भर्खरै :

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौँ, ३१ असार । नेपालको मालवस्तुको निर्यात रु. एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यको आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ । चालु आवको ११ महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको केन्द्रीय बैङ्कले जनाएको छ ।
यस्तै हवाईजहाजका पार्टपुर्जा, कच्चा पामतेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, चाँदीलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६.४ प्रतिशतले घटेको थियो ।
उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशतमा सीमित
चालु आर्थिक वर्षको ११ औँ महिनामा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको हो ।
केन्द्रीय बैङ्कका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ । विसं २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा तराई क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । बैङ्कका अनुसार जेठमा काठमाडौँ उपत्यकामा ३.८७ प्रतिशत मुद्रास्फीति रहँदा तराईमा भने ४.४७ प्रतिशत छ । यस्तै पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फीति रहेको छ । विसं २०७७ जेठमा यी क्षेत्रमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फीति थियो ।
आठ खर्ब ७० अर्ब विप्रेषण भित्रियो
विदेश जाने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु. आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई रु. सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या जेठ मसान्तसम्म ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३१.१ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु. नौ खर्ब ७१ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *