भर्खरै :

के विचार सानो र ठूलो हुन्छ र ?

माक्र्स र एँगेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेख्नुभयो । उहाँहरूले घोषणापत्रमा ‘सर्वहारा वर्गले बल प्रयोग (सशस्त्र क्रान्ति) द्वारा पुँजीपति वर्गलाई हटाएर आफ्नो सत्ता कायम गर्नुपर्छ’ भन्नुभयो र सर्वहारा क्रान्तिको स्पष्ट मार्गनिर्देश गर्नुभयो । समाज विकास क्रममा त्यो एक नवीन विचार थियो । माक्र्स र एँगेल्सभन्दा अगाडि पनि धेरै समानतावादीहरू थिए । तिनीहरूले पनि समाजवादको कल्पना गरेका थिए तर समाजवाद कसरी प्राप्त गर्न सकिन्छ भनी मजदुर वर्गलाई स्पष्ट बाटो देखाउन सकेका थिएनन् । सेन्ट साइमन, चाल्र्स फ्युरियो, रोवर्ट ओबेनलगायत काल्पनिक समाजवादीहरू थिए ।
कम्युनिस्ट घोषणापत्र सार्वजनिक भएको अढाइ सय वर्ष नाघिसकेको छ । संसारका आधाभन्दा बढी जनता माक्र्सवादी विचारलाई लिएर आ—आफ्नो देशमा आन्दोलनरत छन् । सोभियत सङ्घ, चीन, प्रजग कोरिया, क्युवालगायत कतिपय युरोपेली र ल्याटिन अमेरिकी देशहरूले माक्र्सवादको सफल प्रयोग गरिसकेका छन् भने कतिपय देशमा अस्थायीरूपमा असफल पनि भएका छन् । सारमा माक्र्सवाद नै सर्वहारा वर्गलाई मुक्ति दिने संसारमा आजसम्म देखिएका विचारमध्ये नवीन विचार हो । माक्र्स र एँगेल्सले कल्पना गर्नुभएको विचार क्षेत्रीय, राष्ट्रिय हुँदै आज विश्वव्यापी बनेको छ ।
विचार सानो र ठूलो भन्ने हुँदैन । आकार र सङ्ख्याले विचारलाई ठूलो र सानो भनी मापन गर्न मिल्दैन । विचार व्यक्तिबाट उत्पत्ति भई त्यसले विश्वव्यापी रूप लिन्छ । विचारलाई अग्ला – अग्ला जेलको पर्खाल र देशको सीमाले रोक्न सक्दैन र कसैले चाहेर छेक्न पनि सक्दैन ।
आजभन्दा २ हजार ५ सय वर्षभन्दा पहिले गौतम बुद्धले बौद्ध दर्शनको प्रचारप्रसार गरे । अन्धविश्वासमा टिकेको तत्कालीन समाजमा भौतिकवादी दर्शनले आलोचनात्मक ढङ्गले सोच्ने क्षमताको विकास भयो । तत्कालीन राजा महाराजाहरूले बौद्ध दर्शनको प्रचारप्रसारमा रोक लगाउने निकै प्रयत्न गरे । नक्कली भिक्षुहरू तयार गरी बौद्ध दर्शनको बदनाम गर्ने कोसिस गरे तर सकेनन् । त्यो एउटा नयाँ विचार थियो । आज करोडौँ जनता त्यसको अनुयायी भएका छन् । बौद्ध दर्शन दिने गौतम बुद्धलाई भगवानको रूपमा देवत्वकरण गरिएको छ । त्यो भने गलत हो ।
प्रसङ्ग कर्णाली प्रदेशको हो । त्यहाँ नेपाल मजदुर किसान पार्टीलाई नेका, एमाले र माओवादीजस्ता पुँजीवादी पार्टीहरूले ‘सानो पार्टी’, ‘सरकारमा नजाने पार्टी’ र पार्टी कार्यकर्तालाई ‘मजदुरे’ भनी हेलाहोचो गर्ने गर्छन् । नेमकिपाका कार्यकर्ताहरूलाई विचारबाट विचलित पार्न तिनीहरू त्यस्ता झूटो र गलत लाञ्छना लगाउने गर्छन् । तर, समयले नेपालमा कम्युनिस्ट पार्टीको विचार र सिद्धान्त बोक्ने नेमकिपामात्रै हो भन्ने साबित गरेको छ । नारा र भाषणले भन्दा व्यवहारमा कामदार वर्गको हितमा नेमकिपाले गर्दै आएको कामबारे जनता बिस्तारै परिचित हुँदै छन् । सङ्ख्या र आकारभन्दा कसले कम्युनिस्ट सिद्धान्तअनुसार काम गरिरहेको छ, त्यो महत्वपूर्ण कुरा हो ।
जुम्ला जिल्लामा २०४८ र ०५१ सालको संसदीय निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूले जिते । २०५१ सालमा निर्वाचित भक्तबहादुर रोकाया अहिले काङ्ग्रेसमा छन् । उनी नेकामा पार्टी सभापतिको उम्मेदवार हुँदा जम्मा ६ मत मात्रै पाए । नेमकिपालाई धोका दिएका विश्वासघाती रोकायालाई काङ्ग्रेसी कार्यकर्ताहरूले पनि विश्वास गरेनन् । अहिले उनी निराश भएर नेमकिपाका कार्यकर्ताहरूसँगको भेटमा “म त सिधिएँ, सिधिएँ, मरेँ, अब तपाईँहरूले पार्टी नछोड्नुस्, मसँग भएका नेमकिपाका प्रकाशनहरू पढ्नुस् र अगाडि बढ्नुस्” भन्दै हिँड्ने गरेको र कतिपय अवस्थामा ‘रुने’ समेत गरेको बताउँछन् । उनी अहिले जुम्लामा एक नकारात्मक उदाहरण बनेका छन् ।
रोकायालाई २०५३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध अविश्वास प्रस्ताव पेश हुने क्रममा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का, आईजीपी अच्युतकृष्ण खरेल, सांसद शिवराज जोशी समेतले ‘अपहरण’ गरी भारतको पूर्णिया पु¥याएका थिए । पछि काङ्ग्रेस प्रवेश गरेका उनलाई काङ्ग्रेस सरकारको पालामा वन राज्यमन्त्री बनाइयो । अहिले ‘घर न घाट’ को अवस्थामा पुगेको र विक्षिप्त जीवन बिताइरहेको जुम्लावासी बताउँछन् ।
नेमकिपा ‘सानो पार्टी भयो, छिट्टै क्रान्ति गर्नुप¥यो’ भनी पार्टी अनुशासनबाहिर गई नेमकिपा छोड्ने अर्का व्यक्ति हुन्, रामकृष्ण बुढथापा । ‘नेमकिपा क्रान्तिकारी’ हुँदै पछिल्लो चरणमा बाबुरामको ‘नयाँ शक्ति’ पार्टीमा समावेश भएर अहिले निराश जीवन बिताइरहेका उनी स्थानीयका अनुसार नेमकिपा छोडेकोमा पश्चाताप गर्दै छन् ।
आफ्नो व्यक्तिगत स्वार्थको लागि जनताको विश्वासलाई लात हान्नेहरू न शान्तिसित बाँच्न सक्छन् न त मर्न नै सक्छन् । नेमकिपा छोडेकामध्ये रोकाया र बुढथापा प्रतिनिधि पात्र मात्रै हुन् । क्षणिक लाभ पाउनका लागि आफ्नो रगत र पसिना बगाएको पार्टीलाई बिर्सेर धोका दिने यस्ता नकारात्मक पात्रहरू ठाउँ – ठाउँमा भेट्न सकिन्छ । आफूले मिहेनत नगरेको ठाउँमा कसैले सम्मान गर्दैन भन्नेबारे राजनैतिक कार्यकर्ताहरूले बुझ्न आवश्यक छ ।
सानो ठूलो हुने र ठूलो समाप्त हुँदै जाने प्राकृतिक नियम नै हो । कुनै बेला नेपालमा प्रजा परिषद् सबभन्दा ठूलो पार्टी थियो । आज त्यो आफ्नो अस्तित्वका लागि लड्दै छ । पञ्चायती शासनकालमा ४ हजार गाउँ पञ्चायत र ३६ वटा नगरपञ्चायत तथा ७५ वटै जिल्लामा अपवाद बाहेक सबै ठाउँमा पञ्चहरू नै जितेका थिए । २०४६ सालपछि देश नेकामय भयो र पछि एमाले देशभरि फैलिएको सन्देश गयो । २०६३ सालपछि देशै माओवादीमय भयो । तर, खोइ ती पार्टीहरूको स्थायित्व ? कुनै पनि पार्टी वा शक्ति जनताको भावना र आवश्यकता पूरा गर्न सकुन्जेलमात्र रहने र त्यसपछि समाप्त हुने कुरा नेपालको राजनैतिक इतिहासले पनि देखाएको छ ।
अहिले राजनीति विचार र सिद्धान्तभन्दा पद र पैसाको लागि हुन थालेको छ । राजनीति इमानदारीपूर्वक देश र जनताको सेवाको लागि हुनुपर्नेमा शासक दलका नेताहरूले राजनीतिलाई छिट्टै पैसा कमाउने ‘व्यापार’ बनाएका छन् । पुँजीपति वर्गविरुद्ध सङ्घर्ष गर्न आन्दोलनको नेतृत्व गर्नुपर्ने ‘कम्युनिस्ट’ पार्टीका नेताहरू आफै पुँजीपतिवर्गमा रूपान्तरण भएका छन् । अनि, कसरी वर्गसङ्घर्ष हुन्छ ? ठेकेदार, तस्कर, भ्रष्टाचारी, कालाबजारीहरू ‘कम्युनिस्ट’ पार्टीका केन्द्रीय सदस्यहरू हुन थालेका छन् । पार्टी ती अपराधीहरूलाई संरक्षण गर्ने ठाउँ बनेको छ । कम्युनिस्ट पार्टीभित्र गलत व्यक्तिहरूको प्रवेश रोक्न र कम्युनिस्ट सिद्धान्तअनुसार आचरण गर्न नेमकिपाले एमाले, माओवादीजस्ता पार्टीहरूको सदन र सडकमा रचनात्मक आलोचना एवम् विरोध गर्दै आएको छ ।
८० प्रतिशत भू—भाग कब्जा गरेको दाबी गर्ने माओवादीहरू निर्वाचन जित्न स्थानीय तहमा नेकासँग मिलेर र संसदीय चुनावमा एमालेसँग मिलेर चुनाव लड्नुपर्ने अवस्थामा पुगे । पुँजीवादी पार्टीहरू निर्वाचन जित्न एकै उम्मेदवारले करोडौँ खर्च गर्छन् । पैसा दिएर, भोज खुवाएर, गुन्डाहरूको प्रयोग गरेर निर्वाचन जितेको आधारमा ‘सानो’ र ‘ठूलो’ पार्टी भनेर मूल्याङ्कन गर्नु सही हुँदैन । नेमकिपाले जस्तै पैसा खर्च नगरी विचार र सिद्धान्तको आधारमा निर्वाचन जितेर देखाऊन् अनि साँच्चै कुन पार्टी ठूलो र सानो भन्ने देखिन्छ ।
कर्णालीका जनतामा नेमकिपा ‘सानो’ र ‘सरकारमा नजाने’ भनेर आलोचना गर्ने, हेला गर्ने कथित कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले बुझ्न के आवश्यक छ भने आजसम्म सरकारमा गएका नेका, एमाले र माओवादीले के के राम्रा कामहरू गरे ? स्पष्ट छ, तिनीहरूले देशका सबै कलकारखाना कौडीको मूल्यमा निजीकरण गरे । सरकारी विद्यालय, कलेज र अस्पतालहरू समेत निजी क्षेत्रको जिम्मा लगाए । लाउडा काण्ड, चेज एयर काण्ड, धमिजा काण्ड, बालुवाटार काण्ड, सुन काण्डजस्ता काण्डैकाण्ड गरेर, अझ पछिल्लो चरणमा आफ्नै पार्टीको विरोधमा अदालत गएर घोर राजनैतिक अनैतिकता प्रदर्शन गरे । जनतामा सीमित प्रजातान्त्रिक अधिकारहरू समेत अदालतमा सुम्पेर प्रजातन्त्रविरोधी अपराध गरे । अनि, ती अपराधी नेता र पार्टीहरू नै ठूलो ? यो कस्तो अचम्म ¤ सधँै एउटै औषधीले काम गर्ने छैन । कर्णालीमा धेरै पानी बगिसकेको छ । त्यहाँका जनता धेरै सचेत भइसकेका छन् । अरूको घरमा आगो लगाउनेहरूको अहिले आफ्नै घर जलिरहेको छ । समयले सबैलाई अपराधअनुसार दण्ड दिन्छ । मात्र, धैर्यता आवश्यक छ ।
नेमकिपाको विचारदेखि तर्सेका एमाले, माओवादी नेताहरू नेमकिपालाई सत्तोसराप गरिरहेका छन् । यस अर्थमा नेमकिपा अत्यन्तै ठीक अवस्थामा छ । का. माओले भन्नुभएजस्तै “शत्रुले विरोध गर्नु नराम्रो होइन ।” नेमकिपा पुँजीवादीहरूलाई आफ्नो वर्ग शत्रु ठान्छ । पुँजीपति वर्गको मुटुमै चोट पुग्ने गरी प्रहार गर्ने नेमकिपाको लक्ष्य हो । नेमकिपाको गतिविधिले नक्कली कम्युनिस्टहरूको मर्ममै प्रहार भएको छ । यो नेमकिपाको सफलता हो । नेमकिपालाई ‘सानो’ भनी हेला गर्नेहरूको निम्ति सबैभन्दा खतरा विचारमा दृढ नेमकिपा नै हो र हुनेछ । ढिलो या चाँडो कर्णालीका सबै क्षेत्रमा पुनः नेमकिपाकै झन्डा फहरिनेछ । कर्णाली अञ्चलमा पञ्चायतको विरुद्ध पहिलोपटक कम्युनिस्टको झन्डा फहराउने नेमकिपा कसैले चाहेर कमजोर हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *