भर्खरै :

विद्यालय सञ्चालन सम्बन्धमा भक्तपुर नपाले थाल्यो परामर्श

भक्तपुर, ४ असोज । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने विषयमा सोमबार अभिभावक तथा विद्यार्थीहरूका प्रतिनिधिबीच छलफल कार्यक्रम भयो ।
छलफलमा उपप्रमुख जोशीले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिएको उल्लेख गर्दै विद्यालयहरू सञ्चालन गर्न शिक्षाविद् एवम् स्वास्थ्यविद्हरूसँग छलफल कार्यक्रमलाई अगाडि बढाइने बताउनुभयो ।
उहाँले नगरभित्र कोभिड सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको उल्लेख गर्दै विभिन्न सरोकारवालाहरूसँगको छलफलपश्चात् सुरक्षित र व्यवस्थित ढङ्गले विद्यालय सञ्चालन गर्दै लगिने बताउनुभयो ।
उपप्रमुख जोशीले विद्यालय सञ्चालन गर्नुपूर्व जनप्रतिनिधिसहितको अनुगमन टोलीलाई क्रियाशील बनाइने, विज्ञ, अभिभावक सङ्घ, विद्यार्थी सङ्घबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै सुरक्षित ढङ्गले स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गरिने र १८ वर्षमुनिका विद्यार्थीहरूलाई खोप उपलब्ध गराउन नगरपालिकाले आवश्यक पहल गरिने जानकारी गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरमा कोभिड सङ्क्रमणको जोखिम घट्दै गइरहेको अवस्थामा नगरपालिकाले सुरक्षित ढङ्गले विद्यालय सञ्चालन गर्ने तयारीलाई तीव्रता दिइरहेको बताउनुभयो ।
अभिभावक सङ्घ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले लामो समयसम्म शैक्षिक संस्थाहरू बन्द रहँदा विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा कमी आएको र अभिभावकलाई आर्थिक भार परेको चर्चा गर्दै विद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने र विद्यार्थीलाई खोप सुनिश्चितताको लागि नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका संयोजक प्रकाश गुरुङले स–साना र कम विद्यार्थी भएका विद्यालयले भौतिकरूपमा तथा अन्यको हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्नुपर्ने, कक्षा सञ्चालन नहुँदा प्रयोगात्मक कक्षाहरूमा बाधा पुगिरहेकोे र विद्यार्थीहरूको स्वास्थ्य बीमा र स्वास्थ्य उपचारमा नगरपालिकाले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
छलफलमा अभिभावकका प्रतिनिधिहरूले स्वीकृतिविना भौतिकरूपमा कक्षा सञ्चालन गरेका विद्यालयको अनुगमन प्रभावकारीरूपमा गर्नुपर्ने, स–साना कक्षाहरूमा अनलाइन कक्षा प्रभावकारी नभएको हुँदा भौतिकरूपमै विद्यालय सञ्चालन गर्नुपर्नेलगायतका धारणा राख्नुभयो ।
छलफलमा विद्यार्थीका प्रतिनिधिहरूले अनलाइन र भौतिक दुवै विधिलाई प्राथमिकतामा राख्दै विद्यालय सञ्चालन गर्नुपर्ने, कलेजमै गएर प्रयोगात्मक कक्षा लिन पाउने व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरूलाई मनोपरामर्श सेवामा जोड दिनुपर्ने, १८ वर्षमुनिका विद्यार्थीहरूको लागि खोपको सुनिश्चितताको लागि पहल गर्नुपर्नेलगायतका विचारहरू व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले विद्यालय सञ्चालनबारे नगरपालिकाले गरिरहेको तयारीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *