भर्खरै :

पेरूको सशस्त्र आन्दोलन ‘साइनिङ पाथ’का नेता गोन्जालोको निधन

दक्षिण अमेरिकी देश पेरूको सशस्त्र आन्दोलन साइनिङ पाथका ऐतिहासिक नेता अविमायल गुजमान गोन्जालोको शनिबार निधन भएको छ । पेरूको क्रान्तिकारी समूह ‘साइनिङ पाथ’ का संस्थापक गोन्जालोको ८६ वर्षको उमेरमा उच्च सुरक्षा व्यवस्थासाथ कालाओ जलसेनाको आधारमा रहेको बन्दीगृहमै निधन भएको हो ।
राष्ट्रिय बन्दीगृह प्रतिष्ठान – आईएनपीईका प्रमुख सुसाना सिल्भाले स्थानीय समयअनुसार ६ः४० बजे उक्त समाचार पुष्टि गरेकी थिइन् ।
पेरूको वामपन्थी राजनीतिमा कमरेड गोन्जालोको नामले प्रख्यात गुजमानको निधन इन्फेक्सनका कारण जलसेनाको अस्पतालमा भएको थियो । त्यहाँ उनको उमेरका कारण गिर्दो स्वास्थ्यको उपचार भइरहेको थियो ।
उनी सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए । उनको रिहाइको माग विश्वभरका वामपन्थीबाट हुँदै आएको थियो र पेरूमा वामपन्थी राष्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाइको कानुनी प्रक्रिया अगाडि बढिरहेको थियो ।
पेरूमा एक दशक भन्दा लामो समय गुरिल्ला समूह ‘साइनिङ पाथ’ र पेरूको सुरक्षाकर्मीबीच चलेको युद्धको क्रममा झन्डै ७० हजार मानिस मारिएका वा बेपत्ता भएको बताइएको थियो ।
गोन्जालोलाई २८ वर्ष अगाडि सन १९९२ को सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ गरिएको थियो । गएको जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
गोन्जालोको जन्म पेरूको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा भएको थियो । आमाको निधन भएपछि उनलाई एक धनी व्यक्तिले हुर्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *