भर्खरै :

स्थानीय पालिकाबारे साथीलाई चिट्ठी

प्रिय साथी किरण
मीठो सम्झना !
गएको हप्ता तिम्रो चिठी हुलाकमार्फत प्राप्त गरेँ । चिठी पढ्दा सन्तोष लाग्यो । चिठीमा तिमीले आफ्नो स्थानीय तहमार्फत भएको विकासको बारेमा विस्तृतरूपमा उल्लेख गरेका थियौँ । चिठीमार्फत मैले के अनुभूति गरेँ भने चुनावताका राजनीतिक दलका उम्मेदवारहरूले आफ्ना मतदाताहरूलाई भन्ने गरेका थिए कि सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने । त्यो अधिकार तिम्रो पालिकाभित्रका सेवाग्राहीहरूले प्राप्त गरिरहेका छन् । यसको पछाडि तिम्रो पालिकामा निर्वाचित जनप्रतिनिधिहरूको जिम्मेवारीपना नै हो ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि तिम्रो पालिकाले उल्लेखनीय काम गरेका छन् । पैसाकै कारणले उच्च शिक्षा लिनबाट कसैलाई वञ्चित हुन नदिनको लागि सस्तो ब्याजदरमा उच्च शिक्षा हासिल गर्नको लागि विनाधितो ऋण पालिकाले उपलब्ध गराउने गरेको, प्रत्येक वडामा घर–घरमा परिचारिका (नर्स) गएर जनताको स्वास्थ्य अवस्थाको जानकारी लिइरहेको कुरा तिम्रो चिठीमा पढ्न पाउँदा मेरो पालिकाको अवस्था हेर्दा मनमा एक किसिमको तरङ्ग नै उत्पन्न भयो । तिम्रो पालिका जुन संविधानमा पाइला टेकेर काम गर्दै छ त्यही संविधानमा मेरो पालिकाले पनि अवलम्वन गरेको छ । तर, काम कारबाहीको तुलनामा आकाश–पातालको फरक छ ।
तिम्रो पालिकाका जनताले स्थानीय सरकार भएको अनुभव गर्दै छन् । नेपाल सरकारले गर्न नसकेका काम तिम्रो पालिकाले गरिरहेको छ । तिम्रो पालिकाबाट नेपाल सरकार र अन्य पालिकाहरूले पाठ सिक्नुपर्ने हो । नेपाल सरकारले आफ्ना नागरिकहरूलाई दिन नसकेका सेवा सुविधाहरू तिम्रो पालिकाले आफ्ना स्थानीय जनतालाई दिइरहेको छ । साथी, तिम्रो पालिकाले विभिन्न विषयका ७ वटा कलेजहरू सञ्चालन गरिरहेको उल्लेख छ । ती कलेजहरूमा इन्जिनियरिङ्ग, स्टाफ नर्स, मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षालगायतका विषयहरूमा अन्य कलेजहरूको तुलनामा सस्तोमा गुणस्तरीय शिक्षा उपलब्ध गराइरहेका छन् । ती कलेजहरूमा तिम्रो पालिकाभित्रका विद्यार्थीहरूमात्र नभई देशभरिका विद्यार्थीहरू रहेको तिम्रो पत्रमा पढ्न पाइयो ।
साथी, तिम्रो पालिकाले हरेक क्षेत्रमा गरेको प्रशंसनीय कामको बारेमा सञ्चार माध्यमहरूले लेख्ने र बोल्ने हिम्मत किन गर्दैनन् ? अरू पालिकाहरूले केही कुराको उद्घाटन गरेको बरोबर सञ्चारमाध्यममा सुनिरहेका हुन्छौँ । सञ्चारकर्मीहरूको व्यवहारले म प्रस्ट भएँ कि अरू पालिकाहरूले सञ्चारकर्मीहरूमा लगानी गरिरहेका छन् भने तिम्रो पालिकाले जनतामा । जसको नुन खान्छ, उसकै गुण गाउँछ भन्ने उदाहरण चरितार्थ भयो ।
साथी, पत्रमा तिमीले मेरो पालिकाको बारेमा जानकारी गराउनलाई भनेका थियौ । तिम्रो पालिकाको बारेमा जानकारी पाउँदा मेरो पालिकाको बारेमा तिमीलाई जानकारी गराउन मनमा कसो कसो उत्पन्न भयो । साथी, म पनि १५ वर्षदेखि सहर बस्दै आइरहेको थिएँ  । बेला–मौकामा घर आउने गर्दथेँ । छिमेकीहरूसँग सामान्य कुराकानी हुन्थ्यो । केही महिनादेखिको लगातार बसाइले गर्दा यहाँको बारेमा विस्तृत जानकारी नभए पनि यस ठाउँको विभिन्न पक्षमा जानकारी प्राप्त गर्ने अवसर मिलेको छ । तर पनि मेरो पालिकाले गरेको कामको बारेमा जानकारी गराउन जमर्को गरेको छु । यो चिठी लेख्दै गर्दासम्म मेरो पालिकाको अहिलेसम्म नगर परिषद्सम्म भएको छैन । यसबाटै तिमीले आफ्नो मस्तिष्कमा मेरो नगरपालिकाको चित्रण गरिसके होला । तीन महिना बितिसक्दा पनि नगर परिषद् हुनसकेको छैन । मेरो पालिकामा प्रमुख तत्कालीन जसपा र उपप्रमुख तत्कालीन माओवादी केन्द्रबाट र वडा अध्यक्षहरू एमाले, माओवादी केन्द्रबाट निर्वाचित छन् । यिनीहरूबीच दलीय भागबन्डा नमिल्दा पालिकाले गति लिन सकिरहेको छैन ।
मेरो पालिकामा नाम चलेका यस जिल्लाका पूर्वमन्त्रीसमेत भइसकेका तर अहिले कुनै पार्टीमा संलग्न नदेखिएको व्यक्तिको हालीमुहाली चल्छ । उनले नभनिकन नगर परिषद् हुँदैन । यहाँका निर्वाचितहरू पङ्गु भएका छन् । बितेको चार वर्षको समयावधिमा यिनीहरूले भागबन्डा गरी पालिकामा विकासको नाममा आफ्ना कार्यकर्ता र आसेपासेहरूलाई पोस्ने काम गरे । यिनीहरूले नगरपालिकाबाट वितरण गरिने बीउ–बिजन, विषादी छर्ने मेसिन, कृषिऔजार आफ्ना मान्छेहरूलाई छानेर वितरण गरे । प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूबाट गएको वर्ष मतादातालाई प्रभावित पार्ने कामहरू गरे । घर–घरमा ग्यास चुल्हो, सिलिन्डर र ह्युम पाइप वितरण गरे । व्यवस्थित बाटो र नालीको विकास नहुँदा ह्युम पाइपहरू गाई–भैसी बाँध्ने किलो बन्ने सम्भावना छ । एउटा ह्युम पाइप जडानबापत ५० हजार निकासा गरिएको छ । यदि व्यक्तिगतरूपमा जडान गरेको खण्डमा बढीमा ३० हजारमात्र खर्च हुन्छ । मेरो नगरपालिकाले यस्तै अनुत्पादक काममा खर्च गरिरहेको छ ।
दसैँ नजिकिँदै गर्दा चुनावको माहोल अहिलेदेखि बन्दै छ । जनतामा चर्चा पाउनको लागि निर्वाचितहरू दुई खेमामा विभाजित भई दसौँ लाख खर्च गरेर ५०० मिटरको दूरीमा दुर्गा भगवतीको पूजा गर्दै छन् । सचेत जनता भन्दै छन्, पूजाको सट्टा जनताको चेतनास्तर उठ्ने अथवा आत्मनिर्भर बन्न सक्ने केही युवाहरूलाई तालिम र कृषि क्षेत्रमा लगानी गरेको खण्डमा स्थानीयहरू बढी लाभान्वित हुन्थे ।
भूगोलको हिसाबले मेरो पालिका सुगम भएकोले तिम्रो पालिकाको तुलनामा कम खर्चमा बढी विकास निर्माणका कामहरू गर्नसकिन्छ । तर, मेरो पालिकामा चारैतिर चुहावट नै चुहावट छन् । कमिसन नआउने खाने काममा मेरो पालिकाले लगानी गर्दैन । शिक्षा, स्वास्थ्यजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने शीर्षकमा मेरो पालिकाले थोरैमात्र बजेट विनियोजन गर्छ । त्यसमा पनि आधी जति कमिसनमै गइन्छ । युवा पुस्तालाई आत्मनिर्भर बनाउनेखाले कुनै कार्यक्रम ल्याएको देखिँदैन । मेरो पालिकामा भएका युवाहरू विदेश पलायन भएका छन् कि त रोजगारीको सिलसिलामा सहर पसेका छन् ।
साथी, मेरो पालिका सुगम भए पनि सूचनाको हिसाबले दुर्गम छ । यहाँ पत्रपत्रिका पुगेको देखिँदैन । यहाँका जनताले पुस्तक तथा पत्रपत्रिका पढेको देखिँदैन । जनता सोझा छन् । त्यसको फाइदा यहाँ निर्वाचित भष्मासुरहरूले उठाइरहेका छन् ।
साथी, आजलाई म आफ्नो कलम यही रोक्छु । अर्को पत्रमा थप कुराहरू लेखौँला !
तिम्रो साथी
गणेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *