भर्खरै :

विद्यालय नखोल्दा विद्यार्थीहरू अन्योलमा

कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको कारण विद्यालय र कलेज खोलेका छैनन् । यसले एकातिर विद्यार्थी विद्यालय र कलेज पुगेर कहिले पढ्न पाउलान् भन्ने चिन्ता र चासो बढाएको छ भने अर्काेतिर विद्यालय र कलेज पढाउँदा कतै विद्यार्थीलाई कोरोना लाग्दैन र भन्ने अर्काे चिन्ता र चासो पनि छ । अनलाइन कक्षामा सबै विद्यार्थीहरू सहभागी नहुनु या पहुँच नपुग्नाले पनि सशरिर उपस्थितिमा कक्षा सञ्चालन हुनुपर्ने एकथरीको मत छ भने पढाइभन्दा ज्यान ठुलो भएको हुँदा कोरोना भाइरस अन्त्य नभएसम्म विद्यालय खोल्नु बुद्धिमानी नहुने अर्काे थरीको मत छ ।
कोरोनाको कारण लाखौँ विद्यार्थी पढाइबाट वञ्चित छन् । पढाइ छोड्न बाध्य विद्यार्थीहरू घर व्यवहार र खेतीपातीमा संलग्न भएर परिवारको काममा सघाइरहेको एकथरी अभिभावकको मत छ भने पढाइ नभएदेखि आफ्ना सन्तानहरू यताउति डुलेर, लागेर बानी बिग्रेको, सम्झाउन बुझाउन गा¥हो भएको अर्काेथरीका अभिभावकको मत छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बढेकै छ र निषेधाज्ञाको म्याद पनि थपेको थप्यै छ । यो स्थितिमा विद्यालय र कलेज तत्काल खोल्ने स्थिति देखिँदैन ।
माध्यमिक कक्षामा अध्ययनरत विद्यार्थीहरूको लागि खोप पनि दिइएको छैन या उनीहरूलाई दिने खोप पाएको छैन । खोप नदिइकन विद्यालय कसरी खोल्ने भन्ने समस्या पनि छ । विद्यालय नै खोले पनि कुनै विद्यार्थीलाई कोरोनाले छोयो भने त्यसको जिम्मेवारी को हुने ? प्रश्न उठ्छ । विद्यालयमा कुनै एक विद्यार्थीलाई कोरोनाले छोयो कि त्यो तुरुन्तै अन्य धेरै विद्यार्थीलाई सर्ने सम्भावना हुन्छ । एक जनाको कारण विद्यार्थीहरूबीच मात्र होइन परिवारका सदस्यहरूमाझ रोग फैलेर अर्काे महामारी हुन बेर लाग्दैन । सरकारले निःशुल्क औषधि नव्यहोरेको यो घडीमा या महँगो खर्चले सर्वसाधारण जनताले उपचार गर्न नसकिरहेको बेला आफ्नो सन्तानलाई अभिभावकले त्यति सजिलै विद्यालय पठाउलान् भन्ने विश्वास पनि गर्न सकिँदैन ।
अनलाइन कक्षा चल्दाचल्दै कति विद्यार्थीहरू प्रश्न गर्छन्, अब कहिलेदेखि स्कूल खुल्छ ? के विद्यालय खोल्ने लक्षण छैन ? अनलाइन कक्षामा बस्दा र बाँकी समय घरमै बसिरहँदा या आफ्ना साथीहरूसँग घुलमिल हुन नपाउँदा, भिज्न नपाउँदा या भेटघाट हुन नपाउँदा वाक्क दिक्क हुनु अस्वाभाविक होइन । पहुँच पुगेर पनि पढाइमा ध्यान नदिने, अनलाइन कक्षामा नियमित नबस्ने, एकक्षण बसेर कक्षा छोड्ने विद्यार्थीहरू पनि नभएका होइनन् । कति विद्यार्थी विद्यालय जान नपाएर छटपटिएको अवस्था छ । अनलाइन कक्षा सञ्चालनमा विद्यार्थीको नाम थाहा पाए पनि कति शिक्षकले विद्यार्थी चिनेका हुँदैनन्, उनीहरूको आनीबानी थाहा हुँदैन । वैशाखको पहिलो हप्तादेखि अनलाइन कक्षा सञ्चालन भए पनि कति विद्यार्थीसँग अहिलेसम्म किताबै नभएको देखिन्छ । विद्यार्थीसँग किताबै छैन भने उसले के पढ्छ, के लेख्छ र के अभ्यास गर्छ ? दुर्गम या विकट अर्थात् गाउँ बस्तीका विद्यार्थीहरू त अनलाइन कक्षामा पनि सहभागी हुँदैनन् या चाहेर पनि उनीहरूलाई त्यो सुविधा हुँदैन ।
विद्यार्थीहरू विद्यालय जान नपरेपछि अबेलासम्म सुत्ने, ढिलो गरी उठ्ने र पढाइभन्दा अर्काे धन्धामा व्यस्त भएको अभिभावकहरूको गुनासो गलत होइन । विद्यार्थीहरू भौतिकरूपमा विद्यालयमा पढ्न नपाएपछि कहीँ २५ प्रतिशत त कहीँ ५० प्रतिशतभन्दा बढी विद्यार्थी पढाइबाट छुटेको भनाइ छ । सारमा विद्यालय नखुलेको कारण विद्यार्थीहरूको पढाइ बिग्रेको या कमजोर भएको कुरा अभिभावकहरू बताउँछन् । विद्यार्थीहरूलाई लिने परीक्षा पनि भरपर्दाे देखिँदैन । कति नक्कल गरिएको हुन्छ । विद्यार्थीहरूको कक्षामा उपस्थितिको आधारमा अङ्क दिने प्रावधान ज्ञानको नापो पनि होइन । विद्यार्थीहरूको वास्तविक पढाइको स्तरको नापो गर्न कठिन भएको शिक्षकहरूको भनाइ रहेको छ । कोरोना रोग कहिले अन्त्य हुन्छ र विद्यालय कहिले खुल्छ, अहिलेसम्म कुनै यकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *