भर्खरै :

मकाउमा संसदीय चुनाव

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आइतबार सातौँ संसदीय निर्वाचन भयो ।
आइतबार बिहान ९ बजेदेखि सुरू भएको मतदान राति ९ बजेसम्म चालु रहेको थियो । सोमबारसम्ममा निर्वाचनको प्रारम्भिक नतिजा आउने अपेक्षा गरिएको छ ।
१४ प्रत्यक्ष निर्वाचित, १२ अप्रत्यक्ष निर्वाचित र मकाउको प्रमुख प्रशासकीय अधिकृतले मनोनय गर्ने सात गरी जम्मा ३३ जना सांसदको लागि भएको निर्वाचनमा मतदानबाट प्रत्यक्ष र अप्रत्यक्ष सांसद चुन्ने व्यवस्था छ ।
मतदान गरेपछि मकाउ विशेष प्रशासकीय क्षेत्रका प्रमुख प्रशासकीय अधिकृत हो एैत सेङले मतदाताहरूलाई मतदानमा सक्रियतापूर्वक भाग लिन आग्रह गरे ।
उनले नयाँ निर्वाचित हुने सांसदहरूले विशेष प्रशासकीय सरकारलाई त्यहाँको मूल कानुनअनुसार निगरानी राख्ने भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भ्रष्टाचारविरोधी अधिकारीहरूले चुनावको प्रक्रिया सुरू भएयता झन्डै ८ हजार अनुगमन गरिसकेको र अवस्था सन्तोषजनक रहेको बताए ।
चौध वटा समूहबाट १२६ जना उम्मेदवारबीच १४ वटा प्रत्यक्ष निर्वाचित हुने स्थानको निम्ति प्रतिस्पर्धा हुनेछ भने १२ वटा अप्रत्यक्ष निर्वाचित हुने स्थानको निम्ति पाँच वटा व्यवसायिक समूहबीच प्रतिस्पर्धा हुनेछ ।
मकाउमा प्रत्यक्ष निर्वाचनअन्तर्गत ३ लाख २५ हजार १८० जना मतदाता छन् । सन् २०१७ मा भएको अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा १८ हजार १६० जना मतदाता थपिएका छन् ।
यसैबीच सन् २०१७ मा अप्रत्यक्ष निर्वाचनमा मतदान गर्ने ८१३ जना कानुनी मतदाता भएकोमा अहिले ८५८ जना पुगेको छ ।
कोभिड–१९ महामारीलाई ध्यानमा राखी मकाउ सरकारले चुनावी अभियानमा कडाइ गरेको थियो । मतदानको दिन मतदातालाई मुखमा मास्क लगाउन अनिवार्य गरिएको थियो । त्यस्तै सबै मतदाताको तापक्रम परीक्षण गर्नुका साथै स्वास्थ्य कोड पनि बुझाउन अनिवार्य गरिएको थियो । मतदाताहरूबीच सामाजिक दूरी कायम गर्न पनि अनिवार्य गरिएको थियो ।
मतदानको निम्ति ४२ वटा मतदान केन्द्र र तीन वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो । स्वास्थ्यको कारण मतदान केन्द्रमा पुगेर मतदान गर्न नसक्ने मतदाताको सुविधाको निम्ति अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *