भर्खरै :

एमसीसी सम्झौताविरुद्ध नेपालगञ्जमा जुलुस

नेपालगञ्ज, २७ भदौ । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा देश हितविपरीतको एमसीसी सम्झौताविरूद्ध आइतबार नेपालगञ्जमा विरोध जुलुस तथा सभा भयो । देशको सार्वभौमिकता कमजोर बनाउने सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रमअन्तर्गत नेपालगञ्जमा नेमकिपा बाँके जिल्ला समितिको आयोजनामा सो प्रदर्शन भएको हो ।
नेपालगञ्ज, बुद्धनगरबाट एमसीसी सम्झौताविरूद्ध नाराबाजीसहित सुरू भएको विरोध जुलुस न्युरोड, पुष्पलाल चोक, धम्बोजी चोक, सेतु विक चोक, त्रिवेणी मोड, त्रिभुवन चोक, चार बाहिनी गेटबाट त्रिभुवन चोकमा पुगेर विरोध सभामा परिणत भएको हो ।
सभामा नेमकिपा बाँके जिल्ला समितिका अध्यक्ष बखत थापाले एमसीसी संरा अमेरिकी सैनिक रणनीति हिन्द–प्रशान्त रणनीतिकै हिस्सा भएकोले सो सम्झौता पारित गर्नु नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने बताउनुभयो ।
“संरा अमेरिकाले संसारको जुनसुकै भूमिमा पाइला राखे पनि त्यहाँ रक्तपात र युद्धमात्र भएको छ”, उहाँले भन्नुभयो ।
नेपालको असल छिमेकी चीनलाई घेराबन्दी गर्ने उद्देश्यले संरा अमेरिकाले ल्याएको सम्झौतामा हस्ताक्षर गर्नु असल मित्रप्रति धोखा हुने चर्चा गर्दै उहाँले विस्तारवाद र साम्राज्यवादविरूद्ध नेपाली जनताको सङ्घर्ष अझ अघि बढाउनुपर्ने बताउनुभयो ।
“सम्झौतामार्फत अमेरिकी सेना आउने सम्भावनालाई विगतको इतिहास हेर्दा नकार्न सकिन्न”, उहाँले भन्नुभयो ।
नेमकिपा बाँके जिल्ला समिति सदस्य रसिद अहमद सिद्दिकीले साम्राज्यवादले मध्यपूर्वका देशहरूलाई युद्धभूमि बनाएर लाखौँ मानिसको ज्यान लिएको र एमसीसीले भविष्यमा नेपालको अवस्था पनि त्यही हुनसक्नेमा सजग हुनुपर्ने बताउनुभयो ।
उहाँले देशभक्त र साम्राज्यवादविरोधी जनता एकजुट भएर एमसीसी सम्झौतालाई खारेज गर्न लाग्नुपर्ने बताउनुभयो ।
सभामा नेमकिपा बाँकेका सदस्य नवीनकुमार शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *