भर्खरै :

जनस्वास्थ्यमा जनविश्वास नगुमोस्

शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणको विकासमा नमुनाको रूपमा अगाडि बढिरहेको भक्तपुर नगरपालिकाबाट प्रभावित भई देशका अरु विभिन्न नगरपालिकाहरूबाट यहाँ प्रतिनिधिमण्डलहरूको भ्रमण भइरहेको यथार्थ हो । भक्तपुर नगरपालिकाले जनताको विश्वास लिएर नगरवासीको निम्ति मात्रै नभई वरपरका जिल्लावासी तथा बाह्य जिल्लाका जनताको निम्ति पनि सक्दो सेवा गर्नका लागि शिक्षालय र जनस्वास्थ्य केन्द्रहरू खोलेको हो । त्यस्तै अन्य विभिन्न गतिविधिहरू सञ्चालनबाट शिक्षा लिई भ्रमणमा आएका विभिन्न जिल्लाका प्रतिनिधिमण्डलहरूसमेत प्रभावित भई सन्तोषको श्वास फेरेको छापाहरूमा पढ्न पाइन्छ ।
भक्तपुर नगरपालिकाले गरिरहेका थुप्रै सकारात्मक कुराहरूको मुक्तकण्ठले प्रशंसा गर्नलायक छ । त्यसमा सायदै कसैको विमति होला । यद्यपि, सुधार्नुपर्ने कुराहरू ढिला नहुने अपेक्षा गर्नु अन्यथा नहोला ।
कुरा भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहको हो । उक्त केन्द्रबाट पाउने सेवाहरूको सम्बन्धमा सेवाग्राहीहरू केही असमाञ्जसमा परेका छन् । घण्टौँ लाइन लागेर टिकट काटिसकेका बिरामीहरू परीक्षण गराउन सम्बन्धित कोठामा छिर्न आतुर हुनु स्वाभाविकै हो । तर, परीक्षण गर्ने ठाउँमा नाउँ दर्ता गर्ने, एक्सरे गर्ने र रिपोर्ट दिने पनि एउटै व्यक्ति हुँदा अनावश्यक ढिलासुस्ती खेप्नु पर्दछ । ल्याबमा दिसा, पिसाब र रगत परीक्षण गर्ने ठाउँमा पनि त्यही नियती भोग्नुपर्दा खाली पेटमा आएका अशक्त र वृद्धाहरू मारमा परेका छन् । बिहान ७ बजे आएर ९ः३० बजे पनि रगत दिन नपाउँदा एकातिर भोकले सताउने र अर्कोतिर ढिलो दिएको रगतको परीक्षणले सही परिणाम नदिने कुरा पनि चिकित्सक बताउँछन् ।
त्यही जनस्वास्थ्य केन्द्रमा काठमाडौँ गौशालामा रहेको तिलगंगा आँखा अस्पतालबाट सञ्चालित आँखा उपचार केन्द्र पनि रहेको छ । फलोअपमा वर्षको एकपटक काठमाडौँमै परीक्षण गराउँदै आएकोमा भक्तपुरको जनस्वास्थ्य केन्द्रमै त्यो सेवा उपलब्ध भएकोले म बअसा¥है खुसी छु । तर, असोज १० गते आइतबार आँखा परीक्षण गराउन आएका केही सेवाग्रीहरूले भोगेको अवस्था भने भिन्नै रह्यो । दृश्य परीक्षण (Vision Test) पछि एक डाक्टरले आँखा जाँच्नुभयो । फेरि आँखाको नानी फुलाइ जाँच्नुपर्छ भन्दै हामी ५–६ जनालाई बाहिर राखेको बेञ्चमा लहरै बसाले । डाइलुट गर्ने (आँखाको नानी फुलाउने) झोलको थोपा क्रमशः हाल्दै आधा घण्टा आँखा बन्द गरी बस्ने भन्दै स्वास्थ्यकर्मी सहायक हिँडिहाल्नुभयो । आधा घण्टा भयो पुलुक्क घडी हेरेँ । आउला नि भनेर आँखा बन्दै गरी बसियो । एक घण्टा भयो, नानी फुल्यो फुलेन हेर्न कोही आउँदैन । बिहान १०ः४० मा आँखा बन्द गरिबसेका हामी दिउँसो १ बजे पनि हेर्न नआउँदा उठेर गई सोधपुछ गर्नथाल्यौँ । घरी ब्रेक टाइम हो, खाना खान जानुभयो भन्ने, घरी माथि बच्चाहरूलाई जाँच्दै छ डाक्टर तल आउनु भएको छैन भन्ने जवाफले हामीलाई दिक्क तुल्यायो , पछि थाहा भयो त्यो दिन आँखा परीक्षण गर्ने पछिल्लो डाक्टर दिउँसोको सिफ्टका बिरामीलाई समेत परीक्षण गर्न भ्याइरहेको रहेछ । हत्तपत्त उक्त कोठामा छिरी लाइन बसेर परीक्षण गराउँदा दिउँसोको २ बजिसकेको रहेछ । त्यो दिनको बिहानको खाना खानै पाइएन । कसैले डाक्टर एकजनाले कसरी भ्याउँछ भन्थ्यो । कसैले काठमाडौँमै जँचाएको भए यति ढिलो नहुने गुनासो पोखे । कोहीले त यहाँ सिस्टम नै नभएको सम्म भन्न भ्याए ।
अर्कोतिर औषधि लिने लाइनमा आधा घण्टा उभिएर आफ्नो पालो कुरेँ । प्रिस्केपसनमा डाक्टरले लेखिदिएको कुनै पनि औषधि त्यहाँ नभएको जानकारी पाएँ । अरु कतिले त्यस्तै जवाफ पाएको हुँदो हो । स्वास्थ्य बीमा गरेको अर्थै रहेन भन्दै थियो । इन्चार्ज डाक्टर साहेबलाई पनि यही कुराको गुनासो गर्न पुगेँ । सम्बन्धित औषधि कम्पनीलाई फोन त गर्नुभयो । तर, कहिले पुग्छ थाहा छैन ।
जनस्वास्थ्य केन्द्रमा सेवाग्राहीहरूको विश्वास ठेग्नै नसक्ने भएर हो कि कुन्नि । आवश्यक व्यवस्थाको निम्ति सम्बन्धित निकायको ध्यान पुगोस् । जनस्वास्थ्यमा जनविश्वास नगुमोस् भन्ने आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *