भर्खरै :

भक्तपुर काण्डमा यसरी लडेका थिए महिलाहरू

वि.सं. २०४५ भाद्र ९ बिर्सनै नसकिने त्रासदीपूर्ण दिन हो । २०४५ भाद्र ५ को विनासकारी भूकम्पले भक्तपुरलगायत देशभर धक्का पु¥याएको थियो । २०४५ साल भाद्र ९ तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका नेता तथा कार्यकर्ताका परिवारजनको जीवनमा दुःखदायी कम्पन ल्याएको दिन थियो । २०४५ भाद्र ५ को भूकम्पले भत्केका घरहरूका परिवारजनलाई राहत वितरण गर्ने निहुँमा सरकार आफैले लागु गरेको नियमविपरीत तत्कालीन भू.पू. राष्ट्रिय पञ्चायत सदस्य (रापस) कर्ण ह्योजुमार्फत घर नभत्केका तर सरकार पक्षधर व्यक्तिहरूलाई राहत वितरण गर्दा भएको पक्षपातलाई निहुँ पारेर २०४५ साल भाद्र ९ मा राज्यस्तरबाट भक्तपुर काण्ड मच्चाएको थियो । प्रहरीले नेमकिसका श्रद्धेय नेता, भक्तपुरका तत्कालिन जिल्ला सभापति, प्रधानपञ्च (मेरो बुबा आशाकाजी बासुकला) लगायत सबै जनप्रतिनिधिहरूलाई सरकारी बैठक भनी छानी छानी घरघरबाट झुक्याएर रातारात थुन्न लगेको थियो । मेरो बुबालाई त तत्कालीन प्रमुख जिल्ला अधिकारी स्वयं (एक जना अङ्गरक्षकमात्र देखिने गरी आएर) ले ढोका घच्घच्याएर राति घरबाटै सो घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा आपत्कालीन बैठक बस्नको लागि भनी लिएर गएका थिए । मध्यरात÷बिहानको भोर समयपछि मात्र सबै जनप्रतिनिधि र प्रायः कार्यकर्ताहरूका परिवारजनहरूले आफ्नो एक आपसको संवादपछि मात्र आफ्ना प्रियजनहरूलाई थुनामा लिएर गएको थाहा भएको थियो । तर पनि उहाँहरूको अवस्थाबारे ज्ञात भएको थिएन । बल्ल दुई दिनपछि (२०४५ साल भाद्र ११ मा) उहाँहरू सबैलाई हनुमानढोका खोरमा अमानवीय तरीकाले कुटपिट गरिराखेको छ भन्ने जानकारी पाएको थियो । यहीँ निहुँमा नेमकिसका सम्पूर्ण राजनैतिक बन्दीहरूलाई आजीवन थुनामा राख्ने जालझेल र षड्यन्त्र राज्यस्तरबाटै रचिएको थियो । अझ मृतक ह्योजुको शवयात्रामा बहालवाला प्रधानमन्त्री आफै उपस्थित भई ‘रोहितलाई फाँसी दे’ भनी नारा लगाएको हुँदा राज्यस्तरको षड्यन्त्र भएको पुष्टि भएको थियो । (यो सम्बन्धमा का. रोहितलाई फाँसी दे भन्ने किताबमा ह्योजु काण्डको विस्तृतरूपमा केस्रा केस्रा केलाइएको छ ।)
त्यो बेलाको समय हामीहरूको लागि अहिलेको कोराना (Covid-19) र सोको Lock Down भन्दा कम थिएन । यसबेला कोरानाबाट बच्न भौतिक दुरी, मास्क, घरभित्र पनि एकाङ्की बस्नुपर्छ भने त्यो बेला शत्रुसँग हरबखत सतर्क भई, भूमिगत, छद्मभेष र पृथक जीवन जिउनुपर्ने कार्यकर्ता, नेता एवं परिवारजन एक आपसमा बस्न बाध्य थियो । यसबेला पनि बढी जिम्मेवारी महिलामा छ, त्यो बेला पनि प्रत्यक्ष अप्रत्यक्ष जिम्मेवारी र सङ्घर्ष महिलाको काँधमा थियो ।
त्यो बेला घरका प्रायः केटा मान्छेहरू कि त जेलमा, कि त भूमिगत वा अन्य जिल्लामा निर्वासित थिए । त्यही भएर थुनामा र भूमिगत भएका नेता कार्यकर्ताको घरका महिलाहरू श्रीमती, छोरी, बुहारी, दिदी–बहिनीहरूले साहसी भएर घरायसी, राजनैतिक एवं अदालती कार्यहरू निर्भयका साथ गरेका थिए । त्यसबेला महिलाहरूले त्यसरी काम नगरेका भए न त आ–आफ्नो घर परिवार सम्हालिन्थ्यो न त यो पार्टी नै यस अवस्थामा जीवन्त हुनसक्थ्यो । महिलाहरूको अदम्य र अद्वितीय साहसकै कारण नेता कार्यकर्ताले आफू पनि सम्हालिएर त्यो दुखान्त समय अति कष्टका साथ पार गरी हाम्रो प्यारो यस पार्टीलाई चलायमान बनाउन सफल भएको हो ।
भाद्र महिनाका ती काला दिनहरूमा सबै परिवारजनले अति पीडा सहेका थिए । तिनीहरू डगमगाएका थिएनन् । हरेक दिन प्रत्येक घरघरमा खानतलासी गरेर राज्यले मानसिक यातना दिएको थियो । सरकारले सहृदयी नेता रोहितको घरबाट खानतलासी सुरु गरेर क्रमशः नेता, जनप्रतिनिधि र कार्यकर्ताका घरघरमा खानतलासी गरेको थियो । अझ उपलब्ध भएको उबेलाको सञ्चार टेलिफोनको लाइनसमेत काटिएको थियो । यसले गर्दा एकआपसमा सूचना आदानप्रदानलगायत दुःखका कुरा गर्न पाएको थिएन । म त्यसबेला महाराजगञ्ज नर्सिङ कलेज, काठमाडाँैमा नर्सिङ कोर्समा अध्ययनरत थिएँ । घरको जेठो सन्तान भएको नाताले मैले घरव्यवहार, स–साना भाइ बहिनीहरूको रेखदेख तथा यस जाली मुद्दाको सम्बन्धमा वकिल तथा कार्यालयहरूमा सम्पर्क गरिरहनुपथ्र्यो । ८५ वर्षका हजुरबुबा आफ्नो मृत्यु भयो भने आफ्नो प्यारो एक्लो छोराले दागबत्ती दिने भएन भनेर भक्कानिनु हुन्थ्यो । अर्कोतिर आमाको व्यथा उस्तै थियो । सबैलाई म सम्झाउँथेँ । आफूलाई भने कसले सम्झाउने, मनको बह कसैलाई नकह भन्थे र सोही अनुसरण गर्दै समयअनुसार कर्मपथमा लागिरहेँ – एकदिन बुबालगायत सम्पूर्ण राजबन्दीहरू निष्कलङ्क र स–सम्मान रिहा हुनुहुन्छ भनेर ।
एकातिर अड्डा अदालत धाउने, वकिलहरूलाई भेट्ने, आवश्यक कागजात र प्रमाणहरू जुटाउने र सम्बन्धित ठाउँमा पु¥याउने, अर्कोतिर घरव्यवहार एवम् बुबालाई आवश्यक सरसामान लगिरहनुपर्दा आफ्नो पढाइ त कता हो कता बेहाल हुनपुग्थ्यो । अझ न्यायको लागि विभिन्न व्यक्तिहरूसँगै हिँड्दा, भेट्नुपर्दा समाजबाट लगाइने मानसिक तनाव र सामाजिक लाञ्छनाको त हिसाब किताब नै छैन र कहिलेकाहीँ दिमाग नै खलबलिन्थ्यो । यसै क्रममा विशेष अदालत (त्यो बेला सिंहदरबारभित्रै भर्खर स्थापना भएको) मा बुबाहरूको मुद्दाको पेशी थियो र त्यही दिन मेरो PCL नर्सिङको परीक्षा पनि । पढ्ने कुरै भएन, बिहान–बेलुका वकिल तथा मानव अधिकारवादीहरू (सिन्धुनाथ प्याकुरेल, कृष्ण भण्डारी, बालकृष्ण न्यौपाने, हृषिकेश शाह, आदि) को घर – घरमा धाउँदै ठिक्क ¤ ती सबैले निःस्वार्थ विनापारिश्रमिक हाम्रो पक्षमा न्यायको लागि अदालत र जनतामा वकालत गरिदिनुभएको हुनाले उहाँहरू सबैप्रति कृतज्ञताका साथ सदा नमन ¤
झूटा मुद्दाको निरन्तर चलेको पेशीको एक दिन जम्मा आधा घण्टाभित्र सिंहदरबारभित्रको विशेष अदालतबाट महाराजगञ्जको नर्सिङ क्याम्पसमा परीक्षा दिन पुग्नुपर्ने थियो । ट्याक्सी चढेर परीक्षा दिन गएँ । धन्न, परीक्षा हलमा त पुगियो, परीक्षामा के लेखेँ थाहै भएन । त्यो विषयमा अनुत्तीर्ण हुन्छ कि भन्ने पिर थियो, तैपनि जेनतेन पास भयो । सायद छोरीको अथाह कर्तव्य–परायणता र बुबाआमाको सत्कर्मको फल होला ¤ यही सिलसिलामा एकजना वकिलको घरमा जाँदा कुकुरले टोकेको दुःखद घटना पनि बरोबर सम्झिन्छु ।
म कलेज जाने बेला र त्यस काण्डको मुकाबिला गर्ने सिलसिलामा बाटोमा हिँड्दा मलाई कतिजना आफ्नै भन्नेहरूले समेत ज्यानमाराकी छोरी आयो, गयो’ भनेको सुनेकी छु । त्यस्तै अन्य नेता कार्यकर्ताका परिवारजनले पनि ‘ज्यानमाराकी श्रीमती, परिवारजन’ भनी कठोर वचन सुन्नुपरेको थियो । त्यति हुँदा पनि मलगायत अन्य परिवारका महिलाहरूले एक अर्काका घरघर गई कुरा बुझ्ने, भोलिका कार्यक्रमबारे छलफल गर्ने, पत्रपत्रिका, सूचना, पर्चा – पम्प्लेट आदि राति राति बाँड्ने, भित्तामा टाँस्ने गरेका थियौँ । किनभने, महिलालाई समातिने डर अलि कम थियो तर जोखिम भने हामीले मोलेका थियौँ । यसरी हामी महिलामा अदम्य साहस थियो । किनभने, हाम्रा प्रियजन निर्दोेष हुनुहुन्थ्यो । उहाँहरूको पार्टीको उद्देश्य राम्रो भएको हुँदा प्रियजन र पार्टीलाई हरहालतमा जीवन्त गर्नु थियो जसरी हामी महिलाले बच्चा जन्माउनु हुर्काउनु हामी महिलाहरूको मात्र क्षमता र मातृत्व होे ।
त्यसबेला जेलमा परेकाहरूलाई हरेक वडा – वडाबाट चामल, तरकारीजन्य खाद्यान्न जेलमा पु¥याउन लग्थे त्यो पनि प्रायः महिलाहरूले नै । खाद्यान्न दिने निहुँमा तरकारी, चिनी, दाल आदिलाई पत्रपत्रिकामा लपेटेर लगिन्थ्यो प्रियजनले घरको हालखबर र देशको समसामयिक सूचना पढ्न सकून् भनी । विभिन्न घटनाहरूमध्ये एउटा घटना एकदमै याद आउँछ र अहिले पनि आङसिरिङ हुन्छ । मैले चिनीभित्र एउटा पत्रलाई डल्लो बनाई बुबालाई दिन सेन्ट्र«ल जेलको गेटमा भएको पुलिसलाई दिएकी थिएँ । पुलिसले चिनी चलाएर हेर्दा उक्त पत्र लिएको देखेपछि हतारहतार पुलिसको हातबाट थुतेर चिट्ठी लिएकी थिएँ । त्यो बेला बुबा र मलगायत का. रोहितलाई पनि आश्चर्यमा पा¥यो । का. रोहितले २०७६ सालमा स्मरण गराउनुहुँदा मलाई सम्झना भयो । पुलिस अक्क न बक्क भयो ¤ म पनि केही नभएको जस्तै हिँडे । यस्तै गरी बुबाले जेलमा नै ःब् गरिरहनु भएकोले किताबहरू दिने सिलसिलामा पत्रपत्रिकालाई किताबको गाता÷खोल बनाएर जेलमा बुबालाई दिएकी थिएँ ।
त्यस्तै, त्योबेला खाना पकाउने अहिलेजस्तै ग्याँस थिएन र जेलमा बुबाहरूले मट्टीतेलको स्टोभमा खाना पकाउनुपथ्र्यो । तर, हाम्रो घर तथा प्रायः सबै किसानको घरमा खेतबारीबाट आउने पराल, छ्वाली, मकैका खोका, स्याउलाहरू बालेर खाना पकाइन्थ्यो । त्यसबेला घरघरमा दिइने ५÷५ लिटरको मट्टीतेलको कुपन छिमेकीसँग मागेर र किनेका १०÷२० लिटर मट्टीतेलको ग्यालिन काठमाडौँको सेन्ट्रल जेलसम्म माइतीघर बसस्टपबाट हातैमा बोकी हिँडेर बुबालाई पु¥याएर महाराजगञ्ज नर्सिङ कलेज पढ्न जान्थँे । त्योबेला त्यत्रो आँट कहाँबाट आयो थाहा थिएन । मात्र यति थाहा छ, प्रिय बुबालाई बचाउनु छ, जेल मुक्त गराई पुनः पार्टी र जनताको सेवामा लाग्नसक्ने बनाउनु छ र छोरीको नाताले यसरी नै आफ्नो कर्तव्य पालन गर्नु छ ।
हामीले २०४५ सालको राज्यस्तरबाट रचिएको षड्यन्त्र र झूटा मुद्दाको विरोध र जेलनेलमा परेका नेता कार्यकर्ताको रिहाइ र न्यायको लागि हिँडेका परिवारजन, हितैषी तथा आम कार्यकर्ता एवं निःस्वार्थ र विनापारिश्रमिक बहस पैरवी गरी राज्यस्तरको षड्यन्त्रको विरुद्ध अदालत र जनसभामा वकालत गर्नुहुने कानुन व्यवसायीहरू, जनमत तयार गर्ने पत्रपत्रिका र पत्रकारहरू तथा विभिन्न प्रकारले सहयोग गर्ने हितैषीहरूलाई सधैँ सम्झने र सम्मान गर्ने गर्छौँ । हिजोको समर्थक र कार्यकर्ताहरू हाल विभिन्न अवस्थामा रहे पनि, तिनीहरूको योगदानको कदर गर्दै नमन गर्नु बुद्धिमानी नै हुन्छ । किनभने, त्यो कहालीलाग्दो कालखण्डबाट हाम्रा प्रिय नेता, कार्यकर्ता, जनप्रतिनिधि र पार्टी स्वयं यस अवस्थासम्म आउन र जीवन्त राख्न ती सबैले दिलोज्यान दिएर सक्दो सहयोग गरेकै थिए ।
त्यो कालो कालखण्डमा हामी महिलाहरूले अदम्य साहसका साथ राज्यस्तरको खुला षड्यन्त्रविरुद्ध एकजुट भई, डटेर हाम्रो यस पार्टीलाई जीवन्त राख्न आ–आफ्नो जिम्मेवारी बहन गरेका थियौँ । यस महान् कार्यमा सहयोग गर्ने सबै सहयोगी हातहरू, विशेषतः हामी महिलाहरू सबै सहश्र धन्यवादका पात्र बने र आज पनि प्रशंसाका पात्र छन् । हामी महिलाहरू कमजोर छैनौँ र मर्दा पर्दा हामी महिलाहरू सबै समस्याको समाधान गर्नसक्छौँ भन्ने दृष्टान्त २०४५ भाद्र ९ को भक्तपुर काण्डको कालो कालखण्डले प्रमाणित गरेको छ । हामी आफ्नो कर्तव्य पथमा निरन्तर लागिरहने नै छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *