भर्खरै :

चीन र क्युवा मिलेर समाजवादी बाटोमा अघि बढ्ने प्रतिबद्धता

पेइचिङ, ३० अगस्ट । चीनका राष्ट्रपति सी चिनफिङले जस्तोसुकै परिस्थितिमा पनि क्युवाप्रति चीनको समर्थन तलमाथि नहुने बताउनुभएको छ ।
सोमबार क्युवाली राष्ट्रपति मिगुएल डाएज कानलसँगको टेलिफोन संवादमा सीले यस्तो बताउनुभएको हो ।
संवादमा सीले क्युवाली कम्युनिस्ट पार्टीको बलियो नेतृत्वमा भएको सम्झौताहीन सङ्घर्षमार्फत क्युवाले हासिल गरेको उल्लेखनीय उपलब्धिको कदर गर्नुभयो ।
सीको भनाइमा समाजवादको बाटो कहिल्यै पनि सरल छैन र कम्युनिस्ट पार्टीका सदस्यहरू अस्तित्व, विकास र विजयको लागि सधैँ सङ्घर्ष गर्छन् ।
हरेक देशलाई आफ्नो विकासको बाटो रोज्ने अधिकार भएको र त्यस्तो छनौटको अरू देशले सम्मान गर्नुपर्ने चीनको विश्वास भएको भन्दै राष्ट्रपति सीले कुनै पनि देशमाथिको एकपक्षीय नाकाबन्दी र वैदेशिक हस्तक्षेपको चीन विरोधमा उभिने बताउनुभयो ।
“आफ्नो परिस्थितिअनुसार समृद्धि र दिगोपनामा आधारित समाजवाद निर्माणको विकासको बाटोमा क्युवालाई चीनको सधैँ साथ रहनेछ”, सीले भन्नुभयो ।
चीनका राष्ट्रपतिले आफ्नो राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र शक्ति राष्ट्रको हस्तक्षेपविरूद्ध जोगिने क्युवाको प्रयासलाई चीनले समर्थन गर्ने प्रस्ट पार्नुभयो ।
उहाँले महामारीविरूद्ध क्युवाको लडाइँमा चीनले सधैँ सहयोग गर्ने र आफ्नो क्षमताअनुसार जनताको जीवनस्तर उकास्न क्युवालाई मद्दत गर्न चीन तत्पर भएको बताउनुभयो । उहाँले समाजवादको नयाँ विकास हासिल गर्न क्युवाको क्षमतामा विश्वास व्यक्त गर्नुभयो ।
दुवै देशका पार्टी र नेताहरूको संयुक्त पहलमा चीन र क्युवाबीचको लामो मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै सीले दुई देशबीचको सम्बन्ध विकासशील देशहरूबीचको सहकार्यको नमुना बनिसकेको बताउनुभयो ।
“परिस्थितिले जस्तोसुकै बान्की लिए पनि क्युवासँगको दीर्घकालीन मैत्री सम्बन्धप्रति चीनको प्रतिबद्धता कहिल्यै पनि परिवर्तन हुनेछैन न त विभिन्न क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउने चीनको चाहनामा नै कुनै तलमाथि हुनेछ । चीन मिलेर समाजवाद कार्यान्वयन गर्ने र क्युवासँग साझा विकास र रणनीतिक सहकार्य हासिल गर्न तयार छ”, सीले भन्नुभयो ।
उहाँले पार्टी र सरकारी तहमा आपसी उच्चस्तरीय निकट सम्बन्ध विस्तार, महामारी नियन्त्रणमा गहिरो सहकार्य र क्युवासँगको दुई पक्षीय सम्बन्ध उच्च तहमा उकास्न गतिशील सहकार्य प्रवद्र्धन गर्न चीन तत्पर रहेको पनि बताउनुभयो ।
अन्तर्राष्ट्रिय मामिलामा क्युवाको वैधानिक अधिकारप्रति समर्थन गर्ने चीनको प्रतिबद्धतामा जोड दिँदै सीले बहुपक्षीय सहकार्यमा रणनीतिक सहकार्य विस्तार र विकासशील देशको साझा हित रक्षाको निम्ति संयुक्त प्रयासको निम्ति आग्रह गर्नुभयो ।
वार्तामा क्युवाली राष्ट्रपति डाएज कानलले कोभिड–१९ महामारीमा सहायतालगायत दीर्घकालीन सहयोगको लागि चीनप्रति आभार व्यक्त गर्नुभयो ।
“क्युवा चीनसँग पार्टीगत सम्बन्ध विस्तार र विभिन्न क्षेत्रमा सहकार्यको लागि तयार छ । साथै समाजवादको बाटोमा मिलेर अघि बढ्न तथा चीन–क्युवाको सम्बन्ध विकास गर्न तत्पर छ”, डाएज कानलले भन्नुभयो ।
उहाँले प्रभुत्ववाद, शक्ति राजनीति र महामारीको राजनीतीकरण र थप कष्टकर बनाउने कदमको क्युवाले विरोध गर्ने पनि बताउनुभयो ।
एक चीन नीतिप्रति क्युवाको प्रतिबद्धता दोहो¥याउँदै उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेपको क्युवाले विरोध गर्ने बताउनुभयो । उहाँले चीनको ताइवान र सिन्च्याङजस्ता चीनका लागि संवेदनशील विषयमा चीनलाई समर्थन गर्ने र ल्याटिन अमेरिकी देशहरूसँग चीनको सम्बन्ध सुधारमा क्युवाले रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *