भर्खरै :

तीन स्रष्टाको स्मृति सभा

भक्तपुर, २६ भदौ । नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा भाषा शिरोमणि रमापतिराज शर्मा, प्रगतिशील साहित्यकार आनन्ददेव भट्ट र नेपालभाषाका आधुनिक कवि पूर्णबहादुर वैद्यको निधनको स्मरणमा शनिबार स्मृति सभा भयो ।
उक्त स्मृति सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भाषाविद् र साहित्यकारहरूको राम्रो पक्षको अनुकरण गर्नुपर्ने विचार व्यक्त गर्दै कवि–साहित्यकारहरूलाई चिन्ने आधार वर्गीय दृष्टिकोण हो भन्नुभयो ।
कुनै पनि विज्ञहरूको अनुभव, सीप, ज्ञान लिपिबद्ध गर्न सके नयाँ पुस्ता पनि सुसूचित हुने विचार व्यक्त गर्दै अध्यक्ष रोहितले तात्तातो कुरा गरेर छिटो क्रान्ति हुन्छ भन्ने मानसिकता गलत हो भन्नुभयो ।
जिम्मेवार साथीहरूले आ–आफ्नो पदअनुसार दायित्व पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेतृत्व गर्ने व्यक्ति अयोग्य भएमा सङ्गठनमात्र होइन देश र समाज नै पछि पर्छ भन्नुभयो ।
सिद्धान्तहीन एकता लामो समयसम्म नटिक्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “उद्देश्य नै खराब भएपछि राजनीति कसरी सफल हुन्छ ? पद, पैसा र भागबन्डामा भुलेपछि देशमा कसरी विकास र स्थिरता हुन्छ ? अतः नेतृत्व गर्ने व्यक्ति योग्य हुनुपर्छ ।”
गलत सिद्धान्त र विचार तथा नेपाल र नेपालीको अहितमा हुने कुनै पनि सन्धि र सम्झौताको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “कुनै पनि कमी–कमजोरीको समयमै आलोचना गर्नुपर्छ ।”
“हाम्रो आन्दोलन र सङ्घर्ष स–साना स्वार्थ पूरा गर्न होइन समाजवादको निम्ति या आमूल परिवर्तनको निम्ति हो ।” उहाँले भन्नुभयो ।
“सङ्गठनमा बसेर कुनै पनि काम नगर्ने प्रवृत्ति ठीक होइन, अवसरवादी र महत्वाकाङ्क्षी व्यक्तिहरूले देश र जनताको चिन्ता गर्दैनन् । सिद्धान्त र विचार नमिलेरै ठूला दलभित्र गाईजात्रा भइरहेको हो । कार्यकर्ताहरू दिलैदेखि देश र जनताको सेवा गर्न अग्रसर हुनुपर्छ”, अध्यक्ष रोहितले भन्नुभयो ।

स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको सङ्क्षिप्त जीवनीबारे चर्चा गर्दै भाषा, साहित्य र व्याकरणको क्षेत्रमा पनि सहयोग गरेर देशको सेवा गर्न सकिन्छ भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले भाषाविद् रमापतिराज शर्माको जीवनीबारे प्रकाश पार्दै भाषाविद् शर्माको भाषा र व्याकरणसम्बन्धी पुस्तक प्रकाशित नभए पनि उहाँको अनुभव र ज्ञानबाट अरूले पुस्तक प्रकाशन गरेको उल्लेख गर्नुभयो ।
नेपालभाषाको ‘ख्वप पौ’ का सम्पादक आशाकुमार चिकंबञ्जारले नेपालभाषाका आधुनिक कवि पूर्ण वैद्यको जीवनीबारे जानकारी दिँदै साहित्य राजनीतिबाट अलग नहुने विचार व्यक्त गर्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको सो गोष्ठीमा नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
स्मृति सभापछि आयोजित अर्को भेलाले आशाकुमार चिकंबञ्जारको अध्यक्षतामा नेपालभाषा साहित्य तःमुंज्या पुनर्गठन गरेको छ । सो भेलाले चन्द्रबहादुर उलकको संयोजकत्वमा एक सल्लाहकार समिति र लक्ष्मीनारायण राजलवटको संयोजकत्वमा एक सांस्कृतिक समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *