भर्खरै :

प्रवेशद्वार बदल्नमात्र थियो त ?

संसारका हरेक विषयका सैद्धान्तिक आधार हुन्छन् । तत् विषय केटाकेटीको तेलकासा खेल पनि हुन सक्दैन । हामीकहाँ सबै क्रियाकर्म सिद्धान्तका आधार हुँदैनन् अथवा हामी सबै कारबाहीलाई सिद्धान्तको थाङ्ग्रो दिन असमर्थ हुन्छौँ । हाम्रो अघिल्लो पुस्ताले सीप सिकायो, कौशल सिकायो, वास्तुकला सिकायो, अरू धेरै कुरा सिकायो परन्तु के कुरा छ्याङ्ग पारी सिकाएन भने कुनै पनि रचना वा उत्पादन वा परिष्कृतिको सिद्धान्त हुन्छ । विनासिद्धान्त मान्छे एक पाइला पनि चाल्न सक्दैन । त्यस्ता सिद्धान्त सबै दीर्घकालीन नहुन सक्छन् वा हामी पत्ता लगाउन सक्दैनौँ । फेरि हाम्रो स्मरणशक्ति पनि निरन्तर एकै नासको हुँदैन । यसर्थ पनि हामी हर कुराको आधार खोज्दैनौँ । अनि लाग्छ । यो यो काम वा यो यो क्रियाकलाप बिनाआधारको गरिएछ कि जस्तो लाग्छ । तर, त्यो यथार्थ होइन । यो अनुक्रमिकताले यदाकदा गलत अर्थ पनि लगायो । यस सिद्धान्तले आफ्नो जात, भाषा, धर्म र क्षेत्रका आधारमा गर्न लागे । जात, क्षेत्र, धर्म र भाषाका आधारमा काम गर्दा तत्काललाई अलि बढी सजिलो जस्तो पनि लाग्छ । त्यसैले क्रमशः मान्छेले यी विषयवस्तु अघि सारेर राजनीति गर्न लाग्यो । परिणाम वाञ्छित होइन अवाञ्छित निस्कन लाग्यो । समय यति अघि बढिसकेपछि थाहा पायो पाउन त । तर, परिस्थिति यति धेरै अघि बढिसकेको हुन्थ्यो जसको शुद्धीकरण वा परिष्करण सम्भव हुनैसकेन । तब ऊ अघि बढ्न पनि नसक्ने फर्कन पनि नसक्ने बिन्दुमा पुगिसकेको हुन्थ्यो । तसर्थ, सिद्धान्त मूल आधार हुनुपर्छ भन्ने हेक्का राख्नैपर्छ ।
उहापोह फैलाउने मञ्च
फेरि आयो नेपालभाषा साहित्य तःमुंज्या । सङ्ख्याको आधारमा हेर्दा यो तःमुंज्या एकचालीसौँ पर्दो रहेछ । एकचालीस वर्ष अघिको भक्तपुर कस्तो थियो होला र त्यो पुस्ताले कसरी आँट्यो त्यत्रो विशाल अनुष्ठान ? अहिले पुनरावलोकन गर्दा आश्चर्यचकित हुनुपर्छ । आखिर भयो, भएरै छोड्यो । आजको अवस्था हेर्दा त्यस साहित्य सम्मेलनमा आ–आफ्ना कृति र रचना दिनेमा प्रायः चालीस वर्ष उमेर नकटेका युवा–युवती छन् । बर्सेनि सयौँ नयाँ पुस्ताका युवा साहित्य रचनामार्फत आफूलाई समाजमा उभ्याइरहेका छन्, सार्वजनिक परिचय दिइरहेका छन् । निर्दलीय कालमा साहित्य तःमुंज्या राजनीतिक उहापोह फैलाउने एउटा सार्वजनिक मञ्च नै भएको थियो । राजनीतिक नेताहरू समाजमा सार्थक परिवर्तन ल्याउन होमिएका विभिन्न ठाउँमा बसी योगदान दिइरहेका विलक्षण प्रतिभाहरू जम्मा भई आ–आफ्ना क्षेत्र र विषयका साधनाहरू फैलाउने काममा लाग्थे र आज पनि लागिरहेकै छन् । आज पनि सिंहदरबार सिंहदरबारबाट बाहिर निस्कन सकेको छैन । सिंहदरबार पस्ने ढोका पश्चिमको साटो दक्षिण गराउनमात्र त्यस्ता सपुत नेपाली युवा–युवतीले प्राणोत्सर्ग गरेका हुन् र ? जीवन उत्सर्गको उद्देश्य सिंहदरबार प्रवेश द्वार फेर्नमात्र भएको अनुभूति भइरहेको छ आम सर्वसाधारण नेपालीमा । जनतामा न गणतन्त्र आयो न आयो लोकतन्त्र नै पनि । यस्तै हो भने गणतन्त्रको घोर बदनाम हुनेछ । नेताहरू एकपल्ट आफूतिर हेर्नोस् र सच्चिनोस् ।
जनताको साहित्य : सरल यात्रा
नेपालमा मात्र होइन संसारभर नै वर्ग हुञ्जेल वर्गसङ्घर्ष रहन्छ । तसर्थ आज पनि सर्जक, स्रष्टा एवं रचनाकारहरूले हान्ने ठाउँ नै वर्ग हो । शोषित–उत्पीडित एवं दमित वर्गले जात–भात, धर्म, सम्प्रदाय, भाषा र क्षेत्रमात्र होइन शोषण, दमन, उत्पीडनविरूद्ध साहित्यको आगो बाल्नु प¥यो, खली खानु प¥यो । वास्तवमा शोषक वर्गले शोषित वर्गलाई जातपात, भाषा, क्षेत्रजस्ता नक्कली खेल खेलाइरहेको छ । ताकि आम मान्छेको ध्यान मूल मुद्दातर्फ होइन अन्यत्रै केन्द्रित होस् र आ–आफ्नो वर्गले परम्परादेखि गर्दै आएको चरम शोषण यथावत रहोस् भन्ने एकमात्र मनोकाङ्क्षा छ । साहित्यको भुङ्ग्रो पनि यो र यस्तै वैविध्यपूर्ण शोषणको विरूद्ध निरक्षरले पनि आत्मसात गर्न सक्ने भाषा, शैली र अरू विद्याको पनि माध्यमबाट सर्वसाधारणसम्म पु¥याउनु जरूरी छ । भाषा र शैली अर्को झञ्झट छ । सर्वसाधारणले बुझ्ने भाषा शैली, उपमा र दृष्टान्तमार्फत शोषण, दमन एवं उत्पीडनविरूद्ध मुद्दा उठाइनुपर्छ । ताकि शोषितहरूले सरल तरिकाले बुझ्न र प्रश्न उठाउन सकून् । भाषा एउटा समस्याको रूपमा आउने गरेको छ । यसकारण भाषा मूल समस्याको रूपमा उभिँदो रहेछ । जो पनि नयाँ लेखक र पुराना लेखकले सर्वबोध्य भाषा, शब्द र शैलीमा लेख्ने प्रयत्न स्वतन्त्र कलम समाउनुअघि र किबोर्डमा औँला राख्नुअघि नै सोच्नुपर्छ । जति बढी जनताको मान्छे भो उतिनै बढी सरल, सोझो अर्थ लाग्ने शब्द र भाषा प्रयोग जरूरी छ । हो, व्यङ्ग्य गर्दा यो नियम फरक पर्ला अन्यथा भाषाले नै तपाईंको प्रयत्न खेर जान्छ । यसर्थ यस परिप्रेक्ष्यमा यस पालाको एकचालीसाँै तःमुंज्यामा प्रस्तुत गर्ने लेख्न हेक्का राखौँ, लेखिसकेको भए एकपल्ट पुनरावलोकन गर्नु बुद्धिमानी होला ।
अश्लील र छाडाबाट बच्नैपर्छ
नेपालजस्तो मुलुकमात्र होइन अरू कैयौँ मुलुक पनि यो मुद्दामा अलमलिने गरेको देखिन्छ । पहिले हामीले वर्ग र वर्गबीचको अन्तरबारे आम सर्वसाधारणलाई अवगत गराउनुपर्छ । प्रारम्भिक अवस्थामा वर्ग र वर्गले हैरान पार्छ । यो मुद्दामा सर्वप्रथम नेतृत्व स्पष्ट हुनुपर्छ । यो वर्गशत्रु र वर्गमित्रको विभेदबारे स्पष्ट भएपछि काम गर्न सजिलो हुने तथ्य स्पष्ट छ । यो मामिलामा वर्गशत्रु एवं वर्गमित्रबारे पनि पार्टीभित्र बेला–बेलामा मतभेद देखिन्छ । वर्गीयरूपमा राजा शत्रु हो । नेपालको सन्दर्भमा भारतीय विस्तारवाद नेपाली जनताको शत्रु हो, दुश्मन हो वर्गीयरूपमा । यता संसारमा सामन्तहरू पनि साम्राज्यवादविरोधी छन् । यसको तात्पर्य सामन्तवादको समर्थन गरिँदैन । तर, जो जसले गरे पनि गलत काम, जनविरोधी कामको तीव्र विरोध हुनुपर्छ । यी त भए कम्युनिस्ट विरोधीहरूबाट हुने खराब कामबारे सङ्केत । तर, यहाँ त आफूलाई कम्युनिस्ट भन्ने दलहरूमा नेताहरू एवं नेतृत्वबाटै हाम्रो मान्छेहरूलाई नानाथरी गरी बिगारेका घटना प्रशस्त छन् । साहित्य साहित्यमात्र हो भन्ने अर्को एउटा भ्रम छ धेरै पहिलेदेखि नै । हामीबाट सिर्जना हुने साहित्यले साहित्य साहित्यमात्र होइन भन्ने सन्देश दिँदै साहित्यलाई कामदार जनताको अधिवक्ता हो भन्ने सन्देश प्रवाहित गर्नुपर्छ । साहित्यको सन्देश बढी प्रभावकारी भएर देखापरेको छ समाज परिवर्तनमा । तसर्थ, साहित्य तःमुंज्या बढी चनाखो हुनु जरूरी छ । तर, एउटा बिर्सनै नहुने अर्को पक्षको हेक्का राख्न भुल्नुहुँदैन । अश्लील तथा छाडा साहित्यले बिटुल्याएका धेरै दृष्टान्त छन् । त्यो रोगबाट बच्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *