भर्खरै :

भारतले अब विद्यालय सञ्चालनमा ढिलाइ गर्न हुन्न

भारतका २५ करोड विद्यालय जाने बालबालिका विद्यालय नगएको झन्डै १६ महिना हुन थालेको छ । सन् २०२१ को जूनसम्ममा संसारका झन्डै १७० देशका विद्यालयहरू कुनै न कुनै रूपमा सञ्चालन हुन थालेका छन् । खासमा अधिकांश देशका विद्यालयहरू महामारीबीच केही छोटो अवधिबाहेक सञ्चालनमै छन् । भारतका नीति निर्माताहरूले पनि केटाकेटीलाई विद्यालयमा पठाउने विषयमा गम्भीरतापूर्वक सोच्न हतार भइसकेको छ ।
महामारीले विद्यालयका विद्यार्थीलाई अनलाइन कक्षामा बस्न बाध्य बनायो । तथापि, विद्यालयको कक्षा कोठामा बसेर पढ्ने पद्धतिलाई अनलाइन कक्षाले विस्थापन गर्नसक्दैन । आमा–बुबा वा अभिभावकको सक्रिय सहभागिताले मात्र अनलाइन शिक्षण पद्धति प्रभावकारी हुने भएकोले विपन्न पृष्ठभूमिका बालबालिकालाई अनलाइन शिक्षणले अझ पछाडि धकेल्ने गरेको छ । त्यस्तै बालबालिकाको समग्र संवादको विकास, भाषामा प्रवीणता, अन्तरव्यक्ति र सामाजिक शिल्प र शारीरिक एवम् मनोवैज्ञानिक स्वास्थ्यको लागि पनि विद्यालयमा विद्यार्थीको भौतिक सहभागिता आवश्यक छ । यी सबै कुरा पश्र्वभागमा भइरहेको हुन्छ । महामारीअघि नै भारतका विद्यालयमा शिक्षा र शिक्षणको स्तर कमजोर मानिन्थ्यो । अनलाइन शिक्षणले त यो असमानतालाई अझ फराकिलो बनाएको छ ।
भारतमा कोभिड–१९ महामारीपछि क्रमशः सबै क्षेत्र खुला गर्दै जाने योजनाअन्तर्गत पर्यटन र अन्य आर्थिक गतिविधि सुचारू गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । तर, शैक्षिक गतिविधिको पुनःसञ्चालन र विद्यालय खोल्ने विषयमा सरकारले अझै पुग्दो ध्यान दिनसकेको छैन । विद्यार्थी एक महिना विद्यालय नजाँदा दुई महिनाको शिक्षण गुमाउने अध्ययनले देखाएको छ । भारतका विद्यार्थीहरू १६ महिना विद्यालय गएका छैनन् । त्यसको अर्थ उनीहरूले ३२ महिना बराबरको शिक्षा गुमाएका छन् । अघिल्लो वा चालु शैक्षिक सत्रबाट विद्यालय जान थाल्ने बालबालिकाहरू सबभन्दा ठूलो घाटामा परेका छन् ।
विद्यालय पुनः सञ्चालनबारे प्रमाणमा आधारित नभएका केही सजगतावादी मतले तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई सबभन्दा बढी प्रभावित बनाउने भनिरहेका छन् । यो गलत बुझाइले नीति निर्माता र अभिभावकलाई निकै चिन्तित बनाएको छ । त्यही भएर विद्यालय सञ्चालनसम्बन्धी कुराकानीलाई नै थाती राखिएको छ । सत्य के हो भने कुनै पनि आगामी लहरमा बालबालिका थप जोखिममा छैनन् । भारतका विभिन्न राज्यमा गरिएको जैविक अध्ययन (सेरो सर्भे) मा आधारित प्रमाणले बालबालिका पनि वयस्ककै दरमा सङ्क्रमणबाट प्रभावित बनाएको देखाएको छ । तथापि, बालबालिकामा यो सङ्क्रमणको रूपमा विकास हुने जोखिम न्यून हुन्छ । त्यसको कारण बालबालिकामा सार्स–कोभ–२ भाइरस पस्नको निम्ति आवश्यक शारीरिक अवस्था (recptors) पूर्ण विकास भइसकेको हुँदैन । वयस्कलाई खोप लगाए पनि बालबालिकामा सङ्क्रमणको अवस्थामा कुनै परिवर्तन नआएको संरा अमेरिकामा देखिएको छ । भाइरसका नयाँ प्रजातिले बालबालिकालाई पार्ने मध्यमदेखि गम्भीर रोगको जोखिमलाई कम गरेको छैन ।
त्यसबाहेक अन्य तीन वैज्ञानिक आधार छन्, जसबारे विचार गर्न जरूरी हुन्छ । पहिलो, विद्यालय सञ्चालन गर्न बालबालिकालाई खोप दिइसकेको समय कुरिरहन आवश्यक छैन । संसारका विज्ञहरूले बालबालिकालाई खोप लगाइसक्नु विद्यालय पुनःसञ्चालनको पूर्वअवस्था नहुने बताएका छन् । वास्तवमा संसारका कुनै पनि देशमा १२ वर्षभन्दा मुनिका बालबालिकालाई खोप दिन थालेको छैन । कम जोखिमको कारण यो उमेर समूहलाई आगामी धेरै महिनासम्म पनि खोप दिने प्राथमिकतामा पर्ने देखिँदैन । दोस्रो, विद्यालयका शिक्षक र कर्मचारीलाई खोप दिनु राम्रो कुरा हो, तर त्यसैलाई कारण बनाएर विद्यालय बन्द गरिरहनु ठीक होइन । तेस्रो, कक्षा ८ सम्मका बालबालिकाका कक्षा सुरूमा सञ्चालन गर्नुपर्छ किनभने यो उमेर समूहलाई सबभन्दा न्यून जोखिम हुन्छ । कक्षा ९–१२ सम्म सुचारू गर्न भने सजगता अपनाउनुपर्छ र थप सावधान रहनुपर्छ ।
भारतका राजयहरूले विद्यालय पुनःसञ्चालनसम्बन्धी तत्कालै विस्तृत योजना र सञ्चालन रणनीति बनाउन ध्यान वा प्राथमिकता दिनुपर्छ । विद्यालय पुनःसञ्चालन रणनीतिको बृहत् सैद्धान्तिक खाका केन्द्रीय सरकारले नै बनाइदिनुपर्छ । तर, त्यो रणनीतिमा परिमार्जन वा कार्यान्वयनको निम्ति राज्यहरूलाई पूर्ण अधिकारसम्पन्न बनाइनुपर्छ । त्यस्तो रणनीति विश्वव्यापी प्रमाणमा आधारित हुनुपर्छ । विज्ञहरूबाट निर्देशित हुनुपर्छ । स्थानीय सरूवा रोग विज्ञहरूको सल्लाह सुझाव लिइनुपर्छ । विकसित हुने नयाँ अवस्थाअनुसार त्यसमा परिमार्जनको लागि लचिलो पनि हुनुपर्छ ।
विपन्न वर्गका बालबालिका पढ्ने विद्यालयहरू खोल्न पहिलो प्राथमिकता दिइनुपर्छ किनभने त्यस्ता बालबालिकालाई घरमै पढ्न सहयोग गर्ने कोही हुने गर्दैन । विद्यालय शिक्षा प्रणालीमा प्रवेश गर्न लागेका बालबालिकालाई विशेष प्राथमिकता दिइनुपर्छ ।
विद्यालय सञ्चालन भएपछि विद्यालय प्रशासनले आवश्यक संरचनागत परिमार्जनलाई ध्यान दिनुपर्छ । त्यो भनेको कक्षाकोठामा राम्रो हावा आवतजावत गर्ने भेन्टिलेसनको व्यवस्था र कक्षा कोठामा बालबालिकाबीचको दूरीजस्ता कुरालाई ध्यान दिनुपर्छ । खुला चौरमा पनि कक्षा सञ्चालन गर्न सकिन्छ । तर, ओसिलो ठाउँमा कक्षा सञ्चालन गर्नहुन्न । विद्यालय सञ्चालन भएपछि विद्यालयको स्वास्थ्य सेवा प्रणाली अझ बलियो बनाउन सकिन्छ । बालबालिकाको नियमित स्वास्थ्य परीक्षण गरिनुपर्छ । बालबालिकालाई कोभिड अनुकूल व्यवहारबारे जानकारी दिनुका साथै यो प्रक्रियामा अभिभावकलाई समेत संलग्न बनाउन सकिन्छ । विद्यालयका शिक्षक–शिक्षिका र कर्मचारीलाई कोभिडको स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन तालिम दिन सकिन्छ र उनीहरूलाई यसको संवेदनशीलताबारे बुझाउन सकिन्छ ।
पहिले पहिलेको समयतालिकाभन्दा फरक कक्षाहरू दिन बिराएर, तीन दिनको एक दिन वा साताको एक दिन पनि हुनसक्छ । कक्षाहरू फरक फरक समयमा पनि सञ्चालन गर्न सकिन्छ । विद्यालय प्रशासनले अभिभावकसँगको सल्लाहमा कुन दिन कति जना विद्यार्थी विद्यालयमा सहभागी बनाउने भन्ने कुराको निधो गर्नसक्छ । कक्षा कोठा शिक्षण र अनलाइन कक्षाको मिश्रित कक्षालाई निरन्तरता दिन सकिन्छ । अभिभावकलाई कुनै तरिकाबाट आफ्ना नानीलाई पढाउने भन्ने विषयमा छनौटको अधिकार दिन सकिन्छ । अभिभावकलाई बेलाबेलामा सजग बनाउने कामलाई जारी राख्नुपर्छ । विद्यालयका प्रत्येक कक्षाका बालबालिका अर्को कक्षाका बालबालिकासँग घुलमिल नहुने ‘बायो बबल’ अवधारणाको अभ्यास गर्न सकिन्छ ।
कोभिड–१९ बाट बालबालिकालाई जोगाउने हाम्रो अतिरञ्जित प्रयासले बालबालिकालाई पढ्ने र सिक्ने अवसरबाट बन्चित गर्न हँुदैन । बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्य एवम् विकासको लागि विद्यालय सुचारू गर्नु आवश्यक छ । अहिले उपलब्ध वैज्ञानिक प्रमाणको आधारमा बालबालिकालाई विद्यालयमा सुरक्षितरूपमा फर्काउन सकिन्छ, छुटेका समयको क्षतिपूर्ति गर्न सकिन्छ र उनीहरूलाई शिक्षणको बाटोमा हिंडाउन सकिन्छ । भारतमा फेरि पनि विद्यालय सञ्चालनको समय आएको छ ।
(लेखक सरूवा रोग विशेषज्ञ र जनस्वास्थ्यका विज्ञ हुनुहुन्छ । )
स्रोतः द न्यु इन्डिया एक्सप्रेस
नेपाली अनुवादः सुमन

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *