भर्खरै :

विदेशी अनुदानसँगै विदेशी स्वार्थ पनि

नेपालगञ्ज, ४ असोज । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा जिल्लास्तरीय कार्यकर्ताबीच सोमबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले विदेशी अनुदान सँगसँगै विदेशी स्वार्थ पनि आउने हुँदा सतर्क हुनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “माग्ने प्रवृत्ति रहेसम्म हाम्रो इज्जत रहन्न । एमसीसी परियोजना राष्ट्रघाती भएकोले नेमकिपाले यस विषयमा जनतालाई सचेत पार्दै विरोध गरिरहेको छ ।”
एनजीओको कारण युगोस्लाभिया ७ भागमा विखण्डन भएको चर्चा गर्दै केन्द्रीय सदस्य प्रजापतिले युगोस्लाभियाको घटनाबाट नेपाली जनताले शिक्षा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “एनजीओ र आईएनजीओले देश विकास हुनेछैन ।”
ठूला भनिने सत्तामा रहेका शासक पार्टीका नेताहरू विदेशी इसारामा चलेकै कारण देशको स्थिति भद्रगोल अवस्थामा पुगेको धारणा राख्दै उहाँले सामाजिक स्वामित्वको ठाउँमा निजी स्वामित्वको पक्ष लिने पार्टीहरू पुँजीवादी पार्टी भएको स्पष्ट पार्नुभयो ।
राजनीतिक दल टुक्र्याउने, संसद् पुनःस्थापना गर्ने निर्णय, राष्ट्रपतिलाई परमादेश जारी गर्ने सर्वोच्च अदालतको निर्णय संसद्को सर्वोच्चताविपरीत भएको स्पष्ट पार्दै उहाँले पुँजीवादी संसद् पँुजीपति वर्गको अवैध कार्यलाई वैध गर्ने थलो भएको बताउनुभयो ।
इमानदार कार्यकर्ताहरूलाई प्रतिक्रियावादी वर्गले अनेक लोभलालच देखाई फसाउन सक्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले एमसीसी सम्झौता नेपालको हितविपरीत भएकोले उक्त परियोजना खारेज नभएसम्म जनताले खबरदारी गरिरहनुपर्छ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अञ्जीरबहादुर शाही, दिल्लीबहादुर पुन र रूपेश श्रेष्ठले पनि बोल्नुभएको थियो ।
भेलाले बखतबहादुर थापाको संयोजकत्वमा १९ सदस्यीय नेमकिपा दोस्रो बाँके जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *