भर्खरै :

बालबालिकालाई खोप लगाउने तयारी गर्दै भारत

नयाँ दिल्ली, २९ अगस्ट । भारतले आगामी अक्टोबर महिनादेखि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिड–१९ खोप दिने तयारी थालेको छ । भारतको औषधि व्यवस्था विभागले जेडस कादिला कम्पनीको खोप जेकोभ–डीलाई गत अगस्ट २० मा प्रयोग अनुमति प्रदान गरिसकेको छ । भारतमा १२ वर्षमाथिका केटाकेटीलाई दिन अनुमति पाउने यो नै पहिलो खोप हो ।
कोरोना भाइरसको तुरून्त सङ्क्रमण हुनसक्ने अन्य शारीरिक समस्या भएका बालबालिकालाई खोपको निम्ति पहिलो प्राथमिकतामा राखिने भारत सरकारअन्तर्गत खोप व्यवस्थापनको जिम्मेवारी पाएको प्यानलका प्रमुख एनके अरोराले भने ।
उनले त्यसको निम्ति सरकारले तथ्याङ्क जम्मा गर्ने काम गरिरहेको बताए । अरोराले कुनै पनि अन्य शारीरिक समस्या नभएका सामान्य अवस्थाका बालबालिकालाई सन् २०२२ को पहिलो ६ महिनामा नै खोप दिइने बताए । भारतमा १२ देखि १७ वर्ष उमेरका १२ करोडभन्दा बढी बालबालिका छन् । उनीहरूमध्ये १ प्रतिशतमा अन्य शारीरिक समस्या भएको सरकारी तथ्याङ्कले जनाएको छ ।
“जहाँसम्म कोभ्याक्सिनको कुरा छ, त्यसको दुई वर्षभन्दा माथिका बालबालिकामा परीक्षण भएको छ । अक्टोबरको अन्त्यबाट त्यसको पनि खोप अभियान थालनी हुनेछ”, उनले भने ।
भारतमा दुई वर्षभन्दा माथिका बालबालिकाको जनसङ्ख्या ४४ करोड भएको भन्दै खोप लगाउन त्यो सङ्ख्या पनि सानो नभएको बताए ।
जेकोभ–डी खोप कोरोनाभाइरस रोगविरूद्ध संसारकै पहिलो डीएनए खोप हो । यसलाई तीन मात्रामा दिइन्छ । सार्स–कोभ–२ भाइरसकै आनुवंशिक तत्वको हिस्सा–डिअक्सरिबोन्युक्लिक एसिड अथवा रिबोन्युक्लिक एसिडलाई लिएर भाइरसविरूद्ध प्रतिरोध क्षमताको विकास गर्ने प्रविधिमा यो खोप आधारित छ । खोप लक्षणसहितको बिरामीलाई ६६ प्रतिशत प्रभावकारी र सामान्य सङ्क्रमणको लागि शतप्रतिशत प्रभावकारी भएको परीक्षणमा देखिएको छ । यसैबीच सरकार प्यानलका प्रमुख आरोराले चरणबद्धरूपमा विद्यालय सञ्चालन गर्न सल्लाह दिएका छन् । उनले विद्यार्थीका परिवारका आमाबुबा र अन्य सबै सदस्यलाई खोप लगाउन पनि आग्रह गरेका छन् । उनले विभिन्न वैज्ञानिक अध्ययनले वयस्कको तुलनामा केटाकेटीलाई कोभिड–१९ सङ्क्रमणको प्रभाव कम हुने गरेको बताउँदै बालबालिकाको बौद्धिक विकासको निम्ति विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।
“बालबालिकालाई विद्यालय पठाउन सकिन्छ”, उनले भने,“बालबालिकालाई खोप लगाइहाल्नु पर्दैन । तर, उनीहरू वरपर भने बलियो रक्षाकवच बनाउनुपर्छ । त्यो भनेको अभिभावक र विद्यालयका सबै शिक्षक र कर्मचारीले खोप लगाउन जरूरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *