भर्खरै :

भारतका चर्चित माक्र्सवादी शोधकर्ता एवम् लेखिका गेल ओमवेटको निधन

पुणे, २६ अगस्त (द वायर) । भारतको जातिगत अध्ययनमा प्रख्यात शोधकर्ता एवम् माक्र्सवादी लेखिका डा. गेल ओमवेटको लामो बिमारीपछि बुधबार भारतको महाराष्ट्र राज्यको सांगली जिल्लामा ८१ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक सुत्रले जानकारी दिएअनुसारअमेरिकी मूलकी भारतीय विद्वान, समाजशास्त्री, मानव अधिकार कार्यकर्ता, दलित र अन्य पिछडा वर्ग र आदिवासीहरूको हकअधिकारका लागि निरन्तर लेखिरहेका लेखिका डा. ओमवेटले कासेगाउँस्थित उहाँहरूकै घरमा अन्तिम श्वास फेर्नुभएको थियो ।
संरा अमेरिकामा जन्मनुभएकी ओमवेट एक शोधकर्ता विद्यार्थीका रूपमा पहिलोपटक भारत आउनुभएको थियो । आफ्नो विश्वविद्यालयको शोध पूरा गरेपछि उहाँ १९७० को दशकमा भारतमा बसोबास गरी जातिगत अध्ययनमा जुटनुभएको थियो । पछि उहाँले भारतका एक माक्र्सवादी विद्वान एवं कम्युनिस्ट पार्टीका कार्यकर्ता भरत पाटनकरसित विवाह गरी पाटनकरकै गाउँ कासेगाउँमा बसोबास गर्नुभएको थियो ।
पहिलो चोटि पीएचडी विद्यार्थीका रूपमा महाराष्ट्रमा जातीय समस्या एवम् महात्मा फुलेको आन्दोलनको अध्ययन गर्न आउनुभएकी ओमवेट जाति र छुवाछुत व्यवस्था देखेर निकै दुःखी हु्नुभयो र उत्पीडित जातिका जनताको मुक्तिको लागि काम गर्न महाराष्ट्रमै बसोबास गर्नुभयो ।
डा. ओमवेट माक्र्सवादी दृष्टिकोणकी प्रख्यात लेखिका हुनुहुन्थ्यो र उहाँका कैयौँ पुस्तक प्रकाशित छन् । उहाँको पीएचडी थेसिसले महात्मा फुलेको ‘सत्यशोधक’ आन्दोलनलाई संसारसामु राखिदिएको थियो र – दलित र लोकतान्त्रिक क्रान्ति– युवा विद्यार्थीहरूबीच निकै लोकप्रिय रहेको छ । उहाँ महाराष्ट्रको फुले – आम्बेदकरवादी आन्दोलनका एक प्रम्ख व्यक्तित्व र कैयौं वर्गीय आदोलनहरूमा सक्रिय हुनुहुन्थ्यो ।
ओमवेट– पाटनकर दम्पति १९८० को दशकमा श्रमिक मुक्ति दलको स्थापना गरी आफूहरूलाई दलित, गरिब र अधिकारबाट बञ्चितहरू, किसानहरू, कृषि श्रमिकहरू, महिलाहरूको हकहितको सङ्घर्षमा र विभिन्न समाज सुधारका आन्दोलनहरूमा होमिएको थियो ।
डा. ओमवेटले पुणे विश्व विद्यालयमा समाजशास्त्र विभागको नेतृत्व गर्नुका साथै स्विडेनको कोपेनहेगनमा एशियाली अध्ययन संस्थानमा पनि प्राध्यापन गर्नुभएको थियो ।
उहाँको निधनमा इतिहासकार रामचन्द्र गुहा, भाकपा (माक्र्सवादी) का महासचिव सीताराम येचुरी, राष्ट्रवादी काङ्ग्रेस पार्टी प्रमुख शरद पवार, शिवसेना प्रमुख तथा महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले शोक व्यक्त गर्नुभएको छ ।
द इन्टेलेक्चुअल कलेक्टिभले पनि उहाँको निधनमा भन्यो–उहाँ भारतका सबैभन्दा मौलिक विचारकहरूमध्ये एक हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *