भर्खरै :

काभ्रेको पाँचखाल र कुन्ताबेँसीमा एमसीसीको विरोधमा जुलुस र सभा

काभ्रे, २ असोज । देश हितविपरीतको एमसीसी सम्झौताविरूद्ध देशभर विरोध सभा र जुलुस गर्ने नेपाल मजदुर किसान पार्टीको अभियान चालु छ । यसै क्रममा शनिबार काभ्रे जिल्लाका विभिन्न नगरपालिकामा विरोध जुलुस र सभा भयो । नेमकिपा पाँचखाल नगर समितिको आयोजनामा पाँचखाल तामाघाटमा भएको जुलुस बजार परिक्रमापश्चात् समाज कल्याण चोकमा पुगेर जनसभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले एमसीसी आर्थिक सहयोग हो भने किन नेपालका विभिन्न टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गर्नुप¥यो भनी प्रश्न गर्नुभयो ।
उहाँले एमसीसी पारित गर्न अमेरिकी अधिकारी फातिमा सुमारले प्रचण्ड, ओली, नेपाल, देउवालगायतका शासक नेताहरूको घर–घरमा पुगेर दबाब दिएको र एमसीसी पारित नगरे आर्थिक नाकाबन्दी लगाउने धम्की दिएको बताउनुभयो ।
“यो देशमा डलर कमाएर विज्ञापन दिने एकथरी छन् भने अर्को त्यही डलर खाएर यो देशमा एमसीसीको विरोध हुनु भनेको दुर्भाग्यपूर्ण भनी हिँड्ने देशद्रोहीहरू पनि छन्”, सांसद गोसाईले बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले एमसीसी सम्झौता देशघाती भएकैले देशभर एमसीसीविरोधी जनआन्दोलन भइरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङ, सहसंयोजक सुरेश परियार, मुना तामाङ, नेमकिपा पाँचखाल नगर समितिका अध्यक्ष धनबहादुर तामाङले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) साम्राज्यवादी संरा अमेरिकाको गुलियो पोतेको विष भएको चर्चा गर्नुभयो ।
शनिबार नै नेमकिपा मण्डन–देउपुर नगर समितिको आयोजनामा देशघाती एमसीसी सम्झौताविरूद्ध कुन्ताबेसीमा जुलुस तथा सभा भयो । कुन्ताबँेसी बजारबाट सुरू भएको जुलुस बजार परिक्रमा गरी पिपल चौतारीमा पुगेर जनसभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सत्ताधारीहरूले आत्मसमर्पण गरे पनि स्वाभिमानी देशभक्त जनताले साम्राज्यवादसामु आत्मसमर्पण गर्ने छैनन् भन्नुभयो ।
“अमेरिकाले नेपाललाई ५० करोड डलर देखाएर नेपाल आउन लागेका छन्, त्यो डलर आर्थिक सहायता होइन । एमाले, माओवादी, नेपाली काङ्ग्रेस अमेरिकाको दासता स्वीकार्ने तरखरमा छन्, सहयोगको नाममा सैनिक हतियार नेपालमा भित्याउन खोजिरहेका छन्”, उहाँले भन्नुभयो ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङ, सहसंयोजक सुरेश परियार, मुना तामाङ, नेमकिपा मण्डन–देउपुर नगर समितिका अध्यक्ष कृष्णबहादुर तामाङले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाललाई मात्र नभई एसियालाई नै युद्धभूमिमा परिणत गर्न खोजिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *