भर्खरै :

सक्वको म राजदास– १०१ / उदयपुर सिमेन्टको उदय

नेपालको पूर्वीभागमा रहेको उदयपुर जिल्लामा अवस्थित उदयपुर सिमेन्ट कारखाना हिमाल सिमेन्ट कारखानापछिको नेपालको सबभन्दा ठूलो पहिलो कारखाना हो । नेपालको मात्र होइन एसिया महादेशमै एक ठूलो सिमेन्ट कारखाना उदयपुर सिमेन्ट कारखाना हो ।
विसं २०४५ सालमा यो सिमेन्ट कारखाना जापान सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना भएको हो । उक्त सिमेन्ट कारखानाको लागि आवश्यक पर्ने चुनढुङ्गा उदयपुर जिल्लाको उत्तरी भेग सुकुशबाट उपलब्ध गरिन्छ । सिमेन्ट बनाउन सबभन्दा आवश्यक पर्ने कच्चा पदार्थ भनेकै चुनढुङ्गा हो । उदयपुरको उक्त स्थानमा पाइने चुनढुङ्गा धेरै उच्च गुणस्तरको छ । त्यहाँको चुनढुङ्गा खानी धेरै ठूलो छ ।
सन् १९७६–७७ मा काठमाडौँ लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा एक केमिकल इन्जिनियर सिमेन्ट टेक्नोलोजिस्ट भएर काम गर्दा मैले सबभन्दा पहिले त्यही उदयपुर चुनढुङ्गाको विषयमा अध्ययन अनुसन्धान गरेको थिएँ । अनुसन्धानकै सिलसिलामा उक्त चुनढुङ्गा धेरै उत्कृष्ट गुणस्तरको पाएँ । उदयपुरको उक्त चुनढुङ्गा खानी धेरै ठूलो भएको कुरा उक्त खानी विभागका भौगर्भिक इन्जिनियर सहकर्मी साथीहरूको प्रतिवेदनहरूबाट थाहा पाएँ । उक्त चुनढुङ्गाको गुणस्तर (क्वालिटी) के कस्तो छ र के के वस्तु उत्पादनमा यो चुनढुङ्गा उपयोग गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउनु नै मेरो मुख्य अनुसन्धानको विषय थियो । उक्त चुनढुङ्गा खानी विभागमै ल्याएर मैले भौतिक तथा रासायनिक गुणस्तरको विषयमा अध्ययन–अनुसन्धान गर्दा धेरै नै उच्चकोटीको पाएँ । एक सय किलो कच्चा चुनढुङ्गा नेदरल्यान्डको एक विश्वविद्यालयमा विस्तृत अनुसन्धान गर्न अनुरोध गर्दै त्रिभुवन विमानस्थल गएर कार्गो गरी पठाएँ ।
नेदरल्यान्डको उक्त विश्वविद्यालयले हाम्रो चुनढुङ्गाको अध्ययन अनुसन्धान निःशुल्क गरिदिने परिपत्र भएको थियो । उक्त सय किलो ढुङ्गा समयमै राम्रो अवस्थामा पुग्यो भनी युरोपको एक प्रतिष्ठित उक्त विश्वविद्यालयबाट खबर आयो । लगभग एक महिनापछि उक्त विश्वविद्यालयबाट सो चुनढुङ्गा धेरै राम्रो भएको जानकारी प्राप्त भयो । उक्त चुनढुङ्गाबाट साधारण चुन, सिमेन्ट र सिलिका लाइममात्र होइन औषधिजन्य टाबलेटहरू (सिटामोलजस्ता औषधि चक्कीहरू) बनाउन सकिन्थ्यो । खानयोग्य चुन प्रेसिपिटेड क्याल्सियम कार्बोनेट (पीपीसी) समेत निकाल्न सकिने उल्लेख भएको भौतिक तथा रासायनिक अनुसन्धानको प्रतिवेदन पत्र आयो । उक्त पत्रमा आवश्यक परे थप सहयोग गर्ने व्यहोरा जनाइएको थियो । सो पत्र पाउँदा मलगायत मसँगै काम गरिरहेका इन्जिनियर मित्र प्रद्युम्न गोर्खाली धेरै खुसी भयौँ । खानी विभागका तत्कालीन महानिर्देशक महेन्द्र नरसिंह राणासमक्ष उक्त अनुसन्धान रिपोर्टबारे धेरै छलफल ग¥यौँ । तत्काल खानयोग्य चुन प्रेसिपिटेड क्याल्सियम कार्बोनेट (पीपीसी) र सिलिका लाइम ब्रिक्स (एसएलबी) को औद्योगिक उत्पादन गर्ने विषयमा सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गर्ने निर्णय गरियो ।
उक्त दुईवटा योजनाहरूको बारेमा सम्भाव्यता अध्ययन गर्न म र साथी इन्जिनियर प्रद्युम्न गोर्खाली दुईजना लागिप¥यौँ ।
सबभन्दा पहिले टेक्निकल सम्भाव्यता र दोस्रो आर्थिक सम्भाव्यता अध्ययन गर्नुपर्ने हुन्छ । टेक्निकल सम्भाव्यता अध्ययनमा सबभन्दा पहिले कच्चा पदार्थको गुणस्तर, कच्चा पदार्थको उपलब्धि, कच्चा पदार्थको डिपोजित, कच्चा पदार्थको भौगर्भिक अवस्था, कच्चा पदार्थ उत्खनन गर्दा हुने वातावरणीय असर र स्थानीय बासिन्दालाई पर्नसक्ने राम्रो नराम्रो असर आदि सबै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
दोस्रो कुरा आर्थिक सम्भाव्यताको हो । उक्त पदार्थ उत्पादन गर्दा मूलतः नाफा नोक्सानको कुरा हुन्छ । नाफा नोक्सानको हिसाब हेर्दा मुख्यतया उक्त पदार्थ निकाल्दा परल मूल्य कति हुन आउँछ र बिक्री मूल्य कति हुन आउँछ भन्ने नै हुन्छ । बिक्री मूल्यबाट आएको नाफाबाट कति वर्षमा उक्त उद्योगको लगानी असुलउपर हुन्छ भन्ने मुख्य कुरा निकाल्नुपर्ने हुन्छ ।
यसबाहेक महत्वपूर्ण कुरा बजार व्यवस्थापनको हो ।
कुनै पनि वस्तु उत्पादन गर्दा प्राविधिक सम्भावना र आर्थिक सम्भाव्यता राम्रै देखिए पनि उत्पादित पदार्थको राम्रो बिक्री वितरण भएन भने अथवा बजार व्यवस्था राम्रो भएन भने सो उद्योग सफल हुँदैन । यही कुरा ध्यानमा राखी हामीले दुई वटा वस्तुहरू उत्पादन गर्ने उद्देश्यले अध्ययन अनुसन्धान सुरु ग¥यौँ । एउटा प्रसिपिटेड क्याल्सियम कार्बोनेट (पीसीसी) र दोस्रो सिलिका लाइम ब्रिक्स हो । प्रसिपिटेड क्याल्सियम कार्बोनेट भनेको औषधिजन्य ट्याब्लेट बनाउन प्रयोग हुन्छ । हामी सिटामोलजस्तो औषधि चक्की खान्छौँ, तर त्यो औषधि होइन । सिटामोल भन्ने चक्की तथा अन्य औषधिजन्य चक्कीहरूमा खास औषधिको भाग किञ्चित्मात्र हुन्छ, अरू सबै त्यो चुनको डल्लो (खानयोग्य चुन अथवा पीसीसी) हो ।
उदयपुरको चुनढुङ्गा देशमा अहिलेसम्म भेट्टिएको राम्रो चुनढुङ्गा हो । हाम्रो देशको परिवेशमा उदयपुरको चुनढुङ्गाको डिपोजिट पनि विशाल छ । यो सयौँ वर्ष काम गर्दा पनि सकिन्न । त्यसैकारण, हामी उत्साहित हुँदै काम गर्दै गयौँ । आखिरमा ती दुवै योजनाहरू तत्काल सफल हुने र लागू गर्न सकिने अवस्था भएन । विभिन्न कारणहरूले दुवै योजनाहरू स्थगित भए । उदयपुरमा स्थापित सिमेन्ट कारखाना नेपालीको लागि एक गौरवपूर्ण योजना हो । यो काठमाडौँ चोभारमा स्थापित हिमाल सिमेन्ट कारखानापछिको दोस्रो उदयपुर सिमेन्ट कारखाना हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *