भर्खरै :

“तःमुंज्यालाई माया गर्ने सबैसामु सहयोगको लागि आग्रह गर्दै छौँ”

एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको तयारीबारे ग्वसाखल (आयोजक समिति) सचिव तथा प्रचार उपसमितिका संयोजक जगनाथ सुजखुसित ‘मजदुर’ प्रतिनिधिले गरेको कुराकानी
मजदुर ः सर्वप्रथमतः नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखल
(आयोजक समिति) को गौरवपूर्ण जिम्मेवारीमा पर्नुभएकोमा यहाँलाई हार्दिक बधाई तथा शुभकामना !
– नेपालभाषा साहित्य तः मुंज्याबारेमा चासो राखेर आउनुभएकोमा तपाइँलगायत मजदुर दैनिक परिवारलाई धन्यवाद दिन चाहन्छु ।
मजदुर ः छोटो अवधिभित्र तःमुंज्याको तयारी गर्नुपर्ने जिम्मेवारी यहाँहरूमा छ । के कसरी अगाडि बढिरहेको छ ?
– यसपालिको ४१ औँ नेपालभाषा साहित्य तः मुंज्याको तयारी असोज २ गते सुरू भएको हो । २९ औँ नेपालभाषा साहित्य तः मुंज्या तुलाछेँ टोलमा गर्दा असोज २ गतेभित्र हामीले रचना दिने अन्तिम दिन दिएर काम गरेका थियौँ । नेपालभाषा साहित्य तःमुंज्या र सम्पूर्ण साथीहरूको सहयोगले तः मुंज्याको तयारी जोडतोडका साथ अगाडि बढ्दै छ । असोज २ गते स्थानीय सयौँ टोलवासी, साहित्य तथा संस्कृतिप्रेमीहरूको उपस्थितिमा गणेशराम थुसाको अध्यक्षतामा ४१ सदस्यीय आयोजक समिति गठन भयो । कार्यक्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्न मेरो संयोजकत्वमा प्रचार समिति, अनिता जधारीको संयोजकत्वमा आर्थिक समिति, डा. सत्यनारायण सुवालको संयोजकत्वमा स्वास्थ्य समिति, रामकृष्ण कोण्डाको संयोजकत्वमा प्राविधिक समिति, राजुसिं बजिकोंको संयोजकत्वमा स्वयम्सेवक समिति, कमला सिजख्वको संयोजकत्वमा महिला तथा अतिथि सत्कार समिति, पुण्यराम दुवालको संयोजकत्वमा साहित्यिक समिति, गोविन्दराम त्वानाबासुको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरी जिम्मेवारीअनुसार गतिविधि अगाडि बढ्दै छ ।
मजदुर ः एकचालीसौँ तःमुंज्याको प्रचारप्रसारका लागि के कसरी काम गरिरहनुभएको छ ?
– ठाउँ–ठाउँमा सभा, बैठक भइरहेका छन् भने विभिन्न मिडिया – पत्रपत्रिका, स्थानीय रेडियो तथा टेलिभिजन र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार कार्य भइरहेको छ ।
मजदुर ः विज्ञहरूले कोभिड–१९ को सङ्क्रमणको तेस्रो लहरको सम्भावना रहेको बताइरहनुभएको छ । भौतिक उपस्थितिमा हुने तःमुंज्याले कतै सङ्क्रमण फैलाउनेमा सहयोग पुग्ला कि ?
– चिकित्सक एवं विज्ञहरूको सल्लाह तथा आशङ्काप्रति हामी पनि सचेत छौँ । यसपालिको तः मुंज्या भौतिक उपस्थितिमा हुने भए पनि कोभिड हाम्रो समुदायमा बाँकी नै रहेकोले कार्यक्रममा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, साबुन–पानी तथा स्यानिटाइजरको प्रयोग अपनाएर ख्वप कलेजको व्यवस्थित आँगनमा असोज ३१ र कार्तिक १ गते दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म भिड नहुने गरी स्वास्थ्य मापदण्ड पूर्ण परिपालना गरी गर्ने योजना छ । साहित्यप्रेमीहरूले घरघरमै बसेर तः मुंज्या हेर्न र सुन्न सकिने गरी टेलिभिजन र फेसबुकमा लाइभ गर्ने हाम्रो योजना छ ।
मजदुर ः यसपालिको तःमुंज्यामा राष्ट्रिय तहमा चर्चित के कति साहित्यिक र बौद्धिक व्यक्तित्वहरूलाई आमन्त्रण पठाउनुभएको छ ?
– यसपालिको साहित्य सम्मेलनमा देशघाती एमसीसी, भारतीय विस्तारवाद तथा कोरोनाको अन्त्यमा सहयोग पुग्ने गरी विभिन्न विज्ञ तथा साहित्यकारहरूबीच कार्यक्रम हुनेछ ।
मजदुर ः तःमुंज्या भव्यरूपमा सफल पार्न ठूलो खर्च लाग्ने अनुभव छ । यसपालि आर्थिक सहयोग सङ्कलनकाके काम के–कसरी अगाडि बढिरहेको छ ?
कार्यक्रम सम्पन्न गर्न जनताको साहित्य तथा संस्कृतिलाई माया गर्ने किसान, मजदुर, शिक्षक, विभिन्न व्यवसायी मित्र तथा सम्पूर्ण जनसमुदायमा आर्थिक सहयोगको लागि हामीले अपिल गरेका छौँ । हामीलाई विश्वास छ, तः मुंज्यालाई माया गर्ने सम्पूर्ण पक्षले सक्दो सहयोग गर्नुहुनेछ ।
मजदुर ः नेपालभाषा साहित्य तःमुंज्याको प्रचारप्रसार कसरी भइरहेको छ ?
– नेपालभाषा साहित्य तः मुंज्याले स्थापना कालदेखि देश र जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको एउटा स्थापित संस्था हो । काम गरी खाने, श्रमलाई माया गर्ने, श्रमजीवी वर्गको दबु तःमुंज्या विदेशी दलाल, प्रतिक्रियावादीहरूको मुटुृमा ढ्याङ्ग्रो ठोक्ने सशक्त आवाज राख्ने मञ्च भएकोले देशभक्त प्रगतिशील नागरिकहरूको सहयोगमा सक्दो प्रचारप्रसारको कार्य भइरहेको छ ।
मजदुर ः तःमुंज्या सफल पार्न नेपाल संवत्को नयाँ वर्ष ११४२ को अवसरमा हार्दिक शुभकामना छ, यहाँहरूलाई ।
एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलको तर्फबाट म यहाँ तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु । तःमुंज्यालाई सफल पार्न सामाजिक दूरी कायम गरी प्रगतिशील तरिकाले मनाउने विश्वासका साथ सम्पूर्णको सु–स्वास्थ्यको कामना गर्दछु । धन्यवाद !

जगनाथ सुजखु

Leave a Reply

Your email address will not be published. Required fields are marked *