भर्खरै :

आजको अन्तर्राष्ट्रिय सम्बन्धको एउटा कोण

अन्तर्राष्ट्रिय सम्बन्धमा आदर्शवादी र भविष्यवादी सोचाइ राख्ने केही विद्वान्हरूले डोनाल्ड ट्रम्पलाई बिदा गरेर जो बाइडेन ‘ओबल रुम’ मा आएपछि सोचेका थिए– ट्रम्पले बिगारेका सबै सम्बन्ध अब क्रमशः मर्मत हुँदै जानेछन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक युरोप भ्रमण गर्ने क्रममा बाइडेनले दिएको ‘अमेरिकी पुनरागमन’ को सन्देशले पनि उनीहरूको यो अपेक्षालाई टेवा दिएको थियो । तर, अन्तर्राष्ट्रिय सम्बन्धमा वस्तुवादी सोचाइ राख्ने विद्वान्हरू भने यो सोचाइप्रति सहमत थिएनन् । बाइडेनको पुनरागमनले संरा अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध, विशेषतः चीनविरुद्ध उसको प्रयासमा कुनै अन्तर नआउने उनीहरूको भनाइ बाइडेनका पछिल्लो गतिविधिले पुष्टि गरेको छ ।
बाइडेनको चुनाव प्रचारको क्रममा केही टिप्पणीकारले उनी चीनप्रति नरम र उपराष्ट्रपति हुँदा चीनसँग उनको सम्बन्धबारे चर्चा गरेका थिए । त्यसैलाई आधार मानेर केही विश्लेषकहरूले बाइडेन सरकारको पालामा ट्रम्पकालीन व्यापार युद्ध बिसर्जन हुने अथवा कम्तीमा त्यो रूपमा आक्रामक नहुने अपेक्षा गरिएको थियो । तर, अन्तर्राष्ट्रिय सम्बन्धलाई भावनात्मकता कोणबाट हेर्ने गल्ती कम्तीमा संरा अमेरिकाको मामिलामा कसैले नगर्दा हुने थियो । कूटनीति बगरेको छुराजस्तै धारिलो हुने यथार्थवादी सारलाई कसैले उपेक्षा गर्नसक्दैन ।
बाइडेन संरा अमेरिकी साम्राज्यवादी संस्थापनको निम्ति परिस्थितिजन्य छनोट हो । ट्रम्पको बहुलट्टीपूर्ण र हट्ठी व्यवहारबाट भएको क्षतिलाई सन्तुलनमा ल्याउन बाइडेनजस्तो मिजासिलो अनुहारको उनीहरूलाई खाँचो थियो, जो ट्रम्पजस्तो रुखो नहोस् तर ट्रम्पले जस्तै अमेरिकी पुँजीको हित गर्ने काम गरोस् । बाइडेन वा ओबामा त्यस्तै मनोच्छा पूरा गर्ने मेसो थियो । उनीहरूको आगमनले खास संरा अमेरिकी अन्तर्राष्ट्रिय मूल चरित्रमा कुनै मौलिक अन्तर आएको छैन ।
कोभिड–१९ भाइरसको उत्पत्तिको विषयमा अनुसन्धान गर्न वैज्ञानिक समुदायलाई लत्याएर अमेरिकी गुप्तचरी समुदायलाई दिनुदेखि अहिले तथाकथित हिन्द–प्रशान्त क्षेत्रमा मोर्चाबन्दीको व्यग्रताले पनि बाइडेन ट्रम्पको शिलशिला नै हो भन्ने पुष्टि गरेको छ ।
विशेषतः चीनविरुद्धको घेराबन्दी गर्ने लक्ष्य हासिल गर्न संरा अमेरिकाले हालै बेलायत र अस्टे«लियालाई काखी च्यापेर नयाँ गठबन्धनको थालनी गरेको छ । चीनको उदयमाथि नियन्त्रण गर्ने विषयमा सबै पश्चिमा देशहरू एकै ठाउँमा भए पनि त्यसको स्वरुप कस्तो हुने भन्ने विषयमा मतान्तर छन् । अथवा, कसले त्यसको नेतृत्व गर्ने भन्ने होडबाजी पनि छ । यो होडबाजी र असहिष्णुताको अभिव्यक्ति हालै अस्ट्रेलियाले फ्रान्ससँग सन् २०१६ मा गरेको पण्डुबी खरिदसम्बन्धी सम्झौताको हठात् खारेजीबाट देखिएको छ । यो घटनाले अमेरिका र बेलायत युरोपेली सङ्घको उपादेयतालाई नै चुनौती दिइरहेको देखिन्छ । अर्को शब्दमा अमेरिका अब पुरानो शक्ति सम्बन्ध भत्काएर नयाँ मोर्चाबन्दीमा जान खोजिरहेको देखिन्छ । नयाँ बन्ने मोर्चाको निम्ति उसले युरोपेली सङ्घमा भर पर्न चाहेको छैन । बेलायत युरोपेली सङ्घबाट बाहिरिएपछि बेलायत त्यो मोर्चामा एक्लै सामेल हुन स्वतन्त्र छ ।
फ्रान्स–अस्टे«ेलियाको पछिल्लो सम्बन्धमा आएको उतारचढावले पश्चिमा मोर्चामा ठुलै भूकम्प गएको देखिन्छ । चीनलाई घेराबन्दी गर्ने कुत्सित उद्देश्यबाट प्रेरित पश्चिमा शक्तिबीचको विभाजनले आगामी दिन सोभियत सङ्घका पछिल्ला कालखण्डभन्दा फरक हुने देखिन्छ । सोभियत सङ्घलाई जुन हतियारले समाप्त गरेको थियो, त्यही हतियारले चीनलाई समाप्त गर्ने पश्चिमा मोर्चाको चाहना भने दिवास्वप्न हुने देखिन्छ । बरु जीर्ण बनिसकेको पश्चिमा मोर्चाले अब काम गर्न नसकेको यो घटनाबाट सङ्केत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *