भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ भाग २ का लेखकहरूसँग बुधबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले ख्वपको पहिचानमा अमूल्य लेखहरू लेखी सहयोग गर्ने सम्पूर्ण लेखक तथा पाठ्यक्रम निर्माण कार्यदलप्रति धन्यवादज्ञापन गर्नुभयो ।
कला संस्कृतिको नगर भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, सम्पदा, स्थानीय खेलकुद तथा विभिन्न व्यक्तित्वहरूको जीवनीबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नगरपालिकाले ख्वपको पहिचान पुस्तक प्रकाशनमा ल्याएको प्रमुख प्रजापतिले बताउनुभयो ।
पुस्तकको अर्को भाग प्रकाशनको तयारीमा नगरपालिका जुटेको अवगत गराउँदै नगर प्रमुख प्रजापतिले जनताको साथ र सहयोगले नगरपालिकालाई काम गर्न सजिलो बनाएको र ख्वपको पहिचान भक्तपुरवासीहरूको निम्ति अमूल्य सम्पत्तिको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाले नगरका महत्वपूर्ण सम्पदाहरूको विषयमा पर्यटकहरूलाई सङ्क्षिप्त जानकारी दिन सम्पदास्थलमा परिचय बोर्ड राख्ने तयारी भइरहेको बताउँदै उहाँले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषाका विषयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सहभागी लेखकहरूले उक्त पुस्तकमाथि रचनात्मक सुझावहरू राख्नुभयो ।
लेखक लक्ष्मीभक्त बासुकलाले विद्यार्थीहरूमा स्थानीय विषयवस्तुको महत्व धेरै भएको बताउँदै स्थानीय खेलले बालबालिकाको मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
लेखिका सुुनिता गाइसीले स्थानीय पाठ्यक्रम आफैमा महत्वपूर्ण विषय भएको र भक्तपुर नपाको अगुवाइमा प्रकाशित यस पुस्तक पठनीय र सङ्ग्रहणीय भएको बताउनुभयो ।
लेखक विश्वमोहन जोशीले आफ्नो क्षेत्रको संस्कृति थाहा नहुनु भनेको आफ्नो आत्मगौरव गुमाउनुसरह भएको बताउँदै इतिहास, भूगोल तथा संस्कृति पढ्ने विद्यार्थीहरु झन्झन् कम हुँदै गएको समयमा भक्तपुर नपाले ती विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु प्रशंसनीय भएको बताउनुभयो ।
सम्पदाप्रेमी रवीन्द्र पुरीले स्थानीय पाठ्यक्रमले भक्तपुरको मूर्त अमूर्त सम्पदा उजागर गर्न जोड दिएको र देशको शिक्षा नीति सुधार्न तथा भक्तपुरको पहिचान दिलाउन पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।
लेखक रत्नसुन्दर शाक्यले पाठ्यक्रममा समाविष्ट विभिन्न व्यक्तित्वहरूको जीवनीबारे नयाँ पुस्ताले पढ्ने अवसर पाउनु सुखद पक्ष रहेको बताउँदै भक्तपुरको पहिचान दिलाउन यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
लेखक सुवेगमान बिजुक्छेँले विद्यार्थीहरुसँग स्थानीय कला, संस्कृति, परम्परालगायतका विषयमा निकै कम जानकारी भएको हुँदा विद्यालयस्तरदेखि नै पाठ्यक्रम लागु गरी सीपमूलक ज्ञान प्रदान गर्ने नगरपालिकाको प्रयास स्वागतयोग्य भएको बताउनुभयो ।
लेखक महेन्द्रगोपाल कर्माचार्य र गौरीबहादुर कार्कीले नगरपालिकाद्वारा प्रकाशित पाठ्यक्रमले विज्ञानलाई पनि सँगसँगै लाने प्रयास गरेको, स्थानीय पाठ्यक्रम पढाउने शिक्षकहरूलाई उत्प्ररणा दिँदै लानुपर्ने, भक्तपुरका गौरवका कारण नयाँ पुस्तालाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले नगरपालिकाको आग्रहमा खोजमूलक लेख तयार गर्न सहयोगी भूमिका खेल्नुहुने सबै लेखकहरूप्रति आभार प्रकट गर्दै स्थानीय पाठ्यक्रमबारे देखिएको भ्रमलाई चिर्न पुस्तकले भूमिका खेलेको बताउनुभयो ।
Leave a Reply