भर्खरै :

एमालेको गाईजात्रा

यसपालिको गाईजात्रामा एमालेका नेताहरूको कलाकारिताले हास्यकलाकारहरूको कलाकारिता नै ओझेलमा प¥यो । त्यसो त एमालेले सिद्धान्तमा आधारित राजनीति त्यागिसकेको अहिले होइन । एमालेको निम्ति सिद्धान्तको कुरा देखाउने दाँतमात्र हो, उसले खासमा चपाउने दाँत सत्ताकेन्द्रित राजनीति नै हो । सहाना प्रधान र वामदेव गौतमको नेतृत्वमा एमालेबाट विभाजित भएर माले गठन भएयता फेरि यतिबेला एमालेमा अर्को विभाजन भएको छ । एमालेबाट विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी स्थापना भएको छ । नेपाल नेतृत्वको नवोदित पार्टीको नाम सुन्दा धेरैले समाजवादबारे निकै चर्चित पुरानो भनाइ पुनःस्मरण गरे– “समाजवादको टोपी जसले पनि लगाउँदा लगाउँदा त्यसको आकार प्रकार नै बिग्रिसकेको छ ।”
एमालेको यो विभाजनमा सिद्धान्त, विचार र कार्यदिशाको कुनै माने छैन । जनताले बाहिरबाट दुई नेताबीचको जुँगाको लडाइँ देखे, भित्र कस्ता स्वार्थको लडाइँ भयो, समयक्रमले देखाउला । तर, यो विचारको लागि भएको विभाजन कदापि होइन । एमालेले वैचारिक र सैद्धान्तिक गल्ती गरेको भन्दै माधव नेपालले एकीकृत समाजवादी पार्टी दर्ता गरेका हुन् भन्ने भ्रममा नेपाली जनता पर्नुहुन्न । त्यो सत्य होइन । आपसमा प्रतिशोध, खुट्टा तानातान, अहम्को कुस्तीको कारण एमाले विभाजित भएको हो ।
कथित तेस्रो धार अथवा नयाँ पुस्ताका नेताहरूको दोधारे चरित्र पनि जनताले यो पटक प्रस्टै देख्न पाए । ‘ओली प्रवृत्ति’ विरूद्ध जेहाद छेडेका नेताहरू आखिरमा उनकै ‘ताङमुनि’ छिरेका छन् । ओली कहिल्यै नसच्चिने भनी राजधानीमा चर्का भाषण गर्ने नेताहरू आज ओलीकै सामू झोली फैलाएर आत्मसमर्पण गर्न बाध्य भएका छन् । प्रस्टतः राजनीतिलाई वैचारिक सङ्घर्ष र प्रक्रिया तथा फाइदा–बेफाइदाको विषय बनाउँदा ती नेताहरू आज लाज छोडेर लागेका छन् ।
सिद्धान्तहीनताका पक्षपोषकहरू “राजनीति र प्रेममा जे पनि जायज हुन्छ” भन्ने सस्तो भनाइ फलाक्दै एमालेका कथित नयाँ नेताहरूको कदमलाई जायज ठह¥याउन खोज्दै छन् । तर, राजनीति र प्रेम दुवैमा निश्चित अनुशासन तथा नैतिकता हुने गर्छ र हुनुपर्छ । आज उनीहरूले त्यो अनुशासन र नैतिकताको पर्खाल भत्काएका छन् । उनीहरूले कुन लाभको निम्ति यो कदम चाले, त्यो समयान्तरमा कुहिरो फाट्दै जानेछ । तर, उनीहरूलाई त्यस्तो बनाउनमा भने एमालेको कमजोर वैचारिक जग र अवसरवादी राजनीति नै जिम्मेवार छ । सिद्धान्तमा चिप्लिएपछि उठ्न गा¥हो हुन्छ । सिद्धान्तहीनको भासमा फसिसकेको एमालेका नेताहरूको निम्ति सिद्धान्त के, नैतिकता के ? जता फाइदा उतै सिद्धान्त । जता लाभ, उतै फलिफाप ।
माधव नेपालले आफ्नो दलको नाममा समाजवादको कल्की लगाउँदैमा उसले समाजवादी आन्दोलनलाई अघि बढाउला भनेर अपेक्षा गर्नु धार्नी चाकु खुवाएर पनि चाकुको स्वाद थाहा नपाउनुसरह हुन्छ । खासमा उनीहरूको झगडामा समाजवादी र कम्युनिस्ट आन्दोलनको कुनै लिनुदिनु छैन । उनीहरू पद, पैसा, सुविधा र अहम्को लडाइँ लड्दै छन् । विडम्बना ¤ उनीहरूले आफ्नो नाममा कम्युनिस्ट शब्द राख्न नछोड्दा उनीहरूको झगडाले आम जनताबीच कम्युनिस्ट आन्दोलनलाई बदनाम र हतास बनाएको छ । कम्युनिस्ट शब्दप्रतिको स्वार्थी मोहको कारण उनीहरू अहिले ओली र नेपाल दुवै खेमाले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको छ । कोभिड–१९ महामारीको कारण औपचारिकतामा सीमित गाईजात्राको सकसकलाई भने एमालेका नेताहरूले पूरा गरेका छन् । उनीहरूको कलाकारिताले हास्यकलाकारहरूले गाईजात्रा खुब स्वाद मानेर मनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *