भर्खरै :

गाउँ–गाउँमा एमसीसीको विरोध

दैलेख, ४ असोज । एमसीसी सम्झौताको विरोधमा दैलेख जिल्लाका गाउँँगाउँमा विरोध जुलुस र सभा भइरहेका छन् । सोही क्रममा दैलेखको गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका समितिको आयोजनामा डुङ्गेश्वर बजारमा एमसीसीको विरोधमा प्रदर्शन र सभा भयो ।
जुलुसपछि डुङ्गेश्वर बजारमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरूङले एमसीसी सम्झौता नेपाललाई संरा अमेरिकी साम्राज्यवादी स्वार्थमा फसाउने षड्यन्त्र भएको भन्दै देशभक्त नेपाली जनता यो सम्झौताको विरोधमा उत्रनुपर्ने बताउनुभयो ।
उहाँले शासक दलहरूले देश र जनतालाई भन्दा आ–आफ्ना स्वार्थलाई बढी प्राथमिकता दिने दलहरूलाई जनताले चिन्नुपर्ने बताउनुभयो ।
नेमकिपा डुङ्गेश्वर गाउँपालिका समितिका अध्यक्ष जगत वलीले हिन्द–प्रशान्त रणनीतिको हिस्सा एमसीसी सम्झौतामा सामेल हुनु नेपालको स्वतन्त्र परराष्ट्र नीतिविपरीत भएको बताउनुभयो ।
नेमकिपा गुराँस गाउँपालिका समितिका अध्यक्ष उदयजङ्ग शाहीले एमसीसी सम्झौताले नेपाली जनतालाई शक्ति राष्ट्रको होडबाजी र चेपुवामा पार्ने धारणा राख्नुभयो ।
सभामा नेमकिपा दैलेख जिल्ला समिति सदस्य रतनेश श्रेष्ठले नेपालमा वैदेशिक हस्तक्षेप नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य हृदय दाहाल, बिन्दुलाल रेग्मीलगायतले बोल्नुभएको थियो ।
चामुन्डा बिन्द्रासैनी
नेमकिपा चामुन्डा बिन्द्रासैनी नगर समितिको आयोजनामा एमसीसी सम्झौताको विरोधमा आइतबार विरोध सभा भयो ।
सभामा नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मी विकले नेमकिपाले स्थापनाकालदेखि नै साम्राज्यवादविरूद्ध सङ्घर्ष गर्दै आएको चर्चा गर्दै एमसीसी सम्झौता नेपाललाई साम्राज्यवादी चङ्गुलमा फसाउने प्रपञ्च भएको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौताको विरोधमा राजधानीमा आयोजित विरोध जुलुसमा प्रहरी दमन गरेर नेमकिपाका कार्यकर्तालाई घाइते बनाउने सरकार देशभक्त हुननसक्ने बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सल्लाहकार पुरे कामीले विदेशी अनुदानमा देश चलाउने शासक दलको सोच आफैमा पराधीन चिन्तन भएको बताउनुभयो । नेपालको विकासको निम्ति नेपाली जनताकै रगत पसिनाको खाँचो औँल्याउँदै उहाँले सरकारले नेपालका लाखौँ युवा विदेशमा गइरहेका छन् भन्नुभयो ।
शिक्षक पद्मबहादुर शाहीले देशको सार्वभौमिकता रक्षाको निम्ति नेमकिपाको सङ्घर्ष नेपालका अन्य राजनीतिक दलको निम्ति प्रकाशस्तम्भ भएको चर्चा गर्दै देशको सीमा मिचिँदा नेमकिपाले अग्रपङ्क्तिमा बसेर सङ्घर्ष गरेको बताउनुभयो ।
सभामा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य धनकुमारी शाही, कटकबहादुर खड्का, डिल्लीप्रसाद खनाल, धर्मराज चौलागाईं, दीपक शाही, नगेन्द्र कार्की, केशवबहादुर शाही, टङ्कप्रसाद चौलागाईँ, खगेन्द्रप्रसाद शर्मा, कृष्णप्रसाद ढकाल, शिवराज जैसीलगायतले बोल्नुभएको थियो ।
अछाम
नेपाल मजदुर किसान पार्टी अछामले देशघाती एमसीसी सम्झौताको विरोधमा पञ्च देवल विनायक नगरपालिकामा सभाको आयोजना ग¥यो ।
उक्त विरोध सभामा नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले एमसीसी सम्झौता खारेज गराउन अछामी दाजु–भाइहरू घर–घरबाट उठ्नुपर्छ भन्नुभयो ।
अमेरिकी सेना नेपालमा प्रवेश गरे नेपालको हालत अफगानिस्तान हुने भएकोले देशभक्त युवाले एमसीसीविरुद्धको आन्दोलनलाई साथ दिनुपर्छ भन्नुभयो ।

विरोधसभामा नेमकिपा अछाम जिल्ला समिति सदस्य पद्मबहादुर बुढा, नेपाल क्रान्तिकारी युवा सङ्घका पूर्वअध्यक्ष वीरेन्द्रबहादुर शाही, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घकी जुनाकुमारी सावदलगायतले बोल्नुभएको थियो । उक्त विरोधसभामा जयन्द्रबहादुर शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *