“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
जुलाई ११ आइतबारको दिन क्युवाको एक सहर सान एन्टोनियो डे लोस बोनोसमा सरकारविरोधी प्रदर्शन भयो । विरोध प्रदर्शनको नाममा असामाजिक तत्वहरूले प्रहरी पोस्टहरू जलाउनुका साथै पसलहरूमा तोडफोड र लुटपाट मच्चाए । ६ दशकदेखि अमेरिकी र युरोपेली नाकाबन्दी झेलिरहेको देश क्युवामा विभिन्न उपभोग्य वस्तु, बिजुलीमात्र नभई औषधि, चिकित्सा सामग्रीसमेत अभाव भएको समाचार आइरहेकै हो । उक्त अभाव समस्या समाधान गर्न क्युवाली समाजवादी सरकारले भरमग्दुर प्रयास पनि गर्दै आएको छ । त्यसैलाई निहुँ बनाएर संरा अमेरिकी सरकार र अमेरिकामा बसिरहेका क्रान्तिविरोधी क्युवाली दक्षिणपन्थीहरूले महिनौँ लगाएर क्युवाली सरकारविरूद्ध प्रदर्शन गराउने योजना गरेको खुलेको छ । क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिग्वेज पेरिल्लाले क्युवामा विरोध प्रदर्शनको नाममा अशान्तिको क्रियाकलाप गर्नमा अमेरिकी उक्साहटमात्र नभई सहयोग रहेको दाबी गर्दै कसैले खोजेमा प्रमाणसमेत देखाउन सकिने बताएका छन् ।
क्युवामा उक्त एउटा प्रदर्शन हुनेबित्तिक्कै अमेरिकी सिनेटर मार्को रूबियो, कङ्ग्रेसकी सदस्य भाल डेमिङ्सलगायत कैयौँ अमेरिकी राजनीतिकर्मीहरूले क्युवामाथि हस्तक्षेप गर्न अमेरिकी राष्ट्रपतिसित माग गरे । संरा अमेरिकाले अहिले पनि निरन्तर क्युवामाथि हस्तक्षेप गरिरहेकै छ । उसले विभिन्न प्रतिबन्धहरू र क्रूर आर्थिक नाकाबन्दी लगाएर क्युवाली अर्थतन्त्रलाई पक्षघात गरिरहेकै छ, क्युवाली नेताहरूलाई मार्ने हत्याका षड्यन्त्रहरू सयौँपटक गर्न लगाएकै छ, आतङ्ककारीहरू परिचालन गरी हवाईजहाज अपहरण, बमबारी र रासायनिक आक्रमणहरू गराइरहेकै छ, क्युवाली क्रान्ति, क्युवाली नेताहरू र जनताविरूद्ध झूटा प्रचार गराइरहेकै छ । ह्वाइट हाउसले क्युवाविरूद्ध गर्न बाँकी काम भनेको प्रत्यक्ष सैनिक आक्रमणमात्र बाँकी छ । परिणाम प्रत्युत्पादक हुने निश्चित भएकोले क्युवामाथि प्रत्यक्ष सैनिक आक्रमण गर्ने आँट अमेरिकी शासकहरूले गर्न सकिरहेका छैनन् ।
क्युवामात्र होइन, संरा अमेरिकी पुँजीपति र शासकहरूको स्वार्थविरूद्ध जाने कुनै पनि देश र सरकार अमेरिकी निशानामा पर्ने गरेका छन् । केही दिनअघिमात्र क्युवाको छिमेकी देश हाइटीका राष्ट्रवादी राष्ट्रपति जोभेनेल मोइसेको क्रूरतापूर्ण हत्या भयो । राष्ट्रपति मोइसेको हत्या त्यहाँ अमेरिकी सेना पुनः प्रवेश गराउने बहाना बनाइएको छ । दक्षिण अमेरिकाको अर्को देश पेरूमा गत महिना सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार पेड्रो कास्टिल्लो निर्वाचित भएपछि त्यहाँका दक्षिणपन्थीहरूलाई उक्साएर निर्वाचन परिणाम घोषणा हुन नदिने कानुनी र गैरकानुनी जालझेल भइरहेका छन् । पेरूका दक्षिणपन्थी नेताहरूलाई त्यहाँको अमेरिकी राजदूतावासका गुप्तचर प्रमुखले नियमितरूपमा निर्देशन गरिरहेको चर्चा स्थानीय सञ्चारमाध्यमले गरिरहेका छन् । भेनेजुयाला, बोलिभिया, निकारागुआ, अर्जेन्टिना, मेक्सिकोलगायत देशमा अस्थिरता मच्चाउन अमेरिकी गुप्तचर र सरकारी एजेन्सीहरूको सक्रियताको खुलासा भइरहेका छन् ।
मध्य अमेरिका, क्यारिबियाली क्षेत्र र दक्षिण अमेरिकी महादेशका देशहरूमा ल्याटिन मूलको स्पेनियाली र पोर्चुगाली भाषा व्यापकरूपमा बोलिने हुनाले त्यस समग्र क्षेत्रलाई ल्याटिन अमेरिका भन्ने गरिन्छ । संरा अमेरिका नजिकको क्षेत्र भएको हुनाले त्यहाँ संरा अमेरिकाको चासो हुनु त स्वाभाविकै हो तर उसले ती देशमा चासोमात्र नभई हस्तक्षेप नै गर्दै आएका छन् । मुनरो डक्ट्रिन लागू गरेदेखि संरा अमेरिकी शासक वर्गले ल्याटिन अमेरिकालाई आफ्नो देशको करेसाबारी मान्दै आएका छन् । ल्याटिन अमेरिकामा जति अमेरिकी गुप्तचर संस्थाहरूको सक्रियता र रक्तरञ्जित सत्ता विप्लव गराउनमा सफलताका घटनाहरू छन् विश्वका अरू भागमा सायदै होलान् । अमेरिकी गुप्तचर संस्था –सीआईए जुन जुन देशमा पस्यो त्यो त्यो देश राजनीतिकरूपमा अस्थिर हुनेमात्र नभई रगतको खोलो बग्ने गरेको छ । हजारौँ र लाखौँ प्रगतिशील, देशभक्त र क्रान्तिकारी नेता कार्यकर्ता र जनताको हत्या गर्ने गराउने घटना भएका छन् । ल्याटिन अमेरिकाका सार्वभौम देशहरूमाथि अमेरिकी हस्तक्षेप निन्दनीय छ ।
Leave a Reply