रुसी राष्ट्रपतिको पुटिनको विश्व महत्वको चीन भ्रमण
- जेष्ठ ६, २०८३
देशघाती एमसीसी परियोजनाको विरोधमा सोमबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा भएको विरोध प्रदर्शनमा लाठीचार्ज गरेर देउवा सरकारले संरा अमेरिकी साम्राज्यवादप्रतिको आफ्नो भक्ति प्रदर्शन गरेको छ । संविधानले दिएको मौलिक हक प्रयोग गरी शान्तिपूर्वक प्रदर्शनमा उत्रेका युवा–विद्यार्थीमाथि राज्यको दमन नागरिकको संविधानप्रदत्त अधिकारमाथि हमला हो । ‘प्रजातन्त्र’ को भजन गाएर कहिल्यै नथाक्ने नेकाको सरकारबाट प्रजातान्त्रिक अधिकारमाथिको यस्तो निर्मम हमला निन्दनीय छ ।
एमसीसी परियोजना पारित गर्न दबाब दिन एमसीसीका उपाध्यक्ष नेपालको भ्रमण आउने भएपछि अत्तालिएको देउवा सरकार सडकमा ‘मसानघाटको शान्ति’ देखाएर संरा अमेरिकी साम्राज्यवादको ताबेदारी गरिरहेको छ । विरोधका सबै आवाजलाई दबाएर नेपालमा एमसीसीविरूद्ध कतै पनि आवाज नउठेको नक्कली तस्बिर देखाउन सरकार नागरिकमाथि दमनको भाषा बोलिरहेको छ । तर, कसैले प्रकाशलाई मुठ्ठीमा कैद गर्छु भन्नु मुर्खताबाहेक केही पनि होइन । देउवा सरकारले प्रहरी दमन गरेर एमसीसीको विरोधमा उठेको आवाज दबाउन खोज्नु उस्तै मूर्खतामात्र हो । राज्य जति जति दमनमा उत्रन्छ, नेपाली जनता यो देश हितविपरीतको सम्झौताबारे त्यत्ति नै सचेत बन्नेछन् ।
एमसीसी परियोजना किन देश हितविपरीत छ र संरा अमेरिकी साम्राज्यवाद किन संसारमा युद्ध, हिंसा र विग्रहको स्रोत हो भन्ने कुरा अहिले सहरमा बस्ने केही पढेलेखेका मानिसले मात्र जानेका छन् । एमसीसीविरूद्धको आन्दोलनमाथि राज्यको दमनले यी प्रश्नका उत्तर अझ व्यापक नेपाली जनतासम्म पुग्नेछ । यस्तै संवदेनशील समयले को देशको पक्षमा छ र को देशघाती छ भन्ने प्रस्ट हुँदै जान्छ । कुन पार्टीको खास चरित्र के हो भन्ने कुरा नजान्दा अथवा सत्ताशक्तिको तेजले वास्तविकता थाहा नपाएर पनि शासक दलहरूको पछि लागेका जनतामा पनि सङ्घर्षको ताप बढ्दै जाँदा को कुन कित्तामा भन्ने कुराको यथार्थबोध हुँदै जानेछ ।
शासकहरू अझै पनि अमेरिकी हिन्द–प्रशान्त रणनीति र एमसीसीबीच कुनै सम्बन्ध नभएको झुट बेच्न खोज्दै छन् । अमेरिकी अधिकारीहरूले समेत एमसीसी हिन्द प्रशान्त रणनीतिको हिस्सा स्वीकारिरहेको अवस्थामा शासकहरूले अझै पनि जनताको आँखामा छारो फाल्ने दुष्प्रयास गरिरहेका छन् । ‘अमेरिकाभन्दा अमेरिकावादी’ बनेर शासकहरू आफ्नो मालिकको सेवा गर्न उद्यत्त छन् । सूचना प्रविधिमा विकासले उचाइ हासिल गरिसकेको आजको युगमा फेरि पनि भ्रम र झुट बेचेर जनतालाई लामो समय असत्यको भुलभुलैयामा राख्न सकिँदैन ।
समयले सबैको परीक्षा लिन्छ । नेपालका राजनीतिक दलहरू पनि यतिबेला फेरि अर्को संवेदनशील परीक्षाको घडीमा उभिएका छन् । देशको सार्वभौमिकतालाई अक्षुण्ण राख्दै अघि बढ्ने अथवा देशलाई साम्राज्यवादी शक्तिको कठपुतली बनाउने ? यी दुई कित्तामा नेपालका कुन राजनीतिक दल कुन कित्तामा उभिने भन्ने कुराको निक्र्योल गर्ने समय आएको छ । एमसीसीको पक्षमा उभिने राजनीतिक दलहरू नेपालको सार्वभौमिकता बेचेर देशलाई कमजोर बनाउने दल ठहरिनेछन् भने एमसीसीको विरोधमा लड्ने दल र शक्ति नै यतिबेलाको देशभक्त शक्ति मानिनेछ । यी दुई कित्ताको बीचमा बसेर एमसीसीमा ह«स्वदीर्घ तलमाथि गरेर साम्राज्यवादी शक्तिको चाकडी पनि बजाउने अनि जनताको आँखामा पनि चोखो देखिने दोधारे बाटो छान्ने दल अझ खतरनाक दल हुन् । एमसीसी सम्झौता नेपाली जनताको भावनाअनुसार अस्वीकार गर्दा अमेरिका रिसाउने र नेपाली भूराजनीतिक द्वन्द्वमा फस्ने तर्क लघुताभासको अभिव्यक्ति हो । शासक दलहरूको यो तर्कले उनीहरू वास्तवमा नेपाली जनताको हितभन्दा विदेशीहरूको हितमा बढी तल्लीन भएको प्रमाणित हुन्छ ।
नेपालका शासक दलहरू ! इतिहासले तिमीहरूलाई देशभक्त वा देशघाती– कुन कित्तामा उभिने, अर्को मौका दिएको छ । जनताको टाउको फुटाएर अमेरिकाको ताबेदारी गर्दाको परिणाम हेर्न धेरै टाढा जानुपर्दैन, अफगानिस्तान पुग्दा हुन्छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको अवस्था हेरे पुग्छ ।
Leave a Reply