मलाई पिट्छौ ? लु, कोसिस गरी हेर त ! हेरूँ, ममाथि कसरी हात उठाउने रहेछौ !”
दङ्ग पर्दै मोरोजकाले आफ्नो कोर्रा उठाउने र झट्कार्ने गरिरह्यो । मानौँ यो विचार उसको लागि कुनै अप्रत्याशित रहस्यको खुलासा थियो ।
“अहँ, तिमीलाई पिट्दिन,” उसले पश्चाताप र झिँज्याहटका साथ यसरी भन्यो मानौँ उसको दिमागमा भार्यालाई पिटिहाले राम्रो नहोला त भन्ने प्रश्न नाचिरहेको थियो । “तिमीले पिटाइ त खानुपर्छ, तर मैले कुनै आइमाईमाथि हात उठाएको तिमीले देख्नेछैनौ ।” उसको आवाजमा भार्याले कहिल्यै यस्तो बिरानो भाव सुनेकी थिइन । “जेहोस् तिमीले चाहेजस्तै जीवन बिताऊ । कुनै दिन तिमी भलादमी महिला बन्ने पो हौ कि ।” ऊ आफ्नो कुर्कुच्चाको भरमा घुम्यो र वनफूलहरूमा कोर्रा झट्कार्दै ब्यारेकतिर फर्कियो ।
“सुन, पख !” ऊप्रति अकस्मात् उर्लिएको दयाले विह्वल भएर भार्या चिच्याई, “भान्या !”
“मलाई भद्रभलादमीहरूको जुठो चाहिँदैन,” मोरोजकाले झर्किँदै भन्यो, “मेरो जुठो खानेलाई स्वागत छ ।”
मोरोजकाको पछाडि दगुर्ने वा नदगुर्ने, भार्या रनभुल्ल परी । अन्तमा उसले नदगुर्ने निधो गरी । ऊ मोडिएर ओझेल नपर्दासम्म भार्या त्यही उभिई अनि आफ्ना सुक्खा ओठमा जिब्रो घुमाउँदै बिस्तारै उसको पछि लागी ।
मोरोजका वनबाट यति छिटो फर्केको देखेर मेतचिकले मोरोजका र भार्याको ‘चक्कर चलेन’ भन्ने बुझ्यो र यसको कारण मेतचिक नै थियो । अर्दली आफ्ना पाखुरा झुन्ड्याउँदै र गहुँङ्गा पाइला चाल्दै आइरहेको थियो । यो देखेर मेतचिकको हृदयमा उर्लिँदो हर्ष र अपराधको अवर्णनीय भावना जाग्यो । मोरोजकाका हिंस्रक आँखामा आँखा जुधाउँदै गर्दा उसलाई डर लागिरहेको थियो ।
मोरोजकाको बाक्लो जगरसितको घोडाले मेतचिकको चारपाईनिर सोस्साउँदै घाँसहुँदी थुतुनो डुलाइरहेको थियो । अर्दली आफ्नो घोडातिर आइरहेझैँ बुझिन्थ्यो । खासमा एउटा भयावह र विकृत आवेशले उसलाई मेतचिकतिर डो¥याउँदै थियो । घृणा र अदम्य घमण्डले चुलिएको मोरोजका यो कुरा आफैसित कबुल्न पनि तयार थिएन । मोरोजका जतिजति नजिक आयो, उति उति मेतचिकको मनमा अपराधको भावना गहिरिँदै गयो । उसको हर्ष सेलायो र उसले मोरोजकालाई डराएका आँखाले एकोहोरो हेरिरह्यो । उसले ऊतिरबाट आफ्ना आँखा हटाउन सकेन । अर्दलीले आफ्नो घोडाको लगाम समात्यो । घोडाले आफ्नो टाउकोले धक्का दिएर उसलाई मेतचिकतिर फर्काइदियो मानौँ उसले जानाजान यसो गरेको हो । उसका भयानक र हिंस्रक घृणा भरिएका आँखा देखेर मेतचिकको होसै हरायो । एकैछिनमा उसले आफूलाई अत्यन्त तिरस्कृत भएको अनुभूति ग¥यो । ऊ कति तर्सियो भने लर्बरिएका शब्दहरू एकाएक उसको ओठमा पुगे तर मुखबाट एउटा आवाज पनि निस्किन सकेन ।
“यहाँ मोर्चाको पछाडि बसेर बेइमानी गर्दै छ !” मोरोजकाले आफ्नो विचार सुनायो र मेतचिकको मौन विरोधलाई नसुनिकन आवेशमा थुक्यो । “हरियो भोटो पनि लगाएकै छ !”
मेतचिकले आफ्नो रिसलाई ईष्र्याको परिणाम नठानोस् भन्ने विचारले ऊ उचालिएको थियो । ऊ आफैले यसको वास्तविक कारण ठम्याउन सकेन र अबेरसम्म पाँडे गाली बकिरह्यो ।
“किन गाली गर्छौ ए ?” मेतचिकले भक्भकाउँदै र मोरोजकाको गाली रोकिएकोमा अवर्णनीय राहत महसुस गर्दै भन्यो, “मेरा खुट्टा भाँचिएका छन् र त्यो पनि मोर्चाको पछाडि भाँचिएका होइनन्, बुझ्यौ !” उसले काम्दै भन्यो । उसको स्वरमा चोइटिएको स्वाभिमानको सारा आवेश भरिएको थियो । त्यसबेला उसलाई उसका खुट्टाहरू साँच्चै भाँच्चिएको विश्वास भयो । समग्रमा उसलाई हरियो भोटो लगाउने व्यक्ति आफू नभई मोरोजका हो भन्ने लाग्यो । “हामीले रणभूमिका यस्ता वीरहरूको कथा सुनेका छौँ !” त्यसपछि उसको मुहार लाजले रातोपिरो भयो । “तिमीलाई बताइहालूँ, मलाई तिमीले गुन नलगाएको भए… जे भए पनि मलाई यसमा खेद… ।”
“आहा ! आयौ ठेगानमा !” भावावेशमा झन्डै उफ्रिएर मोरोजका चिच्यायो । ऊ मेतचिकका कुरा सुन्न वा बुझ्न चाहन्नथ्यो । “बिर्सियौ, कालको मुखबाट तिमीलाई मैले कसरी निकालेको थिएँ ? तिमीजस्ता मान्छे बचाउनु आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै हो !” ऊ कर्कश स्वरमा कुर्लियो । मानौँ उसले दिनभरि मान्छेलाई “कालको मुखबाट” निकाल्नेबाहेक अर्थोक गर्दैन । “ज्या, खुट्टामा वञ्चरो हान्नुजस्तै हो । तिमीलाई देख्दा मेरो घाँटी बटारिन थाल्छ !” रिसले आगो भएर उसले आफ्नो घाँटीमा एक मुक्का हान्यो ।
स्ताशिन्स्की र खारचेन्को ब्यारेकको झुप्रोबाट लम्किँदै बाहिर निस्के । फ्रोलोभले आश्चर्य र विरोधमा आफ्नो मुन्टो घुमायो ।
“किन चिच्याएको ?” एउटा आँखा बेसरी फर्फराउँदै स्ताशिन्स्की कड्कियो ।
“मेरो सुद्धि कहाँ गयो भनी जान्न चाहन्छौ ?” मेतचिकको एउटा प्रश्नको उत्तर दिँदै मोरोजका करायो, “यहाँ छ मेरो सुद्धि – यहाँ !” लाजमर्दो इसारा गर्दै आवेगमा ऊ कुर्लियो ।
ताइगाबाट निस्केर नर्स र पिका एकैचोटि चिच्याउँदै उनीहरूतिर दगुरे । मोरोजका एकै उफ्राइमा घोडामा बस्यो र त्यसलाई कोर्रा लगायो । असाध्यै रिसाएको बेला उसले यस्तो गथ्र्यो । मिश्का बिच्किँदै आफ्ना पछिल्ला खुट्टामा उभियो र दन्किँदो आगोले छुन्छ कि भनेझैँ हुत्तहुत्त हुइँकियो ।
“रोक, तिमीले एउटा पत्र लैजानुपर्छ, मोरोजका !” स्ताशिन्स्की चिन्तित हुँदै चिच्यायो । तर, मोरोजका त्यहाँबाट गइसकेको थियो । वनजङ्गलको उल्टापाल्टा खोल्साहरूबाट हकानिँदै दगुरिरहेको घोडाका टापको आवाज आइरहेको थियो । छिट्टै त्यो आवाज टाढियो र चकमन्न भयो ।
प्रस्तुतिः सुरेश

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *