रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर नगरपालिकाले विद्यालयस्तरको लागि स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री भाग २, ‘ख्वप पहिचान’ प्रकाशित गरेकोमा नगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छु ।
भक्तपुरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर बनाउने हामी सबैको साझा लक्ष्य हो । यो लक्ष्यलाई पूरा गर्न ‘ख्वप पहिचान’ को यो अङ्क एउटा थप इँटा साबित हुनेछ ।
यो पुस्तकमा समावेश इतिहासका सहप्राध्यापक डा. बलराम कायष्ठको ‘ख्वप दे’ को इतिहास लेखमा घरभित्रको विवादमा बाहिरको सहयोगको खोजीले हस्तक्षेप र आक्रमण हुने उल्लेख छ ।
अवकासप्राप्त इतिहासका सहप्राध्यापक विश्वमोहन जोशीको ‘ख्वप राजनीतिक अवस्थाको ऐतिहासिक परिचय’ लेखमा कर्णाली प्रदेशका राजा जितारी मल्लको खस सेनाले २ पटक नेपाल उपत्यका, विशेषगरी भक्तपुरमा आक्रमण गरेको उल्लेख छ । (लिच्छवी राजा आनन्ददेवले ख्वप (भक्तपुर) लाई नेपाल मण्डलको राजधानी बनाएको उल्लेख छ । त्यसअघि कान्तिपुर राजधानी थियो ।)
सहप्राध्यापक जोशीले दक्षिण भारतका चालुक्य वंशीय राजाका सेनापति नान्यदेवले नेपालको दक्षिणी भेग सिम्रौनगढमा राज्य स्थापना गरेको र तिव्बतको खारी प्रदेशका नागराजले पश्चिम नेपालको कर्णालीमा भोटको गुँगे प्रान्त, डोटी, जुम्ला समेटेर सिंजामा राज्य स्थापना गरेको उल्लेख गर्नुभएको छ ।
उहाँको लेखअनुसार अफगानी लडाकुहरूले भारतको विहारस्थित नालन्दा विश्वविद्यालय र विक्रमशील विश्वविद्यालयमा आक्रमण गरेपछि विद्वान, शिक्षक–विद्यार्थीहरू ग्रन्थहरू बोकेर नेपालको सिम्रौनगढ र नेपाल उपत्यकामा पसेका थिए । मुसलमानी सेनाले सिम्रौनगढमा फेरि आक्रमण गरेपछि विद्वानहरू नेपाल मण्डल काठमाडौँ नै पसे । ख्वपको साकोठा अर्थात् सफूकुथीमा ती ग्रन्थहरू राखिएको र पृथ्वीनारायण शाहले भक्तपुर आक्रमणको क्रममा यो सफूकुथीलाई आगो लगाई ध्वस्त पारेको सहप्राध्यापक जोशीको लेखमा उल्लेख छ ।
उपत्यकाका मल्ल राजाहरूको बेमेल हुँदा भक्तपुरका राजा रणजीत मल्लले गोर्खाको सहयोग पाउने अपेक्षा राखी आफ्नो छोरा वीरनरसिंह र गोर्खाली युवराज पृथ्वीनारायण शाहबीच मित लगाउन दिएको र पृथ्वीनारायण शाहले कान्तिपुर (काठमाडौँ) र ललितपुरमा हमला गरेको, त्यहाँका राजाहरू जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल दुवै भक्तपुर शरणमा पुगेको, भक्तपुरका राजा रणजीत मल्लले ती दुवै राजालाई पृथ्वीनारायण शाहसामु हस्तान्तरण नगरेपछि पृथ्वीनारायण शाहले भक्तपुरविरुद्ध हमला गरेको र विसं १८२६ मंसिर १ गते पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका (नेपाल मण्डल) कब्जा गर्ने आक्रमण टुङ्ग्याएको लेखमा उल्लेख छ ।
यो ऐतिहासिक घटनाक्रमले नेपाली जनताको सङ्गठित एकता प्रस्तुत नभए आउँदा दिनमा भारतीय शासकवर्गले नेपाली राजनीतिमा प्रभाव राखिराख्ने र नेपाली भूमि अतिक्रमण गर्ने कामलाई अझ तीव्र पार्ने देखिन्छ ।
त्यतिबेला पृथ्वीनारायण शाहले काठमाडौँ, ललितपुर र भक्तपुरका दरबारमात्र कब्जा गरे । २५० वर्षपछि अहिलेको तस्बिर हेर्दा काठमाडौँ उपत्यकामा बसाइसराई बढ्दो छ र विकास निर्माणको नाममा यहाँको खेतीयोग्य भूमि कङ्क्रिटको जङ्गलमा परिणत भइरहेको छ । दु्रतमार्ग, सुरुङ्गमार्ग, बाहिरी चक्रपथ, सुक्खा बन्दरगाह, मन्त्री र कर्मचारी आवास क्षेत्रको नाममा यहाँको कृषियोग्य भूमि विनास भई पर्यावरणीय सन्तुलन र पहिचान गुम्ने जोखिम बढ्दो छ ।
‘काठमाडौँ उपत्यकाको भूमिगत संरचना र भूकम्पिय प्रतिक्रिया’ विषयमा विद्यावारिधी गर्नुभएका डा. सुवेगमान बिजुक्छेँको लेखमा काठमाडौँ उपत्यका राम्ररी थिचिइनसकेको, थिलथिलो तालजन्य र नदीजन्य ग्रेगरले भरिएको उल्लेख छ । काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै माटोबाट जमिनमा सोसिएर जानुपर्ने पानी ढलान, पीच र निर्माण गरिएको सतहबाट बगेर खोलामा जाने र भूभिगत जलभण्डार पूर्ति हुने बाटो नै रोकिँदै गएको, अहिले भइरहेको भूमिगत जलभण्डारको दोहनसँगै ‘स्वनिग’ काठमाडौँ उपत्यकाको जमिन भासिने जोखिम देखिएको चिन्ताको विषय भएको उल्लेख छ । यसकारण, हामीले देशको सन्तुलित विकास योजना लागु गर्न र बसाइसराईलाई निरुत्साहित गर्न सरकारहरूको ध्यानाकर्षण गराउँदै आएका छौँ ।
उपप्राध्यापक जुनु बासुकलाको ‘भक्तपुरको पञ्जराँ पर्व’ लेखमा मानिस आफैले दुःख गरेर कमाएको धन देश र जनताको सेवामा काम गर्नेहरू र गरिबलाई दान दिन उत्साहित गरिएको छ ।
इतिहास र संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको ‘भक्तपुरको करुणामय लोकेश्वर महाविहार’ अन्न उत्पादनसँग सम्बन्धित भएको उल्लेख छ । ‘करुणामय लोकेश्वर’ भन्ने व्यक्ति त्यतिबेलाको कृषिविज्ञ हुनुपर्छ । यसबारे उहाँले थप अध्ययन गरी हामीलाई जानकारी गराउनुहुने अपेक्षा गर्दछु ।
२०४६ सालको जनआन्दोलनमा सहिद हुनुभएका भक्तपुरका सपुतहरूको जीवनी, किसान नेताहरू बुद्धिकुमार गोसाई र गोविन्द दुवालको जीवनी, लेखकहरू रमापतिराज शर्मा राजोपाध्याय, डा. योगेन्द्रप्रसाद प्रधानाङ्ग, गणेशबहादुर कर्माचार्य, बौद्ध दर्शनका प्रचारक प्रेमबहादुर श्रेष्ठका जीवनीले नयाँ पुस्तालाई आफ्नो परिवारको लागिमात्र होइन, समाज, देश र जनताको लागि काम गर्ने र बाँच्ने प्रेरणा दिन्छ ।
प्राध्यापक माणिकलाल श्रेष्ठको लेखमा शासक जातिभन्दा पहिला आएर नेपाल मण्डलमा बसेका नेवारहरू आदिवासी भएको, नेपालभाषा बन्नुभन्दा पहिला नेवार र तामाङहरूको एउटै भाषा भएको, पछि नेवारहरूले नेवारी बोल्न थालेको, शासक जातिभन्दा अलग्गै संस्कृति भएको नेवारहरू जनजाति भएको उल्लेख छ ।
सम्पदा संरक्षणविद् रविन्द्र पुरीले बाह्य प्रभाव र विश्वव्यापीकरणको प्रभावले नेपालको मौलिक सम्पदा र संस्कृति जोखिममा परेको तर भक्तपुरको मूर्त र अमूर्त सम्पदा जीवित अवस्थामा रहेको, काठमाडौँको बस्ती विकासको तस्वीर नै यहाँको सम्पदा भएको, यसले पर्यटन प्रवद्र्धनमा मद्दत गरेको, यहाँको न्वारान, ईहीँ, म्हपुजालगायत जीवन संस्कृतिका अमूर्त सम्पदालाई विश्व सम्पदामा सूचीकृत गराउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वन्यायाधीश एवम् सम्पदा संस्कृति अध्यता गौरीबहादुर कार्की (भक्तपुर, गुण्डु) ले आफ्नो ‘ङातापोँल (पाँच तलाको मन्दिर) पुर्खाको अनुपम उपहार’ लेखमार्फत नेपालको सबभन्दा अग्लो सम्पदा पाँच तलाको मन्दिर जीर्णोद्धारमा भएको भक्तपुरका जनताको समर्पणलाई बधाई दिनुभयो र नेपालको प्राविधिक विद्यार्थीलाई यो मन्दिर निर्माण विधिबारे अध्ययन र अनुसन्धान गराउनुपर्नेमा जोड दिनुभयो ।
सम्पदा र संस्कृति अध्येताहरू अभय श्रेष्ठ, ओम धौभडेल, सुदर्शना बज्राचार्य, सङ्घरत्न ‘निवा’ शाक्य, प्रमोदप्रसाद अवाल, लक्ष्मीभक्त बासुकला, अमोकरत्न शाक्यका लेख रचनाहरूले पनि भक्तपुरको पहिचानलाई विश्वसामु पस्कन मद्दत गरेका छन् ।
नेपाल भाषाका प्राध्यापक आशकुमार चिकंबञ्जार, स्काउटबारे लेख्नुहुने रामगोपाल कर्माचार्य, प्राध्यापक सिद्धिरत्न शाक्य, अवकाश प्राप्त प्रहरी अधिकृत सीताराम हाछेथू, सङ्गीत अध्येता एवम् प्रशिक्षिका इन्दिरा लाछिमस्यू, लेखिका सुनिता गाइसी र कृषिका विद्यार्थी सविन ख्याजूको लेख रचना पनि नयाँ पुस्तालाई उपयोगी नै हुनेछ ।
कतिपय लेख रचनामा लेखकहरूले प्रस्तुत विषयवस्तुमा भौतिकवादी व्याख्यालाई जोड दिनुभए नयाँ पुस्ताको निम्ति थप उपलब्धिमूलक हुनेछ । यो पुस्तक प्रकाशनमा लाग्नुभएका साथीहरू पनि धन्यवादका पात्र हुनुहुन्छ ।
अब म देशको राजनीतिबारे सङ्क्षिप्त उल्लेख गर्न चाहन्छु :–
सर्वोच्च अदालतबाट आज दिउँसो प्रतिनिधिसभा पुनःस्थापना भयो । तर, देशको राजनीतिमा अन्योल यथावत छ । दुई दिनभित्र देउवालाई प्रम नियुक्ति गरिए तीस दिनभित्र उनले बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेको राजनीतिक तस्वीरमा सत्ताको ‘कुकुर झगडा’ र सांसद खरिदबिक्रीको जोखिम बढ्दो छ । प्रदेशमा पनि यस्ता दृश्य देखिसकेको हो । अब पेश भइसकेको बजेट के हुन्छ ? नयाँ सरकार आए त्यसले पनि देश र जनताको हितमा गर्ने छैन । किनभने, सरकारमा गएका पार्टी र मन्त्रीहरू फरक भए पनि नीति फरक छैन । यो यथार्थ यस अगाडि नै पुष्टि भएको हो । उपप्रम र मन्त्री हुनेहरूको तानातान बढ्नेछ ।
अन्तर्राष्ट्रिय विषयमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एकसय वर्षबारे सङ्क्षिप्त उल्लेख गर्न चाहन्छु ः–
चिकपाको आयोजनामा असार २२ गते ‘चिकपा र संसारका राजनीतिक पार्टी’ विषयक शिखर सम्मेलन सम्पन्न भयो । सम्मेलनमा संसारका १६० देशका ५०२ राजनीतिक पार्टी र १० हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी थिए ।
यो शिखर सम्मेलनमा नेपालबाट नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पनि भाग लिनुभयो । उहाँले सम्मेलन अगावै शिखर सम्मेलन सफलताको शुभकामना पनि पठाउनुभयो ।
शिखर सम्मेलनमा चिकपाका महासचिव सी चिनफिङले आफ्नो सम्बोधनमा ‘जनताको हित नै राजनीतिक पार्टीहरूको जिम्मेवारी हुने, पृथ्वीमा देखिने साझा चुनौति सामना गर्नबाट कोही अलग रहन नसक्ने, ‘मेरो देश पहिला’ भन्ने भनाइले संसार दावानलजस्तो हुने, साझा भविष्यसहितको विश्व समुदायको भावनाले सहकार्यको अवसर मिल्ने, आफ्नै भलोमात्र खोज्नेहरू अन्ततः संसारबाट अस्वीकृत हुने, कोभिड–१९ भाइरसलाई कुनै भूगोलको बिल्ला लगाएर हेर्न नहुने, खोप सुलभताको लागि सहकार्य हुनुपर्ने, चीनले विकाशसील देशको प्रतिनिधित्व गर्ने, प्रभुत्ववाद नखोज्ने, नाकाबन्दी, विभाजन, निषेधको विरोध सबैले गर्नुपर्ने’ उल्लेख गर्नुभएको छ । सम्मेलनबाट एउटा साझा प्रस्ताव पनि पारित भयो ।
शिक्षक साथीहरूले यस्ता अन्तर्राष्ट्रिय विषयमा पनि नयाँ पुस्तालाई पाठ्य सामग्रीसँगै प्रशिक्षित गर्नुहुने अपेक्षा गर्दछु । धन्यवाद !
(भक्तपुर नगरपालिकाको प्रकाशन ‘ख्वप पहिचान’ – २, पुस्तक विमोचनमा २०७८ असार २८ गते राख्नुभएको मन्तव्य–सं.)
Leave a Reply