भर्खरै :

“अउकस” पछि आसियान

ओ संरा अमेरिका, बेलायत र अस्टे«लियाबीचको नयाँ मोर्चा (जसलाई अउकस भनिएको छ) बारे केही आसियान देशहरूले आफ्नबा धारणा सार्वजनिक गरेका छन् । उनीहरूले एसियाली भावनालाई अभिव्यक्त गरेका छन् ।
इन्डोनेसिया र मलेसियाले अउकसले पूर्वी एसियामा हतियारको प्रतिस्पर्धा हुनसक्ने चेतावनी दिएपछि मलेसियाले नयाँ रक्षा साझेदारीको सम्बन्धमा चीनको धारणा बुझ्न खोजिरहेको बताएको छ ।
अउकसले निःसन्देह शीतयुद्धकालीन मानसिकताको परिणाम हो । त्यसले पक्कै पनि क्षेत्रीय हतियार प्रतिस्पर्धा र अझ आणविक हतियार प्रतिस्पर्धा पनि निम्त्याउन सक्छ । यदि नयाँ शीतयुद्ध चर्किए आसियानले कुन पक्षमा लाग्ने ? संरा अमेरिका र चीनबीच नयाँ हातहतियारको प्रतिस्पर्धा भए आसियान कसको पछि लाग्ने ? आसियान दुई शक्तिबीचको प्रतिस्पर्धामा आफूबीचमा चेपिनेमा चिन्तित छ । संरा अमेरिकाले मलेसिया, इन्डोनेसिया, फिलिपिन्स र सिङ्गापुरजस्ता केही आसियान देशहरूलाई बल्छीमा फसाउने प्रयास गरिरहेको छ । यो वर्ष संरा अमेरिकाका धेरै जना उच्चपदस्थ अधिकारीहरूले पटक पटक दक्षिणपूर्वी एसियाको भ्रमण गरिसकेका छन् । संरा अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसले भियतनाममा गरेको ऐतिहासिक भ्रमण त्यसैको शिलशिला हो । ती भ्रमणको एउटै लक्ष्य भनेको संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिको प्रवद्र्धन गर्नु हो । तर, दक्षिणपूर्वी एसियाली देशहरू एउटा कुरामा तुलनात्मकरूपमा प्रस्ट छन् ः उनीहरू आफू कुनै पनि पक्षमा उभिन तयार छैनन् ।
आसियानले रणनीतिक सन्तुलन कायम राख्ने प्रयास जारी राख्नेछ । अउकसको कारण भविष्यमा यो प्रयास क्रमशः कठिन बन्दै जानेछ । दक्षिणपूर्वी एसियाली देशहरूले संरा अमेरिकालाई सकेसम्म पन्छाउँदै आएका थिए । तर, आफ्नै दैलोमा वास्तवमै एउटा मोर्चाको सामना गर्नुपर्ने भएपछि उनीहरूले कुन बाटो लिने हो, तय गर्नुपर्नेछ ।
सिङ्गापुर, इन्डोनेसिया र थाइल्यान्डजस्ता देशहरू चीन र संरा अमेरिका जीवन–मरणको खेलमा नहोमियोस् भन्ने चाहन्छन् । उनीहरू त चीन–संरा अमेरिकाबीच सहकार्य होस् भन्ने चाहन्छन् । चीन र संरा अमेरिकाबीचको सन्तुलनले उनीहरूलाई लाभ हुनेछ ।
फिलिपिन्सले अउकस मोर्चालाई समर्थन गरे पनि सुरक्षाको विषयमा उसले चीनसँग समन्वय नगरी सुखै छैन । त्यसकारण, फिलिपिन्सले संरा अमेरिकी समर्थनको अपेक्षा गर्दै गर्दा चीनको विरोधमा भने ऊ उभिन सक्दैन । भियतनामको सन्दर्भमा पनि अवस्था उस्तै छ । उनीहरू पनि चीनसँग सांस्कृतिक र आर्थिक सम्बन्ध बिगार्न चाहँदैनन् । ती सम्बन्ध भियतनामका राष्ट्रिय हितसँग जोडिएका छन् । उनीहरू पनि आँखा चिम्लेर संरा अमेरिकाको पछि दौडिने पक्षमा छैनन् ।
लामो समयदेखि आसियानभित्र पनि आन्तरिक अन्तरविरोध बल्झिएको छ । तथापि, त्यसका सबै सदस्यबीच अझै कुनै न कुनै साझा टेक्ने आधार छ । त्यस अवस्थामा चीन र संरा अमेरिकाको चेपुवामा पर्ने प्रश्नको हल गर्नु आसियान सुरक्षा एकताबारे छलफल गर्नु अपरिहार्य भएको छ ।
केही पश्चिमा सञ्चारमाध्यममा अउकसले हिन्द प्रशान्त क्षेत्रमा शक्ति सन्तुलनलाई पुनःआकार दिने भनी हल्ला गरेका छन् । त्यसले थाइल्यान्ड, फिलिपिन्स र भियतनामजस्ता देशलाई हित गर्ने उनीहरूको बुझाइ छ । यद्यपि, क्षेत्रीय सुरक्षामा चीन र संरा अमेरिका हाबी भएको हुनाले अस्टे«लियाका केही आणविक ऊर्जाले चल्ने पण्डुबीको भरमा कुनै हेरफेर हुनसक्दैन । तथापि, अस्टे«लियासँग त्यस्ता पण्डुबी हुनुले केही आसियान देशहरू विशेषतः मलेसिया र इन्डोनेसियालाई खतरामा पार्नेछ ।
त्यसले हातहतियार प्रतिस्पर्धाको नयाँ चरण आरम्भ हुनेछ । केही दक्षिणपूर्वी एसियाली देशहरूले आफ्नो सैनिक क्षमता बढाउने काम थालनी गरिसकेका छन् । उनीहरूले आणविक हतियार विकास गर्ने संवेदनशील हिस्सामा अझै छोइसकेका भने छैनन् । बरु उनीहरूले खालमा हातहतियारको विकासमा भने ठूलो लगानी गरिसकेका छन् । उदाहरणको लागि अत्याधुनिक ढाँचाको पण्डुबीको लागि वर्षौंदेखि त्यहाँ प्रतिस्पर्धा चलिरहेको छ । सो क्षेत्रका विभिन्न देशका सेनाले धेरै अत्याधुनिक लडाकु जेट विमान खरिद गरिसकेका छन् ।
भविष्यको लागि प्रमुख प्रश्न भनेको ः यो हतियारको प्रतिस्पर्धाको व्यवस्थापन कसरी हुनेछ ? सबै जना सन्तुलनमा पुग्न चाहन्छन् । तर, आसियान देशहरूमाथिको खतरा भने दिनानुदिन बढिरहेको छ ।
यस्तो परिस्थितिमा आसियानका सदस्यहरूले गर्नुपर्ने पहिलो काम भनेको आपसमा मिल्नु र थप महत्वपूर्ण भूमिका खेल्नु हो । “वर्षौदेखि केन्द्रियता नै आसियानको मन्त्र बन्दै आएको छ । सन् २००७ मा पारित आसियान बडापत्रमा पनि त्यही कुरा उल्लेख छ”, निक्कीमा उल्लेख छ । आसियान केन्द्रीयताको अर्थ सो क्षेत्रको बहुपक्षीय सुरक्षा र आर्थिक बन्दोबस्तको मूलमा आसियान अवस्थित छ । तर, चीन र संरा अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निभाउन आसियान सफल हुन्छ वा हुँदैन भन्ने परीक्षाको फल भने आसियानको विवेकमा भरपर्नेछ । त्यसको निम्ति आसियान देशहरूले एकीकृत आवाज बनाउनुपर्छ । त्यसले नीतिगत असन्तुलन निम्त्याउने आन्तरिक मतभेद हुनबाट जोगाउनेछ । आसियान शीतयुद्धको पृष्ठभूमिमा बनेको क्षेत्रीय सङ्गठन हो । त्यसकारण, त्यसका सदस्यहरूलाई शीतयुद्धले सिकाएको पाठ कण्ठस्थ छ ।
शीतयुद्धको चपेटामा परेका आफ्नो अस्तित्व जोगाउन साना देशहरूले कस्तो सङ्घर्ष गर्नुपरेको थियो भन्ने कुरा उनीहरूलाई थाहा छ । त्यसकारण, उनीहरूले दक्षिणपूर्वी मामिलामा केन्द्रियता सुनिश्चित गर्न आत्मकेन्द्रित सङ्गठन बनाएका हुन् । यदि उनीहरू नयाँ शीतयुद्ध नहोस् अथवा नयाँ शीतयुद्धमा आफ्नो अस्तित्व जोगाउन चाहन्छन् भने उनीहरूले आसियानको स्थापनाकालका भावना र लक्ष्यलाई अँगाल्नुपर्छ । उनीहरूले नेतृत्वदायी र समन्वयकारी भूमिका खेल्नुपर्छ । क्षेत्रीय सुरक्षाको क्षेत्रमा थप प्रभावकारी भूमिका निभाउनुपर्छ । नत्र आसियान भविष्यमा पूर्णतः विभाजित हुनसक्छ जसको शिकार धेरै वटा देश हुनेछन् ।
(लेखक दक्षिण चीन सागर राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत विश्व जलसेना अध्ययन केन्द्रका निर्देशक हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *