भर्खरै :

कोभिड – १९ उत्पत्तिबारे अमेरिकी गुप्तचर निकायको प्रतिवेदन अवैज्ञानिक र राजनीतिक पूर्वाग्रहमा आधारित

वाशिङ्टन, १२ भदौ । कोभिड–१९ को उत्पत्तिबारे संरा अमेरिकी गुप्तचर विभागले तयार गरेको प्रतिवेदन विज्ञानमा आधारित नभएको विज्ञहरूले बताएका छन् । राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को उत्पत्तिबारे अध्ययन गरी ९० दिनभित्र प्रतिवेदन बुझाउन अमेरिकी गुप्तचर निकायलाई दिएको निर्देशनअनुसार सार्वजनिक गरिएको प्रतिवेदन आफू दोषमुक्त हुने र दोषजति चीनमाथि थोपर्ने कुचाल मात्र भएको चिनियाँ अध्येताहरूले बताएका छन् ।
संरा अमेरिका तेर्सिएको औँला भाँच्ने र दोषजति अरूको थाप्लामा थोपर्ने राजनीतिक हतियारको रूपमा सार्वजनिक प्रतिवेदनले जटिल भाषा प्रयोग गरी चीनको बदनाम गर्न खोजेको बताइएको छ । यसले संरा अमेरिकी गुप्तचर निकायको तथाकथित व्यावसायिक नैतिकता र दक्षतामाथि नै प्रश्न उठेको विषय विज्ञहरूको बुझाइ छ । उनीहरूले संरा अमेरिकालाई आफ्नो विज्ञानविरोधी धारणा बदल्न र आफ्नै देश (संरा अमेरिका) भित्रै भाइरसको स्रोत खोज्न सल्लाह दिएका छन् ।
शुक्रबार सार्वजनिक गरिएको संरा अमेरिकी गुप्तचर निकायले तयार गरेको कथित प्रतिवेदनले सो निकाय कोभिड–१९ को उत्पत्तिबारे मुख्यतः विभाजित भएको देखाएको छ ।
प्रतिवेदनमा भाइरस जैविक हतियारको रूपमा विकास नभएको विश्वास गरिएको छ । चार वटा गुप्तचर निकायले धेरै सम्भव प्राकृतिकरूपमा उत्पत्ति भएको भाइरस कुनै जनावरमा सरेको हुनसक्ने मत व्यक्त गरेका छन् भने एउटा गुप्तचर निकायले भने भाइरस कुनै प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ । अन्य तीन वटा निकायले भने कुनै पनि ठोस निष्कर्ष दिन सकेन ।
सुरुमा फैलिनुअघि चिनियाँ अधिकारीहरूलाई त्यसबारे थाहा नभएको निष्कर्ष निकालिएको छ ।
कोभिड–१९ उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठन र चीनले गरेको संयुक्त अध्ययनसँग आबद्ध स्रोतले ९० दिनमा तयार गरेको प्रतिवेदनले संरा अमेरिकी गुप्तचर निकाय यसअघि भन्दा ‘प्राकृतिक उत्पत्ति’ प्रति बढी सहमत भएको देखाएको बतायो । एउटा मात्र मतले प्रयोगशालाबाट चुहेको मतप्रति सहमति जनाएको छ । प्रतिवेदनमा प्रयोगशालाबाट चुहेको हुनसक्ने कुनै पनि प्रमाण देखाउन सकेको छैन । यद्यपि, वैज्ञानिक अनुसन्धान पत्रले चमेरोबाट सो भाइरस मानिसमा सरेको हुनसक्ने सम्भावना देखाएको छ ।
“यो समय राजनीतिक पूर्वाग्रह एकातिर राखेर विज्ञानलाई नेतृत्व दिने समय हो । यसो गरेमात्र हामी कोभिडको खास उत्पत्तिबारे विश्वसनीय अध्ययन गर्नसक्छौँ”, स्रोतले भनेको छ ।
चीनले अमेरिकी गुप्तचर निकायहरूको प्रतिवेदनप्रति असहमति जनाउँदै अन्तर्राष्ट्रिय समुदायले त्यसप्रति व्यक्त गरेको विमतिबारे विचार गर्न र यो विषयलाई राजनीतीकरण नगर्न आग्रह गरेको छ ।
संरा अमेरिकाको लागि चीनको दूतावासले शनिबार जारी गरेको वक्तव्यमा भाइरसको उत्पत्तिको मुद्दा राजनीतिक होइन, विज्ञानको मुद्दा भएको, कसैलाई दोषी बनाउने वा आरोप लगाउने विषय नभएको उल्लेख छ ।
चीनले भाइरसको उत्पत्तिबारेको पहिलो चरणको अध्ययनको विस्तारको रूपमा भविष्यमा अध्ययन आवश्यक भएको र एउटैमात्र देशमा नभई विभिन्न देश र सहरमा अध्ययन हुनुपर्ने बताएको छ । यो विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको सहमति पनि रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *