भर्खरै :

गणितसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी छनोट

काठमाडौँ, २५ असार । अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा प्रतिस्पर्धीका रुपमा नेपालका छ विद्यार्थी पहिलोपटक छनोट भएका छन् ।
विश्वका १२५ मुलुकका २० वर्ष उमेर नपुगेका विश्वविद्यालयभन्दा तल्लो तहका गणितका विद्यार्थीले भाग लिने सो प्रतियोगितामा नेपालको राष्ट्रिय प्रतियोगिताबाट ती विद्यार्थी छानिएका हुन् ।
छनोट हुनेमा सेन्ट जेभियर्सका विवेक पन्थी (अर्घाखाँची) र विवेक पन्थी (गुल्मी), काठमाडु मोडेल कलेजका प्रवीण महतो (सिरहा) र प्रशन्न श्रेष्ठ (काठमाडौँ), सौर्य इन्टरनेसनल कलेजका अजय पोखरेल (काठमाडौँ) तथा रातो बङ्गलाका अवनिश खनाल (काठमाडौँ) रहेका छन् ।
ब्राजिलको रियो दि जेनेरियोमा आगामी जुलाई १३ देखि २३ सम्म हुने सो प्रतियोगितामा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा भद्रमान तुलाधरले पर्यवेक्षकका रुपमा नेपालको नेतृत्व गर्दै हुनुहुन्छ ।
डा तुलाधरसहितको टोली राष्ट्रिय प्रतियोगिताका लागि प्रश्नपत्र तयार गरेको थियो । विश्वस्तरमा यो प्रतियोगिता सुरु भएको ५९ वर्ष भए पनि नेपालका विद्यार्थीले हालसम्म सहभागी हुने मौका पाएका थिएनन् ।
गणित ओलम्पियाड नेपालले गत वर्ष नेपालका ४० जिल्लामा गरेको जिल्लास्तर र राष्ट्रियस्तरको सामुदायिक र निजी विद्यालयका विद्यार्थीबीचको तालिम र प्रतियोगिताबाट ती छ जना विद्यार्थी उत्कृष्ट हुन सफल भएको सो संस्थाका अध्यक्ष दीपक बास्तोलाले जानकारी दिनुभयो ।
प्रत्येक जिल्लाबाट १०÷१० जना प्रतियोगी छानिएको र तीमध्येबाट उत्कृष्ट छनोट गरिएको हो । यसमा प्रत्येक १०० मिटेनमा वस्तुगत, विषयगत, श्रव्यदृष्यका आधारमा प्रश्न गरी विद्यार्थीको क्षमता जाँच गरिन्छ ।
अध्यक्ष बास्तोलाले मुलुकभित्रका प्रतियोगितामा औपचारिक पत्राचार गरेर साथ दिए पनि राज्यले उचित चासो नदिँदा नेपालले विश्वस्तरका गणितका विषयमा आफूसँग भएको क्षमता प्रदर्शन गर्न नपाएको गुनासो गर्नुभयो ।
उहाँले गणितलाई निराश र अव्यवहारिक तथा कठिन विषय भनी हाउगुजी गराइएका कारण धेरै विद्यार्थी यस विषयमा असफल हुने गरेको टिप्पणी गर्नुभयो ।
प्राडा तुलाधर भन्नहुन्छ, “मैले विषयगतरुपमा गणितसम्बन्धी धेरै सम्मेलनमा भाग लिएँ, अन्तर्राष्ट्रय र क्षेत्रीय संयन्त्रमा पनि बसेको छु तर अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपाली विद्यार्थी सहभागी गराउने धोको बाँकी थियो, त्यो यस वर्ष पूरा हुने भयो ।”
गणित ओलम्पियाड नेपालका पूर्वअध्यक्ष सर्जन बिसीले यस्ता प्रतियोगिताले गणित विषयका शिक्षक र विद्यार्थीको स्तर माथि उठ्नाका साथै मुलुककै गौरव बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *