प्रतिबन्धहरूले मार्छ र…
संरा अमेरिकाले अझ अगाडि बढेर २०२१ को सुरुआतसँगै निकारागुआविरुद्ध अर्को प्रतिबन्धको विधेयक पारित ग¥यो । त्यसको नियत स्पष्टतया निकारागुआमा राजनीतिक अस्थिरता उत्पन्न गर्नु नै हो । उक्त विधेयकलाई निर्वाचन सुधारका लागि निकारागुआको कटिबद्धताको सर्तहरूसम्बन्धी ऐन (Reinforcing Nicaragua’s Adherence to Conditions for Electoral Reform (RENACER Act) नाम दिइएको छ । उक्त ऐनमा निकारागुआविरुद्धको विद्यमान प्रतिबन्धलाई थप कडा पार्ने लक्ष्यलाई सुनिश्चित गर्न ‘निकारागुआमा स्वतन्त्र, धाँधलीरहित एवम् पारदर्शी निर्वाचन गर्न र निकारागुआका जनताको आधारभूत स्वतन्त्रता तथा मानव अधिकार रक्षा गर्ने संरा अमेरिकाको प्रतिबद्धता पूरा गर्न यो ऐन ल्याइएको’ उल्लेख छ ।
ऐनका अधिकांश बुँदामा निकारागुआ सरकार र सरकारी अधिकारीहरूमाथि प्रतिबन्धका प्रावधान मात्र छन् । ती प्रतिबन्धहरूले कसरी निकारागुआमा स्वतन्त्र, धाँधलीरहित र पारदर्शी निर्वाचन सुनिश्चित हुन्छ कहिँकतै भनिएको छैन । उक्त रेनासेर (RENACER) ऐन पारित भएपति किन र कसरी संरा अमेरिकाले अर्को सार्वभौम देशको निर्वाचनमा भूमिका खेल्ने अधिकार राख्छ भन्ने प्रश्न तड्कारोरूपमा उठेको छ ।

राष्ट्रपति ड्यानियल ओर्टेगा
निकारागुआको निर्वाचनका बारेमा संरा अमेरिका वा अर्को कुनै देशले चिन्ता गर्नुपर्ने अवस्था नै पनि थिएन । त्यसको लागि निकारागुआको सरकार स्वयम् सजग र सक्रिय थियो । निकारागुआको संसद्ले निर्वाचन प्रक्रियामा व्यापक सुधारका लागि विज्ञहरूसित गहन छलफलपछि बलियो र पारदर्शी निर्वाचन प्रणाली सुनिश्चित गर्ने ऐन पारित गरिसकेको छ । उक्त ऐनले सुनिश्चित गरेको निर्वाचन प्रक्रिया पश्चिमा राष्ट्रहरूको भन्दा बढी प्रजातान्त्रिक रहेको विश्लेषण छ ।
त्यसैले प्रतिबन्धहरू निकारागुआविरुद्धको वर्णशङ्कर युद्ध (hybrid war) को एक पक्षमात्र भएको स्पष्ट छ । जसरी सन् २०१८ को सशस्त्र सत्ता विप्लवको दुष्प्रयासलाई ‘प्रजातन्त्रको लागि शान्तिपूर्ण आन्दोलन’ भनी प्रचार गरियो अहिले रेनासेर ऐन पारित भएपछि पनि भरमग्दुर गलत प्रचार भइरहेको छ । दुष्प्रचार अमेरिकी विदेश नीतिको एक अभिन्न पक्ष रहँदै आएको छ । रेनासेर ऐनले अमेरिकी संस्थाहरूलाई निकारागुआका विपक्षी पार्टी र उम्मेदवारहरूलाई आर्थिक, प्राविधिक, वैचारिक एवम् सामग्री सहायतासमेत उठाउन तथा उपलब्ध गराउन कानुनीरूपमा कुनै रोक लाग्ने छैन ।
अगस्त २०२० यूएसएडले निकारागुआमा सम्बोधनिक सहायता Responsive Assistance –RAIN) शीर्षक कार्यक्रम लागु ग¥यो । उक्त रेन कार्यक्रमको लक्ष्य ‘निकारागुआको नियममा आधारित बजार अर्थतन्त्रतिर सङ्क्रमणका लागि निकारागुआलाई सहायता गर्ने’ भनी उल्लेख छ ।
यसलाई निकारागुआमा सत्ता विप्लवको संरा अमेरिकी योजनाको कार्यसूचि भएको भन्दै अर्थराजनीतिक विश्लेषक बेन नोर्टन भन्छन् – यूएसएडको उक्त दस्तावेजले अर्थतन्त्रको पुनःसंरचनाको मात्र कुरा नगरी भविष्यमा संरा अमेरिकाले स्थापना गर्ने निकारागुआको शासनमा – सरकारी संस्थाहरूको पुनर्गठन, सैनिक र प्रहरी सङ्गठनको पुनस्र्थापना तथा सान्डिनिस्टा मोर्चालाई समर्थन गर्ने ‘समानान्तर संस्थानहरू’ खारेजीको लागि आह्वान गरेको छ । साथै, सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चाका नेताहरूमाथि ‘सङ्क्रमणकालीन न्याय व्यवस्था’ को माध्यमले दण्डित गर्नुपर्ने कुरा गरेको छ । अर्को शब्दमा यूएसएडको उक्त रेन कार्यक्रमलाई निकारागुआमा सत्ता विप्लवको षड्यन्त्र र सान्डिनिस्टा आन्दोलनलाई सत्ताबाट अपदस्थ गरी पुनः शासनमा फर्कन नसक्नेगरी रोक्ने स्पष्ट योजना भन्न सकिन्छ ।
निकारागुआमा सत्ता विप्लव गर्ने योजना सफल नभएको तथ्य एक ठाउँमा छ तर त्यसले निकारागुआको राजनीतिक, आर्थिक, न्यायिक र सामाजिक व्यवस्थाबारे भ्रम उत्पन्न हुने दुष्प्रचार भने राम्ररी गरेको छ । उक्त दस्तावेजको भाषाले निकारागुआमा अहिले नियममा आधारित बजार अर्थतन्त्र नभएको र लगानीको सुरक्षा नहुने दुष्प्रचार गरी निकारागुआमा लगानी गरिरहेका र गर्न लागेका विदेशी लगानीकर्ताहरूलाई बिच्काउन खोजेको छ । निकारागुआ अझै पनि संरा अमेरिका र मध्य अमेरिकी देशहरूबीचको स्वतन्त्र व्यापार सम्झौता लागु गरिरहेको देश हो । त्यसले मिश्रित अर्थ व्यवस्था लागु गरेर प्रगतिशील करप्रणाली र सामाजिक सुरक्षाका कार्यक्रमहरूमा अलि बढी खर्च गरिरहेको मात्र हो । निकारागुआको ऐन र नियमलाई मानेर विभिन्न देशका लगानीकर्ताले त्यहाँको उत्पादन र सेवा उद्योगमा लगानी एवम् व्यापार गरिरहेका छन् । कार्गिल र सिन्जेटाजस्ता बलिया बहुराष्ट्रिय कम्पनीहरू त्यहाँ सेवा र व्यापार गरिरहेका छन् । निकारागुआका संविधान र ऐनले अहिलेसम्म निजी सम्पत्तिमाथि कुनै प्रतिबन्ध लागु गरेको छैन । आम्दानीको स्रोत खुलाउनुपर्ने र आयकर तिर्नुपर्ने व्यवस्था त पुँजीवादी बजार अर्थतन्त्र भएका देशहरूमा पनि छन् । पुँजीपतिहरूले सकेसम्म बढी कर छल्ने गर्छन् र त्यस्तो अपराधमा पुँजीवादी सरकारहरूले आँखा चिम्लिदिने गर्छन् । निकारागुआको सान्डिनिस्टा सरकारले कर छली गर्नेहरूमाथि कडा कारबाही गरेको सत्य हो । सान्डिनिस्टा सरकारले बढी आम्दानी हुने यातायात, सुनखानी र पेट्रोलियम उत्पादनलाई राष्ट्रियकरण गरेको छ । त्यस्तै, निकारागुआलगायत ल्याटिन अमेरिकी देशहरूमा चिनियाँ र रुसी लगानीको प्रवेश अमेरिकीहरूलाई बिझिरहेको छ । चीनले निकारागुआमा आन्ध्र र प्रशान्त महासागर जोड्ने बहुचर्चित निकारागुआ नहर निर्माणसम्बन्धी सम्झौता र कैयौँ पूर्वाधार निर्माण गरिरहेको छ । वास्तवमा ती क्षेत्रबाट अकुत नाफा कमाउन चाहिरहेका अमेरिकी बहुराष्ट्रिय कम्पनीका मालिकहरू र तिनीहरूका निकारागुआली दलालहरू नै अहिले निकारागुआमा शासन परिवर्तनका लागि व्यग्र रहेको स्पष्ट छ ।
अमेरिकी र युरोपेली प्रतिबन्धहरू आफ्नो उद्देश्यमा सफल नभए पनि तिनले निकारागुआको आर्थिक विकासमा मात्र नभई शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण आदि विभिन्न क्षेत्रमा नकारात्मक असर निश्चितरूपमा पु¥याइरहेका छन् । निकारागुआको सान्डिनिस्टा सरकारले त्यहाँ उत्पादन र सेवा उद्योगलाई उपयुक्त वातावरण निर्माण गरिदिएकै परिणामस्वरूप सन् २०२० मा इटा र आयोटा समुद्री आँधीले निकारागुआलाई तहसनहस पारे पनि कोभिड – १९ को महामारीबीच पनि त्यहाँको कुल गार्हस्थ उत्पादनमा ३.५ प्रतिशतले वृद्धि भयो । र, २०२१ मा पनि यस्तै वृद्धिदर कायम हुने अनुमान गरिएको छ । विश्व आर्थिक मञ्चले निकारागुआलाई निरन्तर प्रगति गरिरहेको विश्वका १० अर्थतन्त्रमध्ये राख्नुका साथै लैङ्गिक समानतामा विश्वकै पाँचौँ नेतृत्वदायी देश घोषणा गरेको छ । त्यहाँको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि पुगिसकेको छ । बाल मृत्युदर सन् २००७ को तुलनामा आधाले घटेर प्रति एक लाखमा २ सत्र्न्दा कममा झरेको छ । कोभिड– १९ बाट सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या निकारागुआमा वरपरका छिमेकी देशहरूको तुलनामा निकै कम रहेको छ । यस्तो स्थितिमा नोभेम्बर ७ मा हुने निर्वाचन सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चाको पक्षमा जाने चिन्ताले त्यहाँका दक्षिणपन्थीहरू मात्र नभई अमेरिकी शासक वर्गसमेत बेचैन रहेको अवस्था छ र उनीहरू जनमतलाई सान्डिनिस्टाहरूको विरोधमा लान हरसम्भव कोसिस गरिरहेका छन् ।
दुष्प्रचारको नयाँ लहर
सन् २०१८ को हिंसा र सशस्त्र सत्ता विप्लवको दुष्प्रयासलाई ‘प्रजातन्त्रको लागि शान्तिपूर्ण आन्दोलन’ भनी प्रचार गरी सान्डिनिस्टा सरकारविरुद्ध जनमत निर्माणको प्रयास गरियो अहिले सरकारले कानुनअनुसार कसुरवारहरूमाथि गरिरहेको कानुनी कारबाहीलाई लिएर ‘ओर्टेगा सरकारको तानाशाही’ र ‘निर्वाचनलाई आफ्नो पक्षमा पार्न चालिरहेको षड्यन्त्र’ का रूपमा दुष्प्रचार गरिइँदै छ । अन्तर्राष्ट्रिय स्तरमा एपी, बीबीसी, सीएनएन, वासिङ्टन पोस्ट र गार्डियनले विपक्षी नेताहरूको पक्राउलाई लिएर विशेष समाचार कभर गर्दै छन् । तर, ती समाचार माध्यमले ती विपक्षी नेताहरूको पक्राउको पूरै घटना र कारणबारे चर्चा गर्न आवश्यक ठान्दैनन् ।
जून ९ का दिन सीएनएनले प्रखर विपक्षी व्यक्तित्वहरूको पक्राउबारे एक समाचार प्रशारण ग¥यो । त्यसमा लामो समयदेखि सत्तामा रहेको ओर्टेगा सरकारले विपक्षीहरूमाथि दमनचक्र चलाउँदै आएको दाबी गर्दै ओर्टेगालाई जर्मनीका एडोल्फ हिटलर र सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चालाई सन् १९३० को दशकको नाजी पार्टीसित तुलना गरियो । लोकप्रियतासम्बन्धी पछिल्ला सर्वेक्षणहरूमा वर्तमान राष्ट्रपति ड्यानियल ओर्टेगा र सान्डिनिस्टा सरकारप्रति झन्डै ६० प्रतिशत जनता सकारात्मक देखिएपछि साम्राज्यवादी र त्यहाँका दक्षिणपन्थी पुँजीवादीहरूले ओर्टेगा र सान्डिनिस्टाविरुद्ध थप दुष्प्रचारको नयाँ लहर सिर्जना गरेका हुन् । पश्चिमा शासक वर्गले सिर्जना गरेका दुष्प्रचार र सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चाको प्रतिकार एवम् प्रतिरोध २०२१ को राष्ट्रपतीय र संसदीय निर्वाचनको रस्साकस्सी नै हो ।

एक हप्तापछि १५ जूनका दिन वासिङ्टन पोस्टले ओर्टेगा सरकारले पछिल्लोपटक गरेको पक्राउको घटनाबारे लामो समाचार प्रकाशित ग¥यो । उक्त घटना विपक्षी व्यक्तित्वहरूमध्ये एक ह्वान सेवास्टियन चामोरोको पक्राउबारे थियो । ह्वान सेवास्टियन चामोरो निकारागुआका पूर्व राष्ट्रपति भायोलेटा कारियोस डे चामोरोको देवरको छोरा हुन् । भायोलेटा चामोरोकी छोरी क्रिस्टियाना चामोरो बारियोस पनि डेमोक्रेटिक रेस्टोरेसन पार्टी नामको दक्षिणपन्थी पार्टीकी नेतृ र चामोरो प्रतिष्ठानको अध्यक्ष छिन् । वासिङ्टन पोस्टले ह्वान चामोरो २०२१ को राष्ट्रपतीय निर्वाचनमा विपक्षीहरूको सर्वाधिक स्वीकार्य साझा उम्मेदवार भएको र उनको पक्राउ विपक्षीहरूमाथि सान्डिनिस्टा सरकारको दमनको सिलसिला भएको दाबी गर्दै ओर्टेगा सरकार नोभेम्बरमा हुने निर्वाचनमा आफ्नो अगाडि उभिएका कुनै पनि गम्भीर चुनौतीलाई दबाउन लागिपरेको आरोप लगायो ।
चामोरो २००२ देखि २००६ सम्म तत्कालीन राष्ट्रपति इनरिक बालानोसको सरकारमा एमसीए निकारागुआको प्रमुखदेखि सहायक अर्थमन्त्री र राष्ट्रपतिको प्राविधिक सचिवसम्म रहेर काम गरेका व्यक्ति हुन् । अहिले उनी ‘न्याय र प्रजातन्त्रको लागि नागरिक गठबन्धन’ नामको राजनीतिक दलका नेता हुन् । उनलाई कानुनविपरीत विदेशी सरकारको रकम सहायता स्वीकार गरेको र मुद्रा शुद्धीकरण गरेको अपराधमा पक्राउ गरिएको हो । चामोरोले यूएसएड, एनईडी र कैयौँ अमेरिकी गैरसरकारी प्रतिष्ठानहरूबाट रकम प्राप्त गरेको तथा त्यसलाई देशलाई अस्थिर पार्ने आपराधिक गतिविधि सञ्चालन गर्न खर्च गरेको प्रमाण भेटिएपछि कानुनी कारबाही अगाडि बढाएको हो । ह्वान सेवास्टियन चामोरो मात्र होइन, २०१८ को सत्ता विप्लवमा निकारागुआका सबैजसो दक्षिणपन्थी पार्टीहरू, पूर्व सान्डिनिस्टाहरूका क्रान्तिविरोधी गुटहरू र कैयौँ तथाकथित गैरसरकारी संस्थाहरू एवम् सान्डिनिस्टाविरोधी थिङ्क ट्याङ्कहरू अमेरिकी र युरोपेली रकम सहायताले चलिरहेको अनुसन्धान प्रतिवेदनले बताउँछ ।
अमेरिकी इतिहासकार एलेन वेइन्स्टिनका अनुसार यूएसएड विश्वव्यापीरूपमै शासन परिवर्तनको लागि अगाडि बसेर काम गर्ने सीआईएको छद्म सङ्गठन हो । सन् १९८३ मा गठन भएको एनईडीले आज त्यस्तै गुप्त वा परोक्ष गतिविधि गर्छ जस्तो गतिविधि सीआईएले त्यसअघि शासन परिवर्तनको लागि गथ्र्यो । सीआईए अत्यधिक बदनाम भएर त्यसको सहायता अस्वीकार्य हुनथालेपछि संरा अमेरिकाले यी छद्म सङ्गठनहरू गठन गरेर उस्तै गतिविधिलाई निरन्तरता दिएको हो । चामोरोको जस्तै आपराधिक गतिविधि गरेका केही विपक्षी नेताहरू र गैरसरकारी संस्थाका सञ्चालकहरूविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
आफ्नो देशको विद्यमान कानुन लागु गरिरहेको निकारागुआको सरकारमाथि तानाशाही चलाएको, मानव अधिकार हनन गरेकोजस्ता आरोप लगाउने पुँजीवादी सञ्चारमाध्यमहरूले अरू सार्वभौम देशहरूमा शासन परिवर्तनको षड्यन्त्र लागु गर्ने संरा अमेरिकी राजनीतिज्ञ र प्रशासकहरूलाई भने ‘विदेशी नेता’ र ‘अन्तर्राष्ट्रिय नेता’ शब्द प्रयोग गर्दै प्रजातन्त्रको रक्षकको रूपमा प्रस्तुत गर्ने गरेका छन् । ती सञ्चारमाध्यमहरूले संरा अमेरिकामा रहेका अरू देशमा शासन परिवर्तन गर्ने षड्यन्त्रकारीहरूको होमा हो मिलाउँदै शासन सत्ता परिवर्तनको माग गर्छन् मानौँ तिनीहरूले नै वैश्विक जनमतको प्रतिनिधित्व गर्छन् ।
इतिहासकार एलेन वेइन्स्टिनले आफ्नो एक लेखमा विश्लेषण गर्छन्– अमेरिकी टेलिभिजन सीएनएनले निकारागुआमा भएको पक्राउले ‘मानव अधिकार सङ्गठनहरू र अन्तर्राष्ट्रिय नेताहरूमाझ आक्रोश पैदा गरेको छ’ भन्यो । सीएनएनले समाचारको अर्को वाक्यमा ती ‘अन्तर्राष्ट्रिय नेताहरू’ को नाम भने बताउँदैन । त्यसले बरु अमेरिकी राज्य विभाग (विदेश मन्त्रालय) का प्रवक्ता नेड प्राइस र पश्चिमी गोलाद्र्धका लागि अमेरिकी राज्य विभागका सहायक सचिव जुली चुङ्ग र पछिबाट क्युवाली अमेरिकी मूलका कट्टर क्युवाविरोधी अमेरिकी तल्लो सदनका सदस्य मारिया इल्भिरा सालाजारलाई बोलिरहेको देखाउँछ । सीएनएनले अमेरिकी र विदेश मन्त्रालयका कर्मचारीहरू र एक रिपब्लिकन सांसदलाई नै अन्तर्राष्ट्रिय नेताका रूपमा देखाएर उनीहरूले निकारागुआमा चाहेको शासन परिवर्तनको इच्छालार्ई विश्व जनमतको रूपमा प्रस्तुत गर्छ । अर्को शब्दमा सीएनएन र अरू पश्चिमा सञ्चारमाध्यमहरूले अमेरिकी पुँजीपति वर्गका स्वार्थपूर्तिका लागि निकारागुआको सान्डिनिस्टा सरकार र ल्याटिन अमेरिकाका अरू कैयौँ जननिर्वाचित सरकारहरू अपदस्थ गर्न आफ्नो प्रशारण र प्रकाशनको शक्ति दुरुपयोग गरिरहेका छन् ।
Leave a Reply