भर्खरै :

चीनका महिला : नवीन समस्या समाधानको निम्ति नवीन खाका

सेप्टेम्बर २७ मा चीनको राज्य परिषद्ले जारी गरेको ‘चीनमा महिलाको विकासको खाका (२०२१–३०)’ नयाँ युगमा लैङ्गिक समानताको आधारभूत राष्ट्रिय नीतिको मध्यकालीन र दीर्घकालीन कार्यान्वयनको योजना हो ।
नयाँ खाकाले महिला विकासका प्राथमिक क्षेत्र मानिने महिलाको बाँच्ने औसत आयु बढाउने र महिलाको स्वास्थ्यमा सुधार गर्ने लक्ष्य तय गरेको छ । यसबाट चीनले मानवअधिकार, विशेषतः महिला अधिकारको रक्षालाई महत्व दिने गरेको देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनअनुसार महिलालाई स्वतन्त्र, सुसूचित र जिम्मेवार छनौटको अधिकार भएमात्र दिगो विकासको लक्ष्य सम्भव हुन सक्छ । त्यस्तो परिस्थितिमा मात्र समाजमा महिलाहरूका अधिकार र हितको सचेततापूर्वक रक्षा हुन सक्छ । सबैको लागि स्वास्थ्य कार्यक्रमअन्तर्गत महिलाको स्वास्थ्य अलग गर्नै नसकिने हिस्सा हो ।
नयाँ खाकाले महिलाको प्रजनन स्वास्थ्यलाई जोड दिन्छ । साथै यौन शिक्षाको प्रचार, महिला र पुरुषका गर्भनिरोधमा जिम्मेवारी, गर्भनिरोधन र जन्मदर नियन्त्रणबारे सुसूचित हुने महिलाको अधिकार, अनिच्छित गर्भ रोक्ने र चिकित्सकीय कारणबाहेक गर्भपतन रोक्ने विषयमा सो खाकाले नयाँ प्रस्ताव, रणनीतिक र कदम प्रस्तुत गरेको छ । प्रजनन स्वास्थ्य महिला स्वास्थ्यको महत्वपूर्ण भाग हो । हरेक व्यक्ति, हरेक परिवार र बालबालिकाको स्वास्थ्यसँग यी विषय सम्बन्धित छन् ।
सन् १९९४ मा जनसङ्ख्या र विकासबारे कायरोमा भएको अन्तर्राष्ट्रिय सम्मेलन र सन् १९९५ मा संयुक्त राष्ट्र सङ्घीय चौथौं महिला सम्मेलनले प्रजनन स्वास्थ्यका मुद्दालाई महिला अधिकारका मुद्दा बनायो । त्यसमा प्रजनन अधिकारलाई आधारभूत मानवअधिकार मानियो । त्यसकारण उक्त अधिकारको रक्षा र सम्मान गर्नुपर्छ ।
यद्यपि, चीनले जारी गरेको नयाँ खाकामा प्रस्तावित रणनीतिक र कदमले केही असमझदारी पनि जन्माएको छ । जस्तै चिकित्सकीय प्रयोजनबाहेकका गर्भपतन न्यून गर्ने प्रस्तावले महिलाहरूको प्रजननको अधिकारलाई खुम्चाउने दाबी गरिएको छ । यो व्याख्या गलत छ र यसले तथ्यलाई उपेक्षा गर्छ ।
प्रथमतः, चिकित्सकीय प्रयोजनबाहेकको गर्भपतन न्यूनीकरण गर्नुलाई तोकिएको ढाँचामा अनिच्छित गर्भ कम गर्नु हो र त्यसले महिलाको प्रजनन स्वास्थ्यमा सुधार गर्नेछ । महिलाको जीवन र शारीरिक स्वास्थ्य रक्षा गर्ने यो प्रस्थानबिन्दु हो । युवाहरूबीच यौन सामान्य विषय बन्दै गएको छ । तर, उनीहरूलाई गर्भनिरोधक सामग्रीबारे जानकारी नहुँदा अनिच्छित गर्भको सङ्ख्या क्रमशः बढेको छ । उदाहरणको लागि सन् २०१५ मा चाइना डेलीमा प्रकाशित एक समाचारले चीनमा लगभग १ करोड ३० लाख गर्भपतन हुने गरेको र यसरी गर्भपतन गर्ने महिलाहरूमध्ये ६२ प्रतिशत २० देखि २९ वर्षका छन् । साथै, ‘चीनमा प्रजनन स्वास्थ्यको प्रतिवेदन सन् २०२०’ ले एक हजार चिनियाँ महिलामध्ये २५.९ जनाले सन् २०१४ मा गर्भपतन गरे भने सन् २०१८ मा यो सङ्ख्या बढेर २८.३ जना पुगेको थियो । सन् २०१८ मा मात्र दोहोरो गर्भपतनको दर ५५.९ प्रतिशत पुगेको थियो । त्यसको अर्थ एक सय जना चिनियाँ महिलाहरूमध्ये ५५.९ जनाले दुई वा सोभन्दा बढी पटक गर्भपतन गरेका छन् । यो तीतो सत्यबाहेक गर्भपतनले महिलाको प्रजनन स्वास्थ्यमा पनि खराब प्रभाव पार्छ । यसले नियमित गर्भपतन वा बाँझोपनाजस्ता जटिल समस्या पनि निम्त्याउँछ । तसर्थ, अनिच्छित गर्भ रोक्न, चिकित्सकीय प्रयोजनबाहेकको गर्भपतन न्यून गर्न र महिलाको प्रजनन स्वास्थ्य रक्षा गर्न यौन शिक्षा अत्यन्त महत्वपूर्ण हुन्छ ।
दोस्रो, नियमित गर्भपतनको न्यूनीकरणको ध्येय भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति हटाउन पनि हो । चीन सरकारले भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गर्न कडा कदम चालेको छ । तथापि, चीनकै केही स्थानमा अझै पनि छोरालाई बढी प्राथमिकता दिने अन्धविश्वास अझै कायम छ । धेरै महिलाहरूलाई छोरा पाउने धुनमा बारम्बार गर्भपतन गर्न बाध्य छन् । कतिले त त्यही क्रममा ज्यानसमेत गुमाउनुपरेको छ । यस्ता काममा रोक लगाउन सके महिलाको प्रजनन छनौट सुनिश्चित गर्न सकिन्छ । त्यसले उनीहरूको स्वतन्त्रतालाई कुनै निषेध गर्दैन । छोरी भ्रुणको हत्या गर्ने अपराधले गम्भीरतापूर्वक महिलाको जीवन र स्वास्थ्यको अधिकार हनन गर्छ । त्यसले लैङ्गिक समाानता हासिल गर्न असम्भव बनाउँछ । तसर्थ, चिकित्सकीय प्रयोजनबाहेक हुने गर्भपतन रोक्न कदम चाल्न आवश्यक छ ।
सारमा चीनका दम्पत्तीलाई तीन जनासम्म सन्तान पाउने अधिकार दिइएको छ । त्यस अवस्थामा महिलाको प्रजनन अधिकारको सुरक्षा अपरिहार्य भएको छ । नयाँ खाकाले सुरक्षाको आधारभूत ढाँचामात्र बनाइदिएको छैन, बरू दीर्घकालीन रूपमा महिला स्वास्थ्य पनि सुनिश्चित गरेको छ ।
(लेखक साउथवेस्ट युनिभर्सिटीअन्तर्गत राजनीति विज्ञान र कानुन विभागको मानवअधिकार प्रतिष्ठानका अध्येता र शिक्षक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः मेरिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *