भर्खरै :

‘एमसीसीले नेपाललाई नवउपनिवेश बनाउनेछ’

जुम्ला, २९ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले एमसीसी सम्झौता अनुदानको नाममा नेपाललाई नयाँ उपनिवेश बनाउने चाल भएको बताउनुभएको छ ।
नेमकिपा जुम्ला जिल्ला सम्मेलनमा सहभागी बन्न सोमबार जुम्ला पुग्नुभएका प्रजापतिसँग मङ्गलबार स्थानीय रेडियो खुला आकाशका प्रतिनिधिसँग कुराकानी गर्दै उहाँले देश हितविपरीत प्रावधानहरू भएको हुँदा एमसीसी सम्झौता कार्यान्वयन गर्न नेपाली जनताले अस्वीकार गर्नुपर्ने बताउनुभयो ।
“एमसीसीका उपाध्यक्षले नेपाली नेताहरूका घर–घरमा पुगेर दबाब र धम्की दिएकी छिन् । विदेशीसामु एकपल्ट झुकेको नेतृत्व बारम्बार झुक्नुपर्ने अवस्था आउनेछ”, प्रजापतिले भन्नुभयो ।
“हरेक पुरानो विचारलाई नयाँ र प्रगतिशील विचारले विस्थापित गर्नेछ । व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने पुरानो पुँजीवादी विचारविरुद्ध सामूहिक स्वार्थको रक्षा गर्ने समाजवादी विचारको विकास भएको हो”, उहाँले बताउनुभयो ।
सरकारमा को बस्छ भन्दा शासकले कस्तो काम गर्छ भन्ने कुरा महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले सङ्घीयता र प्रजातन्त्र बलियो बनाउन स्थानीय जनताको प्रत्यक्ष सहभागिता हुने स्थानीय तह बलियो हुनुपर्ने बताउनुभयो ।
“विडम्बना अहिले देशमा सङ्घीयताविपरीत काम भइरहेका छन्”, उहाँले भन्नुभयो ।
नेमकिपाले नेपाली जनताको स्वाभिमानमा धक्का पुग्ने कुनै पनि सहयोग स्वीकार नगर्ने भन्दै प्रजापतिले जनता सहभागितामा हुने विकास निर्माण दिगो हुने प्रस्ट पार्नुभयो ।
मङ्गलबार केन्द्रीय सदस्य प्रजापतिले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुभयो । जम्मा ३ सय शøयाको स्वीकृति प्राप्त प्रतिष्ठानमा हाल विभिन्न विषयका कक्षा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *