भर्खरै :

तिब्बतबारे पश्चिमा मिडियाको दुष्प्रचार

छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङले गत जुलाईमा देशको दक्षिणी भागमा अवस्थित तिब्बत स्वशासित प्रदेशको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणको क्रममा राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बतसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयन गर्दै उक्त क्षेत्रको स्थिरता र उच्च गुणस्तरीय विकासमा जोड दिनुभएको थियो । सीले त्यतिबेला सिच्वान–तिब्बत रेलमार्गको ल्हासा निङ्ची रेल्वेसहित स्थानीय पूर्वाधारको अवलोकन तथा चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारीहरूसँग थप पूर्वाधार विकासको सम्भावनाबारे छलफल गर्नुभएको थियो । राष्ट्रपति सीको उक्त भ्रमणले तिब्बत स्वशासित प्रदेशको उतरोत्तर विकासमा चीनको केन्द्रीय सरकारले गहन ध्यान दिइरहेको स्पष्ट भएको थियो ।
चिनियाँ राष्ट्रपति सीको सोही भ्रमण र तिब्बतलाई लिएर पश्चिमा मिडियाहरूको दुष्प्रचार भने अझै थामिएको छैन । तिनीहरूले चीनले १९५० को दशकमा मात्र बलपूर्वक कब्जा गरेको र त्यसभन्दा अगाडि तिब्बत स्वतन्त्र राज्य थियो भनी इतिहासबारे भ्रामक दुष्प्रचार गरिरहेका छन् । उनीहरूकै भाषामा चिनियाँ राष्ट्रपति चियाङ चमिनपछि सी चिनफिङको तिब्बत भ्रमण – तिब्बतमा आफ्नो उपनिवेशिक शासन सुदृढ पार्ने चाल–मात्र हो । तिनीहरूले तिब्बतमा चीन सरकारको गतिविधिले तिब्बतमा मात्र नभई चीनसित १४१४ किलोमिटर सिमाना साझा गर्ने नेपालमा समेत प्रभाव पर्ने भनी चिन्ता प्रकट गरेका छन् ।
इतिहासको थोरैमात्र ज्ञान भएकाहरूलाई थाहा छ, चीनमा मङ्गोल सम्राटहरूको शासन रहँदै तिब्बत त्यस साम्राज्यको एक भाग रहेको थियो । पछि चीनको छिङवंशी सम्राटहरूको पालामा तिब्बतको एकीकरण गरी आफ्नो राज्यको एक प्रान्त बनाएको थियो । १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि १९५१ मे २३ तारिख केन्द्रीय जन सरकार र तिब्बती स्थानीय सरकारबीच तिब्बतलाई शान्तिपूर्ण मुक्त गर्ने सम्झौतामा भएको थियो । त्यसपछिदेखि स्वशासित तिब्बत प्रदेशमा त्यहाँका जनताले निर्वाचित गर्ने जनसरकारले शासन र प्रशासन सञ्चालन गर्दै आएको छ । आधुनिक राष्ट्र राज्यको अवधारणा आएदेखि नै तिब्बतीहरूले आफूलाई चिनियाँ मान्दै सिङ्गो चीनलाई आफ्नो देश मान्दै आएका छन् । जनगणतन्त्र चीनको एक भागको रूपमा स्वशासित तिब्बत प्रदेशले बाँकी चीनसँगसँगै विकासमा फडको मारिसकेको छ ।
इतिहासको कुनै कालखण्डमा स्वतन्त्र राज्य रहेका कुनै देशको भागलाई आज स्वतन्त्र राज्य मान्ने हो भने अहिले कायम रहेका धेरै देश छिन्नभिन्न हुनेछन् । कुनैबेला ग्रेट ब्रिटेन रहेको आजको संयुक्त अधिराज्य (बेलायत) लाई इङल्यान्ड, वेल्स, स्कटल्यान्ड र आयरल्यान्डमा विभाजित गर्नुपर्ने हुन्छ । संरा अमेरिकालाई कैयौँ राज्यमा विभक्त गर्नुपर्नेमात्र होइन, टेक्सास, न्यू मेक्सिको एरिजोना लुइसियाना, ओक्लाहामा, अर्कान्सासलगायत मेक्सिकोका भूभाग कब्जा गरी स्थापना गरिएका अमेरिकी राज्यहरू मेक्सिकोलाई नै फर्काउनुपर्ने हुन्छ । तिब्बत र तिब्बतको स्वतन्त्रताबारे त्यति धेरै चासो राख्ने पश्चिमा मिडियाहरूले बेलायतले अर्जेन्टिनाको माल्भिनास (फकल्यान्ड) टापु र संरा अमेरिकाले स्वतन्त्र राज्य पोर्टोरिकोलाई अझै कब्जामा राखेको बारे एक शब्द उच्चारण गर्दैनन् । संरा अमेरिकाले अहिले हाइटी, कोलम्बिया, पनामा, होन्डुरस, ग्वाटेमालालगायत कैयौँ क्यारिबियाली देशहरूलाई उपनिवेशको रूपमा व्यवहार गरिरहेको छ । तिब्बतबारे मात्र पश्चिमा मिडियाको भ्रमपूर्ण दुष्प्रचार किन ? कारण स्पष्ट छ, पश्चिमा साम्राज्यवादीहरू एसियाली देशहरूमा राजनीतिक अस्थिरता र अराजकता फैलाएर यहाँको विकासको गतिलाई अवरुद्ध पार्न चाहन्छन् । एसियाली देशहरूलाई आपसमा लडाउन र भिडाउन चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *